योगी नरहरिनाथका आखिरी दिन
योगी नरहरिनाथले जीवनको अन्तिम समयतिर दिएको उपदेश हो- संसार जित्न सत्य मार्गमा हिंडे पुग्छ।
गुल्मीको भार्सेका दिलबहादुर श्रीष २०३३ सालतिर भारतको दिल्लीमा थिए। उनी मजदूरी गरेर दैनिकी चलाइरहेका थिए। एक दिन सँगै काम गर्ने मनबहादुर राणाले नेपालबाट योगी नरहरिनाथ आएको र भेटघाट गर्न जाने प्रस्ताव राखे। नाइँनास्ती गर्नुपर्ने कुनै कारण थिएन। र, दिलबहादुर पनि साथीको पछि पछि लागे।
नरहरिनाथलाई एक झलक हेरेर फर्कने सोच बनाएका थिए, उनले। अझ उनलाई लागेको थियो, ‘योगी नरहरिनाथ साधुसन्त जस्तै होलान्। केही प्रवचन देलान्, अनि सुनेर फर्कनुपर्ला।’
जब योगी नरहरिनाथको कक्षमा पुगे, उनको सोच बदलियो। कल्पना गरे जस्ता थिएनन्, योगी नरहरिनाथ।
योगी नरहरिनाथले प्रवचन मात्र दिएनन्, उनीहरूको अवस्थाबारे पनि जानकारी लिए। गाह्रो-साह्रो पनि सोधपुछ गरे। मजदूरी गर्दा गाह्रो भए आफूसँगै बस्न प्रस्ताव गरे। “मलाई जे चाहिएको थियो, त्यही बुझिदिए जस्तो भयो,” साढे चार दशकअघिको नरहरिनाथसँगको भेट सम्झिँदै उनी भन्छन्, “मैले कुल्लीको काम गाह्रो भएको सुनाएँ। उहाँले आफ्नो छापाखानामा काम लगाइदिनुभयो।”
त्यही दिनदेखि दिलबहादुरको जीवन उलटपुलट भयो। दिल्लीमा मजदूरी गरिरहेका उनी छापाखानमा काम गर्न मात्रै थालेनन्, अर्कै जीवनयात्रामा निस्किए। र, त्यसको केही समयपछि योगी श्रीषनाथ बने। उनै श्रीषनाथ यति वेला योगी नरहरिनाथको बिंडो थामिरहेका छन्, पीठमा।
त्यति वेला योगी नरहरिनाथ जेल जीवन काटेर भारत पुगेका थिए। २०३३ सालमा पञ्चायती सरकारले उनलाई ६ महीना थुनामा राखेको थियो। त्यसपछि उनी निर्वासनमा दिल्लीतिर लागेका थिए।
श्रीषनाथ बिस्तारै नरहरिनाथबारे बुझ्दै गए। “गुरु त साधारण गेरुवस्त्र धारणा गरेर हिंड्ने मात्र योगी हुनुहुन्नथ्यो, योग, अध्यात्म, साहित्य, धर्म, आयुर्वेद लगायत विधाका ज्ञाता हुनुहुन्थ्यो,” श्रीषनाथ भन्छन्।
नरहरिनाथ संस्कृति र इतिहास संरक्षणको काम पनि गर्थे। त्यो थाहा पाएपछि भने आफूलाई नरहरिनाथकै सेवामा समर्पित गरेको श्रीषनाथ सुनाउँछन्। “उहाँको शरीर एक भए पनि क्षमता सयौं मानिसले गर्न सक्ने जति थियो। तेजस्वी ज्ञान र लगनशीलता भएको व्यक्ति हुनुहुँदो रहेछ,” श्रीषनाथ भन्छन्, “त्यसपछि त गुरुको सेवामै जीवन समर्पण गरें।”
योगी नरहरिनाथमा ऐतिहासिक महत्त्वका दस्तावेज संरक्षण गर्ने मोह बिछट्टै थियो। जहाँ पुग्थे, त्यहीं छापाखाना चलाउँथे। बाटोघाटो नभएको त्यो वेलामा जिल्ला जिल्ला पुगेर ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका दस्तावेज सङ्कलन गरी काठमाडौं ल्याउन सहज थिएन। अझ तिनको प्रकाशन त कठिन थियो। त्यसैले उनी जहाँ पुग्थे, त्यहीं छपाइ शुरू गरिहाल्न मिल्ने गरी भरिया लगाएर कागजका बन्डल र हाते छापाखाना साथै लिएर हिंड्थे। उनले नेपाल र भारतका थुप्रै गाउँठाउँ चहारेका छन्।
हाते प्रेसका ‘मेटलिक लेटर’ मिलाउने काम गर्थे, श्रीषनाथ। योगी नरहरिनाथ सुनाउँथे, श्रीषनाथ कापीमा उतार्थे। “गुरुले अध्ययन गरेका कुरा दिनमा मात्रै होइन, राति नसुतेर पनि सुनाउनुहुन्थ्यो,” श्रीषनाथ सम्झिन्छन्, “गुरुले भनेका कुरा म कापीमा टिप्थें।”
त्यसपछि हाते प्रेसका मेटालिक अक्षर मिलाउँदै छपाइ हुन्थ्यो। २०४० सालतिर ६ दिनमै किताब तयार भएको उनी सुनाउँछन्। “योगीजीको आखिरी दिनहरूको कुरा हो, उहाँले ६ दिनमा एउटा पुस्तक लेखर र छपाइ गर्नुभएको थियो,” श्रीषनाथ भन्छन्। योगी नरहरिनाथको त्यो अद्भुत क्षमताको उनी प्रशंसा गर्छन्।
योगी नरहरिनाथको जीवनमा सबैभन्दा बढी मोह कुनै विषयमा थियो भने त्यो पुस्तकमै थियो। “गुरुले गोरखनाथको धर्मको प्रचार र संरक्षण जति गर्नुभयो, त्यति नै उहाँले संस्कृति र इतिहास बचाउन पुस्तक, ताम्रपत्र, भोजपत्र, शिलालेखहरू उतारेर संरक्षण गर्नुभयो,” श्रीषनाथ भन्छन्।
उनी नरहरिनाथको पदचाप पछ्याउन पाएकोमा गर्व गर्छन्। उनका अनुसार, नरहरिनाथले अध्ययन र लेखनको साधनाले नै आफ्नो जीवनकालमै ५७१ पुस्तक प्रकाशन गरेका थिए। अझै पनि १७७ पाण्डुलिपि रहेको उनी बताउँछन्।
नरहरिनाथले लेखेका पुस्तकको सम्पूर्ण टिपोट श्रीषनाथले नै राख्थे। त्यसैले उनलाई नरहरिनाथका एक-एक कृतिबारे थाहा छ। नरहरिनाथका धेरैजसो धर्म र इतिहासका पुस्तक भएको उनी बताउँछन्।
आफ्नो लेखन बाहेक पनि देश-विदेशबाट सङ्कलन गरेका ऐतिहासिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्वका हजारौं पुस्तक आश्रममा ल्याएर राख्ने गरेका थिए। नरहरिनाथले जीवनको सबैभन्दा बढी समय पशुपति मृगस्थलीस्थित योगी नरहरिनाथ आश्रममै बिताए। जहाँ पुस्तक, पाण्डुलिपि, नेपाल पक्ष भई गरेका सन्धि-सम्झौतासँग सम्बन्धित पुस्तक पनि संगृहीत छन्।
नरहरिनाथले स्थापना गरेको ‘श्रीबृहद् आध्यात्मिक परिषद्’ ले नै अहिले पुस्तकको संरक्षणको प्रयास गरिररहेको छ। तर, उचित स्थान र प्रविधिको अभावमा सबै पुस्तक अध्ययन र अभिलेखीकरण हुन सकेका छैनन्।
नरहरिनाथले सङ्कलन गरेकामध्ये ८० प्रतिशत पुस्तक तथा दस्तावेज नष्ट भइसकेको श्रीषनाथ बताउँछन्। “पशुपति क्षेत्र विकास कोषले पुस्तकालयमा १३ वर्षसम्म ताला लगाउँदा अधिकांश पुस्तक धमिरा, ओस, ढुसीका कारण बिग्रिए। अहिले हामी बचेका पुस्तकलाई डिजिटलाइज गर्दै छौं,” उनी भन्छन्।
२०७२ सालको भूकम्पले भवन भत्कियो। त्यसपछि मात्रै कोषले पुस्तकालयमा लगाएको ताला खोलेको उनी बताउँछन्। अनि परिषद्ले संरक्षण गर्ने मौका पायो। “आन्तरिक स्रोतबाट वा कसरी हुन्छ, केही उपाय लगाएर भए पनि मृगस्थलीमै संरक्षण गर्छौं, बाहिर लैजान दिदैनौं,” श्रीषनाथ भन्छन्।
अहिले श्रीबृहद् आध्यात्मिक परिषद्को अध्यक्ष छन्, श्रीषनाथ। योगी नरहरिनाथले उनलाई २०५३ वैशाख २५ गते आफ्नो उत्तराधिकारी घोषणा गरी अधिकारपत्र प्रदान गरेका थिए। गोरखनाथ मठका महन्त समेत रहेका श्रीषनाथ योगी नरहरिनाथले देखाएको मार्गमा हिंड्दै उनका दस्तावेजलाई संरक्षण गर्नु नै आफ्नो मुख्य काम भएको बताउँछन्। योगी नरहरिनाथले सङ्कलन गरेका महत्त्वपूर्ण दस्तावेज संरक्षण गर्नु राज्यको पनि दायित्व भएको उनी स्मरण गराउँछन्।
नरहरिनाथ धन, सम्पत्ति, माया, मोहमा नलागी कसैको एक पैसा पनि नलिनु भन्ने गर्थे। आफू पनि त्यस विचारमा अडिग थिए। दान गर्न आएका व्यक्तिहरूलाई पनि ‘जहाँ बढी आवश्यक छ, त्यहाँ सदुपयोग गर्नु’ भनेर पठाउने गरेका थिए। नरहरिनाथ आफ्ना अनुयायीलाई पनि कसैबाट केही आश नराखी आफ्नो पौरखले गरिखानु भन्ने गरेकोे श्रीषनाथ सुनाउँछन्।
अध्ययन र योगसाधक योगी नरहरिनाथ गोरखनाथका भक्त थिए। समाजमा मेलमिलाप र स्नेहले सबै कुरा जित्न सकिन्छ भन्थे। “संसार जित्न सत्य मार्गमा हिंडे पुग्छ,” जीवनका अन्तिम दिनहरूमा नरहरिनाथले दिएको उपदेश स्मरण गर्छन्।
नरहरिनाथले जीवनका आखिरी दिनहरू पनि मृगस्थलीस्थित आश्रममै बिताएका थिए। श्रीषनाथका अनुसार, नरहरिनाथले जीवनका आखिरी दिनहरूमा आफैंले खोजेका र संगृहीत गरेका आयुर्वेदिक औषधि सेवन गर्ने गरेका थिए। “प्रकृति र आयुर्वेदमा विश्वास थियो,” श्रीषनाथ भन्छन्, “मातृभूमिलाई अत्यधिक माया गर्नुहुन्थ्यो।”
ती दिनहरूसँग जोडिएको अर्को सम्झनामा पनि छ। नरहरिनाथले अन्तिम सास लिनुभन्दा केही दिनअघि मात्रै श्रीषनाथले सोधेका थिए, “गुरु कस्तो छ यहाँलाई?”
योगी नरहरिनाथको जवाफ थियो, “राष्ट्र सन्चो हुँदासम्म मलाई केही हुँदैन। मलाई ठीक छ, मलाई ठीक हुन्छ।”
मृत्युको नजिक पुगेको वेलामा पनि जीवन देखिरहेका, देश फल्नु र फुल्नुपर्छ भन्ने विचार राख्ने अर्को व्यक्ति नदेखेको श्रीषनाथ सुनाउँछन्। त्यसैले योगी नरहरिनाथबारे राष्ट्रले थप अध्ययन अनुसन्धान गर्नुपर्ने सुनाउँछन्, श्रीषनाथ। १०८ वर्षअघि आजकै दिन अर्थात् १९७१ फागुन १७ गते नरहरिनाथको जन्म भएको थियो।
आमा गौरादेवी र बुबा ललितसिंह ऋक्सेन थापाको माइलो छोराका रूपमा कालिकोटको लालुगाउँमा जन्मिएका बलवीरसिंह ऋक्सेन थापा २० वर्षकै उमेरमा योगी बने। जुम्लाको चन्दननाथ मन्दिरका महन्थ छिप्रानाथ योगीबाट दीक्षित भएपछि उनी योगी नरहरिनाथका नामले प्रख्यात बने।
नरहरिनाथले लेखेका थुप्रै पुस्तक प्रकाशन हुन बाँकी छन्। उनका पुस्तकको खोजी र प्रकाशन गर्नुपर्ने परिषद्का अध्यक्ष श्रीषनाथ बताउँछन्। उनी भन्छन्, “गुरूले लेखेका राष्ट्रको हित हुने दस्तावेज अझै हुन सक्छन्। यसका लागि हामीले मात्रै प्राथमिकता दिएर हुँदैन, राज्यले पनि बाँकी पुस्तक र लेखोट पहिल्याउनुपर्छ।”
नरहरिनाथको पशुप्रेम
योगी नरहरिनाथ पशुप्रेमी पनि थिए। पुस्तक र गोरखनाथको पूजाआजासँगै नरहरिनाथको मन बस्ने कुरा थिए, गाईका बाच्छाबाच्छी।
यसको कथा पनि छुट्टै छ। जब २००४ सालमा तत्कालीन श्री ३ जुद्धशमशेरले पशुपतिमा लक्ष्यहोम गरी १० हजार गाई दान गरे, त्यसपछि मात्रै योगी नरहरिनाथ पशुपतिमा बस्न थाले। नरहरिनाथको प्रतिभा र बौद्धिकताको सम्मान गर्दै उनका लागि तत्कालीन सरकारले मृगस्थलीमा व्यवस्था गरेको श्रीषनाथ बताउँछन्।
“त्यो वेला योगीले सरकारलाई सीधा भन्नुभयो, जहाँ गाई र बाच्छाबाच्छी हुँदैनन्, म त्यहाँ रहन सक्दिनँ,” श्रीषनाथ सम्झन्छन्, “त्यसपछि रातारात गोरक्षपीठ मृगस्थलीको चार रोपनी क्षेत्रफल जग्गामा तीन वटा आश्रमघर र गौशाला बनाइदिए। ऋनि गुरु बस्न थाल्नुभयो।”
योगी नरहरिनाथका एक अनुयायी दीर्घराज प्रसाईंले श्री बृहदाध्यात्मिक परिषदः स्वर्ण महोत्सव २०७२ पुस्तकमा पनि नरहरिनाथको कुटीमा सधैं एउटा गाईको बाच्छा रहने गरेको उल्लेख गरेका छन्। प्रसाईंले लेखेका छन्, ‘गुरु बिरामी भएपछि ती बाच्छाहरूले पनि उहाँलाई कहिल्यै छाडेनन्। झन् झन् नजिक आएर बस्थे।’
योगी श्रीषनाथका अनुसार, नरहरिनाथ पशुप्रेमी थिए। अझ गाईप्रेमी थिए। उनी आफूले खानुअघि गौशालाका गाईले खाए/नखाएको बुझ्ने गरेका थिए। “त्यसैले होला, उहाँको मृत्युको दिन र पछि पनि बाच्छाहरूले गुरुको ओछ्यान छाडेका थिएनन्,” श्रीषनाथ भन्छन्, “पशुको पनि चेत हुन्छ भनेर मानिसलाई जस्तै स्नेह गर्ने बानी थियो।”