कर्णालीमा अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन शुरु
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन’ शुरु भएको छ ।
विश्वको जल्दोबल्दो मुद्दा मानिने व्यवस्थापन र रुपान्तरणमा देखिएका समस्याको पहिचान र समाधान दिने उद्देश्यले मध्यपश्चिम विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम) द्वारा आयोजित ‘व्यवस्थापन तथा रुपान्तरणका लागि प्रश्नहरुको उठान’ विषयक सम्मेलन शुरु भएको हो ।
सम्मेलनको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्मेलनले यस प्रदेशको योगदान र गरिमा बढाउनुका साथै सरकारको आगामी रुपरेखा तयारीमा सघाउ पुग्ने बताए ।
मानवजातिको विकास शिक्षाबाट भएको बताउँदै उनले भने, “विश्व मानव समुदाय विकासको महत्वपूर्ण आधार भनेकै शिक्षा हो । यसले नै मानव विकासलाई उत्कर्षमा पुर्याएको छ ।”
देशको अहिलेको आवश्यकता सैद्धान्तिक नभई प्राविधिक शिक्षा भएकाले विश्वविद्यालयले यसैमा जोड दिनुपर्ने उनको सुझाव थियो ।
उनले कर्णाली प्रदेशमा कति मेगावाटको जलविद्युत् उत्पादन गर्न सक्दछ भन्नेमा अनुसन्धान र सम्भाव्यता अध्ययन गर्न अनुरोध गर्दै प्रदेश सरकारले विश्वविद्यालयको शैक्षिक विकासमा आवश्यक सहयोग गर्ने विश्वास दिलाए ।
सो अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डक्टर उपेन्द्रकुमार कोइरालाले सरकारको दीर्घकालीन विकासमा सघाउ पुर्याउने अनुसन्धानात्मक कार्य गर्ने बताए ।
“यस विश्वविद्यालयको जनशक्तिले नेपाल मात्र नभई विश्वमा नै योगदान पुर्याओस् भन्ने लक्ष्य राखेका छौं,” उनले भने, “यसका लागि विश्वविद्यालयले प्रमुख भूमिका खेल्नेछ ।”
हरेक क्षेत्रमा व्यवस्थापनले ठूलो अर्थ राख्ने भन्दै उपकुलपति प्रा डा कोइरालाले यसले मानवजीवन रुपान्तरणमा ठूलो फरक पारेको बताए ।
सम्मेलनको उद्देश्यबारे प्रष्ट पार्दै स्कूल अफ म्यानेज्मन्टको एमबिए, एमफिल एण्ड पिएचडी कार्यक्रमका निर्देशक डा नारायण पौडलले सम्मेलनमा सहभागी विभिन्न विश्वविद्यालयले व्यवस्थापन र रुपान्तरणमा देखिएका चुनौती तथा समस्याको कार्यपत्र प्रस्ततु गर्ने बताए ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालका त्रिभुवन विश्वविद्यालय लगायतका सबै प्रमुख विश्वविद्यालय, भारत र पाकिस्तानका विभिन्न विश्वविद्यालय तथा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा विश्वविद्यालयको सहभागिता रहेको छ ।