प्रदेश १ को नाम ‘कोशी’ राख्न प्रस्ताव दर्ता
प्रदेश १ को नाम ‘कोशी’ राख्न बुधबार प्रस्ताव दर्ता गरिएको छ।
नेकपा (एमाले) र नेपाली कांग्रेसका सांसद मिलेर प्रदेशको नाम सम्बन्धी प्रस्ताव दर्ता गराएका हुन्। संसद् सचिवालयका अनुसार, एमाले सांसद राम रानामगर प्रस्तावक रहेका छन् भने सांसद भूमिप्रसाद राजवंशी र निरन राई समर्थक रहेका छन्। एमाले सांसद मगर इलाम-२ (ख)‚ कांग्रेस सांसद झापा-३ (क) राजवंशी र एमाले सांसद राई धनकुटा (क) बाट निर्वाचित भएका हुन्।
प्रदेश १ को नाम ‘कोशी’ राख्ने सम्बन्धी प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ सँग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस्।’
प्रदेशको नामकरण गर्न आजै दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ। यसका लागि बिहान ११ बजे बैठक बोलाइएको थियो। तर, प्रस्ताव दर्ता गर्न समय थप गरिएकाले प्रदेश सभा बैठक दिउँसो १ बजे बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ।