बाढी बढाउँदै डढेलो
दक्षिणएशियाका पहाडी क्षेत्रमा बढ्दो वन डढेलोले माटोको पानी सोस्ने क्षमता खस्काउँदै खतरनाक बाढी निम्त्याउने गरेको छ।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनका पछिल्ला स्पष्ट दुई परिणाम हुन्- डढेलो र बाढी। यस भेगमा २० वर्षयता बाढीका घटना बढ्नुको प्रमुख कारण डढेलोलाई औंल्याउँदै विज्ञहरूले यी दुई विपद्को परस्पर सम्बन्धलाई ‘खतरनाक दुश्चक्र’ ठहर्याइरहेका छन्।
ग्लोबल फरेस्ट फायरको तथ्याङ्क अनुसार, सन् २००१ देखि २०२१ सम्म हिमालय शृङ्खलामा ३५ हजार हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोले ध्वस्त बनाएको छ। यो तथ्याङ्क भारत, पाकिस्तान, नेपाल र भुटानका हिमाली क्षेत्रसँग आधारित छ। अघिल्लो दशकको तुलनामा सन् २०११ देखि २०२० सम्म १.४ प्रतिशत बढी वनमा आगलागी भएको देखिन्छ। त्यसभन्दा अघिल्लो दशकमा ७२ लाख हेक्टर वन जलेकोमा पछिल्लोमा ७३ लाख हेक्टर नष्ट भएको छ।
नोभेम्बर २०२० देखि मार्च २०२१ बीचको डढेलो सन् २०१२ यता नेपालले भोगेकामध्ये सबैभन्दा डरलाग्दो रहेको अधिकारीहरूको ठहर छ। त्यसैगरी पाकिस्तानको उत्तरी क्षेत्रमा गत वर्ष जुन संख्यामा डढेलो लाग्यो, त्यतिको पहिले कहिल्यै नसुनिएको त्यहाँका अधिकारीको भनाइ छ।
“संसारभरकै अवस्था हेर्दा जलवायु परिवर्तनले झन् झन् गर्मी र सुक्खापन बढिरहँदा डढेलोको जोखिम पनि बढ्ने देखिन्छ,” ग्लोबल फरेस्ट वाचका अनुसन्धान विश्लेषक जेम्स म्याक्कार्थी भन्छन्, “पश्चिम हिमालय शृङ्खलाको उच्च भूभागमा डढेलो अझ व्यापक हुन सक्छ, केही तथ्याङ्कले सङ्केत गरिसकेका छन्।”
जलवायु परिवर्तनले बदलेको वर्षा प्रणाली डढेलोको सबैभन्दा ठूलो कारण रहेको गंगा नदी र हिमालय क्षेत्रको संरक्षणमा क्रियाशील गंगा आह्वान आन्दोलनका संयोजक हेमन्त ध्यानीको बुझाइ छ। “हिउँदमा पर्ने पानी निकै कम भएको छ,” उनी भन्छन्, “माटो सुक्खा बनिरहेको छ। पहिले डढेलो एक हेक्टरसम्म फैलने गरेको ठाउँमा अहिले पाँचदेखि १० हेक्टर टाढासम्म फैलिने गरेको छ, किनभने अहिले माटोमा पहिले जस्तो चिसोपन छैन।”
हिमालय क्षेत्रमा किसानलाई प्रविधि उपलब्ध गराउने भारतीय संस्था हिमालयन इन्भायरोमेन्टल स्टडीज एन्ड कन्जर्भेशन अर्गनाइजेशनका संस्थापक अनिलप्रकाश जोशी चरम गर्मीले पनि डढेलो बढाएको बताउँछन्। उनका अनुसार, गर्मीमा रूखका पात पनि धेरै झर्ने हुँदा त्यसले आगो फैलाउन मद्दत गर्ने गरेको छ।
भारत, उत्तराखण्डको देहरादूनस्थित पिपल्स साइन्स इन्स्टिच्यूटका संस्थापक निर्देशक रवि चोपडा यो समस्या सिर्जना हुनुमा कमजोर वन प्रशासनको बढी दोषी औंल्याउँछन्। भारतमा बीसौं शताब्दीको शुरूतिर गाउँ परिषद् मार्फत आआफ्नो वरपरका वनका मामिला स्थानीय आफैंले सम्हाल्थे। वनजन्य स्रोतमा उनीहरूकै नियन्त्रण हुन्थ्यो। तर, विगत १०० वर्षमा नयाँ कानूनले पुरानो प्रणाली कमजोर बनायो। निर्णयको अधिकार पनि वन विभागका अधिकारीलाई सुम्पिइयो। “आजकल गाउँलेहरू डढेलो नियन्त्रण गर्ने काम सरकारको भन्छन्, वनप्रति अपनत्व नै महसूस गर्दैनन्। पहिले पहिले डढेलो लाग्नासाथ गाउँले बाल्टीमा पानी बोकेर निभाउन दौडेको देखिन्थ्यो,” चोपडा भन्छन्।
बाढी झन् विनाशक
भारतीय हिमालय खण्डमा सन् १९६८ यता १७ वटा ठूला बाढी आएका छन्। अन्तर्राष्ट्रिय विपद्बारे अध्ययन गर्ने एम-डाटका अनुसार, तीमध्ये १३ वटा सन् २००० यताका हुन् जसमा दुई हजारभन्दा बढीको ज्यान गएको छ भने हजारौं घाइते भएका छन्।
पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रदेश पटक पटक बाढीको चपेटामा पर्ने गरेको छ। गत वर्ष पाकिस्तानले दशककै सबैभन्दा विनाशकारी बाढी सामना गर्दा खैबर पख्तुन्ख्वामा १८५ जनाको ज्यान गयो। त्यहाँ बाढीकै कारण सन् २०२१ मा २० र २०२० मा ४६ जनाको मृत्यु भएको थियो।
हिमालय क्षेत्रमा बाढीको संख्या र क्षति बढ्नुमा विकासका त्रुटिपूर्ण योजनालाई पनि विज्ञहरूले कारण देखाएका छन्। भारतीय हिमाली क्षेत्रमा समग्रमा हिउँदे वर्षा कम भइरहेको तर आकस्मिक वर्षाका भयानक घटना बढिरहेको वाइल्डलाइफ ट्रस्ट अफ इन्डियाका प्रमुख समीरकुमार सिन्हा बताउँछन्। “पहिले एक महीनामा जति पानी पर्थ्यो, अहिले १० दिनमै पर्ने गरेको छ,” उनी भन्छन्।
दिल्लीस्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीमा रहेको हाइड्रोसेन्स ल्याबले द थर्ड पोललाई उपलब्ध गराएको तथ्याङ्क अनुसार, सन् २००१ देखि २०१६ सम्म भारतीय हिमालय क्षेत्रमा १७ पटक चरम वर्षा भई सात हजार मानिसको ज्यान गएको थियो। जबकि, सन् १९७० देखि २००० सम्म तीन दशकको बीचमा १३ पटक त्यस्तो वर्षा हुँदा ज्यान गुमाउनेको संख्या ९०१ थियो।
माटोको सम्बन्ध
स्वच्छ वनको भुइँ वनस्पति र पातपतिङ्गरले ढाकिएको हुन्छ। जनावर र कीराफट्याङ्ग्रा त्यसमाथि ओहोरदोहोर गर्दा माथिल्लो पत्रबाट भित्र हावा छिर्छ र त्यसले हावापानी सोस्छ। “अचानक ठूलो वर्षा हुँदा पनि त्यहाँ थुप्रिएका वस्तुले पानीलाई सोस्छन्,” सिन्हा भन्छन्, “पानी पहाडबाट खस्नुको साटो जमीनभित्रै सोसिन्छ।”
यस्ता सबै जैविक वस्तु ठूला डढेलोमा नष्ट हुन्छन्। “डढेलो लागेपछि जमीनको माथिल्लो तहमा रहेको जैविक गुणले भरिपूर्ण मलिलो सतह नष्ट हुन्छ, त्यस्तो सतह बन्न २०० देखि ३०० वर्षसम्म लाग्छ,” चोपडा भन्छन्।
माटोलाई हावापानी केही छिर्नै नसक्ने गरी जाम गरिदिनु डढेलोको सबैभन्दा ठूलो असर हो। सिन्हाका अनुसार, ठूला डढेलोले जमीनको माथिल्लो तह डढाई माटोको स्वरूप नै फेरिदिने भएकाले पानी चुहिने छिद्र बन्द हुन्छ। डढेको जमीनमा माटोका कण कसिलो गरी बाँधिने र पानी माथिल्लो सतहबाटै तर्किने हुँदा त्यसले बाढी र भूक्षय निम्त्याइदिन्छ।
डढेलोका क्रममा कीरा लगायत प्राणी मारिने भएकाले सतहको प्रक्रिया तत्काल पूर्ववत् अवस्थामा फर्किन सक्दैन। “डढेलो लागेपछि जमीनमा वनस्पति पनि नहुने हुँदा माटो अड्याउने संरचना अभावमा भूक्षय बढ्छ,” सिन्हा भन्छन्। पानी सोसिन नपाउँदा त्यसले बगाउने गेग्रानका कारण नदीको भुइँतह पनि माथि उठ्छ र पानी नदीबाट अन्यत्र पस्न थाल्छ। “त्यसपछि नदी किनारमा भूक्षय र वरपरका क्षेत्रमा डुबान हुने नै भयो,” उनी भन्छन्।
डढेलो र भीषण वर्षा जति धेरै हुन्छ, माटोमा हुने क्षति झन बढ्दै जान्छ। यो दुश्चक्र रोक्न के गर्न सकिन्छ त ? अगस्ट २०२२ मा भारतीय अनुसन्धाताको एक समूहले प्रकाशन गरेको दून घोषणापत्र (दून डिक्लेरेसन अन फरेस्ट फायर्स)ले तीन वटा मुख्य सुझाव दिएको छः
१) डढेलो रोक्न तयारी र प्रतिकार्यमा सुधार गर्ने (उदाहरणका लागि, वन डढेलो सम्बन्धी कार्ययोजनामा सबै सरोकारवालाको जिम्मेवारी प्रस्ट पार्ने, वन विभागलाई आवश्यक कोषको व्यवस्था गर्ने, वनरक्षक र अग्रपंक्तिमा खटिने अन्य कर्मचारीलाई चाहिने उपकरण प्रदान गर्ने र वन डढेलो न्यूनीकरणमा खट्न दृढसङ्कल्प युवा समूह गठन गर्ने)।
२) न्याशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) मातहत छुट्टै निकाय गठन गर्ने जसले आगो नियन्त्रणमा प्रभावकारी आधुनिक प्रविधिको प्रयोग गरी वनरक्षकसँग सहकार्य गर्छ।
३) नीति निर्माणमा सहयोगका लागि डढेलो लाग्नुका कारण र त्यसका असरबारे थप अध्ययन गर्ने।
स्थानीय समुदायको सशक्तीकरण हुने गरी स्थानीय तहमा गरिने सामाजिक अभियान नै डढेलो र बाढीको दुश्चक्र तोड्ने उत्कृष्ट उपाय हुन सक्ने हेमन्त ध्यानीको ठहर छ। “हिमाली क्षेत्रमा डढेलो व्यापक रूपमा फैलाउने मुख्य कारक सल्लाका पात हुन्,” ध्यानी भन्छन्, “गाउँलेलाई ती सङ्कलन गर्न लगाउनुपर्छ र सरकारले किन्नुपर्छ। यस कदमले स्थानीय बासिन्दालाई रोजगारी पनि दिन्छ।”
भुटानी वन वैज्ञानिक फुन्ट्सो नामग्याल हिमालय क्षेत्रमा डढेलो फैलिनबाट रोक्न घना वनलाई पातलो बनाउनुपर्ने धारणा राख्छन्। उनका अनुसार, भुटानको झन्डै ८४ प्रतिशत भूभाग वनले ढाकिएको छ। यस्तो वनमा रूखको घनत्व धेरै भएकाले विनाशकारी डढेलोको जोखिम उच्च हुन्छ।
अनुसन्धाताहरू वनमा गाईवस्तु चराउन पनि प्रोत्साहित गर्नुपर्ने बताउँछन्। जनावर ओहोरदोहोर गर्दा बन्ने बाटोले आगो फैलिने गति रोक्ने उनीहरूको भनाइ छ।
साउथएशिया नेटवर्क अन ड्याम्स रिभर्स एन्ड पिपलका संयोजक हिमांशु ठक्कर बाढी आउने क्रम र त्यसको विनाशकारी प्रभाव कम गर्न हिमालय क्षेत्रमा बनाइने पूर्वाधार विकासका परियोजनामा परिवर्तन ल्याउनुपर्ने ठान्छन्। उनका अनुसार, पहाडी क्षेत्रमा सडक, सुरुङ, जलविद्युत् तथा अन्य परियोजना बनाउँदा भूक्षय हुने र त्यसले पहाडी क्षेत्रमै ढुङ्गामाटो लगायत वस्तु अलपत्र छाड्दा पनि समस्या निम्त्याइरहेको छ। “डढेलो र बाढीको समस्या बृहत् रूपमै समाधान गर्न संरचनागत र माथिदेखि तलको अवधारणाका आधारमा सुधार गर्नुपर्छ,” ठक्कर भन्छन्।
-नटाली टेलरको सहयोगमा।
(दक्षिणएशियामा क्रियाशील स्वतन्त्र पत्रकार आनन्द जलवायु परिवर्तन, कृषि, खेल र संस्कृतिबारे लेख्छन्। द थर्ड पोलबाट साभार।)