बहुपति प्रथामा विग्रह
पर्यटन र सडकसँगै आर्थिक आम्दानीका अवसर पुगेपछि हिमाली समुदायलाई जीविकाका आधार रहेका सीमित जमीन र पशु जोगाउनकै लागि बहुपति प्रथा अँगालिरहनुपर्ने बाध्यता रहेन।
दाजुभाइले एउटै स्त्री भित्र्याउने चलन उपल्लो मुस्ताङका टासी स्याङ्बो गुरुङलाई पटक्कै चित्त बुझ्दैनथ्यो। तर, बहुपति वैवाहिक परम्पराको जन्जीरले बाँधिएका उनी चाहेर पनि उम्कन सकिरहेका थिएनन्। विद्रोहको झिल्को उठाए पैतृक सम्पत्तिबाटै बेदखल हुनुपर्थ्याे। भएकै जमीन परिवारै मिलेर खोस्रँदा ६ महीना समेत खान नपुग्ने हिमाली भेगमा त्यही सम्पत्ति पनि गुमाउनु टेक्ने हाँगो नै भाँचिनु बराबर थियो। तर, सन् १९९७ मा गुरुङले साहस देखाए। भाउजूसितको दाम्पत्य सम्बन्ध तोडे। पैतृक सम्पत्ति त्यागिदिए। गुरुङलाई यस्तो बल दिएको थियो- अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जागीरले।
जीविकाका लागि सीमित खेतीपाती र पशुपालनको विकल्प नरहेको हिमाली भेगमा त्यही सम्पत्तिको विखण्डन रोक्न दाजुभाइकी एउटै पत्नी बनाइदिने चलन बस्यो। तर, अहिले बाहिरी समाजसँगको पहुँच, शिक्षा, चेतना, आम्दानीका अनेक अवसरले सामाजिक बाध्यताहरू क्रमशः खुकुलिँदै छन्। बहुपति प्रथा अँगाल्नेहरू घट्दो क्रममा छन्।
मैले सन् १९९८ देखि उपल्लो मुस्ताङको बहुपति विवाह प्रथालाई नियाल्दै आएको छु। यस क्रममा परिवारलाई एउटै मियोमा बाँध्ने यो संस्कारले स्थानीय प्राकृतिक स्रोत व्यवस्थापन र संरक्षणमा महत्र्वपूर्ण योगदान पुर्याएको पनि देखेको छु। दक्षिणएशियाको हिमालय क्षेत्र खास गरी तिब्बत, भारतको हिमाञ्चल प्रदेशको किनाउर क्षेत्र, अफ्रिका, ओसेनिया, अमेरिकी रैथाने समाज लगायतमा पनि अनेक विधानका बहुपति प्रथा छन्। नेपालमा हुम्ला, डोल्पा, उपल्लो मुस्ताङ वा लोमान्थाङ, उत्तरी गोर्खाका चुम उपत्यका, धादिङको रुबी उपत्यका, संखुवासभाको भोटखोला तथा किमाथांका र ताप्लेजुङको ओलाङचुङगोलाका आदिवासी समुदायमा बहुपति संस्कार पाइन्छ।
भावनात्मक दरार
बाबुआमाको निर्णयमा एउटै बुहारी भित्र्याउने परम्परा हिमाली भेगका केही समुदायका दाजुभाइको सामाजिक एवं नैतिक बाध्यता हो। यस क्रममा दाजुभाइलाई साझा पत्नी स्विकार्न मन्जुर गराएपछि केटीको घरमा वैवाहिक प्रस्ताव लगिन्छ। उमेर पुगेको छोरो भए जग्गेमै स्वीकार गर्नुपर्ने र उमेर नपुगेकाको हकमा भविष्यमा पति स्विकार्ने गरी दुलहीको पनि सहमति लिइन्छ। माइला-माइली सन्तानले भने लामा वा आनी बनेर गुम्बामा बस्नुपर्ने भएकाले विवाह गर्न प्रतिबन्ध हुन्छ।
बहुपति प्रथामा वैवाहिक सम्बन्ध कायम राख्न दाजुभाइबीच गहिरो समझदारी आवश्यक पर्छ। पत्नीसँग यौनसम्बन्धको पहिलो अधिकार जेठो श्रीमान्को हुन्छ। भाइहरूलाई पनि यौनसम्पर्कको चाँजो मिलाइदिन दाजु लामो समय खर्कतिर चौंरी वा च्याङ्ग्रा गोठालो बस्ने तथा व्यापार वा अन्य कामको मेसो पारेर घर बाहिर जाने गर्छ। साझा पत्नी जुनसुकै पतिबाट गर्भवती भए पनि जन्मेको सन्तानमा दाजुकै हक लाग्छ। भाइहरूसँग तिनको काकाकै नाता कायम हुन्छ।
धेरै उमेर अन्तर रहेको देवरलाई दाजुको उमेर सुहाउँदी भाउजूप्रति दाम्पत्य भावना नपलाउँदा वैवाहिक जीवनमै दरार आएका घटना पनि थुप्रै छन्। साथै, एकै उमेरका दाजुभाइबीच पनि असमझदारीले द्वन्द्व सिर्जना हुन सक्छ। बहुपति प्रथामा विवाद सिर्जना हुने कारणमध्ये पतिहरू एकै पेशामा संलग्न हुनु, पतिहरूको उमेरको अन्तराल कम हुनु, जीवनसाथी महिला वा दाजुले विवेकपूर्ण काम नगर्नु आदि हुन्। यिनै कारणले परिवार छुट्टिने अवस्थासम्मै पुग्छ।
सामान्यतया बहुपति प्रथा भौगोलिक, आर्थिक, सामाजिक, धार्मिक र परम्परागत बाध्यताको उपज रहेको समाजशास्त्रीहरूको भनाइ छ। यीमध्ये मुख्य चाहिं आर्थिक वा पैतृक सम्पत्ति नै हो। छोराहरूको छुट्टाछुट्टै विवाह हुँदा परिवार पनि छुट्टिन्छ। सन्तान जन्मिएपछि आर्थिक बोझ पनि थपिने भएकाले सीमित जमीन वा पशुधन समेत बाँड्नुपर्ने हुन्छ। भएको थोरै जमीन टुक्रिँदै जाँदा दुई-तीन पुस्तापछिकालाई घर बनाउन समेत नपुग्ने हुन सक्छ। यस्तो समस्याको दिगो व्यवस्थापनका लागि पुर्खाहरूले बहुपति प्रथा अपनाएको र पछि त्यसले संस्कारकै रूप लिएको बुझ्न सकिन्छ।
उपल्लो मुस्ताङको लोवा समाज
मुस्ताङका बाह्गाउँ र उपल्लो मुस्ताङमा मात्र बहुपति प्रथा छ। दुई हजार ५६२ वर्गकिमि क्षेत्रफल ओगट्ने उपल्लो मुस्ताङको ५६ प्रतिशत जमीन हिउँका टाकुरा, चट्टान, नाङ्गा पहाडले ओगटेका छन्। ४२ प्रतिशत भूभाग मात्र चरन क्षेत्र र १.५ प्रतिशत मात्र खेतीपाती र आवासका लागि उपयुक्त छन्।
जनगणना, २०६८ अनुसार, यहाँ कुल चार हजार १७ जनसंख्या र एक हजार ९० परिवार छन्। उनीहरूको मुख्य पेशा खेतीपाती र पशुपालन हो। यहाँ जनघनत्व लगभग १.५ जना प्रति वर्गकिमि र खेतीयोग्य जमीन प्रति परिवार सरदर ०.०३ वर्गकिमि पर्छ। वर्षको आधा समय खेतीपातीमा लाग्ने रैथाने बासिन्दा बाँकी ६ महीना जडीबुटी लगायतको हिउँदे व्यापारका लागि पोखरा, बुटवल जस्ता न्याना बस्ती झर्छन्।
उपल्लो मुस्ताङको लोवा समाज खास गरी गुरुङ समुदायमा बहुपति प्रथाको अभ्यास बढी पाइन्छ। पंक्तिकारले गरेको सर्वेक्षण अनुसार, सन् १९९८ मा एक हजार ११७ परिवार लोवामध्ये १३४ (१२ प्रतिशत) परिवार बहुपति विवाहमा संलग्न थिए। तर, यो संख्या २००८ मा ५४ र २०२२ मा १५ परिवारमा सीमित थियो। अहिले कायम रहेका जोडीको पनि उमेर ५० वर्षभन्दा माथि नै रहेकाले पछिल्लो पुस्ताले यो प्रथा छाडिसकेको बुझ्न सकिन्छ।
शिक्षा र सडकले दिलाएको अवसर
बहुपति विवाहमा कमी आउनुमा बाहिरी समाजसँगको सम्पर्क, शिक्षा र प्रविधिमा पहुँच आदि कारण हुन्। हिमाली भेगमा पर्यटकीय विकासको थालनीपछि वैकल्पिक रोजगारीको अवसरले स्थानीयको आत्मबल पनि बढाउँदै लग्यो। २०४८ सालमा एक्याप स्थापनापछि उघ्रिएको पर्यटनले उपल्लो मुस्ताङको बन्द समाजलाई बाहिरी संसारसित सम्पर्कको ढोका खोलिदियो। एक्यापले स्थानीय रूपमा जनचेतना बढाउनुका साथै पर्यटन, स्वास्थ्य, प्रकृति संरक्षण शिक्षा, महिला साक्षरता, सरसफाइ आदि विषयमा प्रशिक्षण दियो।
पर्यटनले स्थानीय अर्थतन्त्रमा पनि योगदान गर्यो। मौसमी खेतीपातीमा निर्भर स्थानीयले चिया पसल, रेस्टुरेन्ट, होटेल, लज, रिसोर्ट, क्याम्पिङ साइट, किराना पसल, कोसेली घर, घोडा तथा खच्चर मार्फत ढुवानी जस्ता वैकल्पिक व्यवसाय पाए। यससँगै अमेरिका, बेलायत, जापान, अरब र मलेशिया लगायत देशसम्म पहुँच बन्यो। टेलिफोन, टेलिभिजन, रेडियो, पत्रपत्रिका, मोबाइल, सामाजिक सञ्जालको विस्तारले सूचनामा पहुँच बढाइदियो। पेशागत विकल्पहरूले पैतृक सम्पत्तिमा निर्भर हुनुपर्ने बाध्यता हटाउँदै लगे।
पहिले सरकारी विद्यालयहरू खुले पनि शैक्षिक गुणस्तर उठ्न सकेको थिएन। लामो समयदेखि बौद्ध शिक्षा पढाइने गुम्बाहरूमा नेपाली र अंगे्रजी भाषा प्रचलनमै थिएनन्। स्थानीय बासिन्दाले प्रायः तिब्बती भाषा बोल्ने भएकाले देशकै अन्य भेगका मानिससँग समेत प्रत्यक्ष सम्पर्क कठिन थियो। यस्तोमा एक्यापले गुम्बाहरूमा नेपाली तथा अंग्रेजी शिक्षालाई प्राथमिकता दियो। गाउँमा नयाँ मानिसहरू आउन थालेपछि नेपाली बोल्नु बाध्यता हुन गयो। यसले लोवा समाजमा नेपाली भाषाको प्रभाव बढाउँदा चेतनासँगै स्थानीयको क्षमता पनि अभिवृद्धि भयो।
सदरमुकाम जोमसोमबाट चार दिन हिंड्नुपर्ने लोमान्थाङ अहिले सडक सञ्जालले जोडिएको छ। २०५० कै दशकमा स्थानीय विकास कार्यक्रम र स्थानीय नेताहरूको पहलमा तिब्बती सीमा कोरालादेखि लोमान्थाङसम्म सडकले जोडियो। यससँगै सेनाले २०६७ सालमा बेनी-जोमसोम सडकको ट्र्याक खोलिदियो। सरकारले आव २०७२÷७३ मा बजेटै तोकेर राष्ट्रिय प्राथमिकतामा पारेपछि बेनीदेखि कोरालासम्मै सडक पुग्यो। सडकले आर्थिक विकाससँगै रोजगारीका अवसरहरू पनि पुर्यायो।
सरकारले २०४८ सालमा उपल्लो मुस्ताङमा नियन्त्रित पर्यटन कार्यक्रम कार्यान्वयनमा ल्याएपछि पहिलो वर्ष ५०० हाराहारी विदेशी पर्यटक पुगे। एक्यापका अनुसार, २०७६ मा आइपुग्दा यो आँकडा चार हजारभन्दा बढीको थियो। यससँगै स्वदेशी पर्यटक पनि उल्लेख्य संख्यामा पुगिरहे। सामान्यतया पर्यटन व्यवसायले १५ किसिमका रोजगारी सिर्जना गर्ने विज्ञहरूको राय छ। कुनै वेला मुस्ताङमा बास पाउन राजपरिवारको नाता खोज्नुपर्थ्यो। होटल-पसल थिएनन्। तर, तीन दशकयता ताङवेदेखि छोसेरसम्म साना-ठूला गरी २१ वटा बस्तीमा ७६ वटा रेस्टुरेन्ट, ३४ वटा होटल, २६ वटा गेस्टहाउस, ६ वटा रिसोर्ट र १५ वटा चियापसल छन्।
यहाँ आउने विदेशी पर्यटकमध्ये पैदलयात्रीले १० दिन र सवारी साधनमा आउनेले पाँच दिन बिताउने तथा दैनिक प्रति व्यक्ति पाँच हजार रुपैयाँका दरले खर्चने आँकडा छ। यस आधारमा होटेल तथा रेस्टुरेन्ट व्यवसायीले वार्षिक न्यूनतम १० करोड बराबरको कारोबार गर्ने अनुमान हुन्छ। स्वदेशी पर्यटकबाट हुने कारोबार त छुट्टै छँदै छ।
विकट भेगमा यातायात पहुँच पनि सहज बनिसकेको छ। सबै स्थानीयसँग गरी २०० भन्दा बढी मोटरसाइकल छन् भने सार्वजनिक यातायातका रूपमा लोमान्थाङदेखि जोमसोमसम्म चल्ने गरी २५ वटा जीप दर्ता छन्। चराङको पुलिस चौकीका अनुसार, हिउँदमा बाहेक लगभग ६ महीना प्रति दिन १० वटा जीप नियमित चल्छन्। यस हिसाबले दैनिक १५ हजार प्रति जीपका दरले एक लाख ५० हजार रुपैयाँको कारोबार हुन्छ। यिनै कारणले तीन दशकमा आएको सामाजिक, आर्थिक परिवर्तनले परम्परागत संरचना फेरबदल गरिदिँदा त्यसैमा आश्रित बहुपति प्रथा पनि क्रमशः कमजोर हुँदै गएको छ।
(हिमालको २०७९ फागुन अङ्कबाट।)