त्रिदेशीय शृङ्खलामा नेपालको विजयी शुरूआत
यूएईमा शुरू भएको एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपालले विजयी शुरूआत गरेको छ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा पपुवा न्यूगिनीलाई चार विकेटले हराउँदै नेपालले विजयी शुरूआत गरेको हो। पपुवा न्यूगिनीले दिएको २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको छ।
नेपालका लागि कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। भुर्तेलले ६९ बलमा ५६ रन प्रहार गरे। त्यस्तै, आशिफ शेखले ४४, आरिफ शेखले ३७, दीपेन्द्रसिंह ऐरीले २२, रोहित पौडेलले २०, कुशल मल्लले १२, सोमपाल कामीले पाँच र ज्ञानेन्द्र मल्लले चार रन बनाए।
पपुवा न्यूगिनीका लागि अशद भालाले तीन, सेसे बउ र नर्मन भनुवाले एक-एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले नौ विकेटको क्षतिमा २०३ रन बनाएको थियो। पपुवा न्यूगिनीका लागि असद भाला र चाद सोपरले ३६-३६, सेसे बउले ३१, किल्पिन डोरिगाले २९ र नर्मन भनुवाले २५ रन बनाए।
नेपालका लागि गुल्सन झाले तीन, कुशल मल्लले दुई, सोमपाल कामी, करण केसी र प्रतिश जीसीले एक-एक विकेट लिए। प्रतिशले डेब्यू खेलमै विकेट लिएका हुन्।
यो जितसँगै नेपालको २८ अङ्क भएको छ। अहिले नेपाल अङ्कतालिकाको पाँचौं स्थानमा छ।
अङ्कतालिकाको शीर्षस्थानमा रहेको स्कटल्यान्डले ५० अङ्क र ओमनले ४४ अङ्क सहित विश्वकप छनोट प्रतियोगितामा आफ्नो स्थान पक्का गरिसकेका छन्। अङ्कतालिकाको तेस्रो स्थानमा रहेको टोलीले पनि विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछ।
त्यस्तै, अङ्कतालिकाको पाँचौं स्थानसम्म रहेका टोलीको एकदिवसीय वरीयता पनि कायम रहनेछ। नेपालले एकदिवसीय वरीयता कायम राख्न अब चार खेल जित्नुपर्नेछ।
अहिलेसम्म लिग-२ का २९ खेलमध्ये नेपालले १३ खेल जितेको छ भने १४ खेल हारेको छ। अब सात खेल बाँकी छन्। जसमध्ये तीन खेल यूएईमा हुनेछन् भने बाँकी चार खेल कीर्तिपुर क्रिकेट मैदानमा हुनेछन्। नेपालले अबका चार खेलमा यूएईसँग र तीन खेलमा पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गर्नेछ।
तेस्रो स्थानका लागि नेपालसँगै नामिबिया र यूएई प्रतिस्पर्धामा छन्। नामिबियाको ३९ अङ्क छ भने यूएईको २९ अङ्क छ। नेपालले फागुन १८ मा अर्को खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ।