आकाशको अर्धशतकमा नेपालको शानदार जित
आकाश त्रिपाठीको अर्धशतकमा नेपाली युवा टोलीले हङकङलाई नौ विकेटले पराजित गरेको छ।
यूएईमा जारी यू-१९ विश्वकपको एशिया छनोटमा सोमबार नेपालले हङकङ विरुद्धको खेलमा शानदार जित हासिल गरेको हो। हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा २२.१ ओभरमै पूरा गरेको छ।
नेपालका लागि आकाश त्रिपाठीले ६४ रन बनाए। त्रिपाठीले ७२ बलमा पाँच चौका र चार छक्का प्रहार गरेका हुन्।
त्यस्तै, उत्तमरंगु थापा मगरले ३९ र, अर्जुन कुमालले १६ रन बनाए। मगरले ५० बलमा चार चौका प्रहार गरे भने कुमालले १२ बलमा तीन चौका प्रहार गरे।
हङकङका लागि ड्यानिल मोर्गन मापले एक विकेट लिए। हङकङका अन्य बलर भने महँगा सावित भए।
यसअघि हङकङले ४६.३ ओभरमा १२० रन बनाएको थियो। हङकङका लागि पर्थ भागवतले ३६, मोहम्मद अलियान जहिरले २९ र आहान त्रिवेदीले १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि हेमन्त धामीले तीन, आकाश चन्द र सुवास भण्डारीले दुई-दुई तथा दीपेश कँडेलले एक विकेट लिए।
यो जितसँगै नेपालले ६ अङ्क बटुलेको छ। यसअघि नेपालले फागुन १२ गते भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले र फागुन १३ गते भएको खेलमा कुवेतलाई २४३ रनले पराजित गरेको थियो।
नेपालको अर्को खेल मंगलबार मलेशियासँग खेल्नेछ।