पहिलो खेलमा नेपाललाई २०४ रनको लक्ष्य
आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा शुरू भएको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले २०४ रनको लक्ष्य पाएको छ।
सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले नौ विकेटको क्षतिमा २०३ रन बनाएको छ। पपुवा न्यूगिनीका लागि असद भाला र चाद सोपरले ३६-३६, सेसे बउले ३१, किल्पिन डोरिगाले २९ र नर्मन भनुवाले २५ रन बनाए।
नेपालका लागि गुल्सन झाले तीन, कुशल मल्लले दुई, सोमपाल कामी, करण केसी र प्रतिश जीसीले एक-एक विकेट लिए। प्रतिशले डेब्यू खेलमै विकेट लिएका हुन्।
त्रिदेशीय शृङ्खला अन्तर्गत नेपालले यूएईमा चार खेल खेल्नेछ। दुई खेल पपुवा न्यूगिनीसँग र दुई खेल यूएईसँग हुनेछन्।
यसअघि घरेलु मैदानमा भएको त्रिदेशीय शृङ्खला नेपालले ‘क्लीन स्वीप’ गरेको थियो। नेपाल भ्रमणमा आएका स्कटल्यान्ड र नामिबियालाई पराजित गरेको थियो।