पशुपतिमा साधुसन्तलाई इन्टरनेट किन? (भिडिओ)
पशुपतिनाथ मन्दिर परिसरमा बस्दै आएका साधुसन्तले निःशुल्क इन्टरनेटको माग गरेसँगै उनीहरूलाई आवश्यक पर्छ/पर्दैन भन्ने बहस शुरू भएको छ।
निधारमा त्रिशूल आकारको पहेंलो टीका। शिरमा जटा। आधा शरीर ढाक्ने वस्त्र। एक हातमा त्रिशूल। अर्कोमा कमण्डलु। पशुपति परिसरको मूलढोका छेउकै अन्नपूर्ण अखण्ड भण्डार आश्रमको गेटबाट छिर्नासाथ उनले सुरुवालको रूप दिइएको धोतीको खल्तीबाट स्मार्टफोन निकाले। नजिकै रहेका आफ्ना साथीलाई अनुरोध गरे, “वाइफाई लगाइदेऊ न।”
उनी थिए, आफूलाई नागा बाबा बताउने सुरेश यादव। आश्रममा सुरेश जस्तै आफूलाई नागा बाबा भनेर चिनाउने सन्न्यासीहरू थिए।
शुरूआतमा उनको अनुरोध स्वीकार भएन। बारम्बार जिद्दी गरेपछि इन्टरनेट जोडियो। इन्टरनेट जोडिनासाथ मोबाइलमा औंला चलाउन लागिपरेका उनलाई सोधें- इन्टरनेट त जोडियो। अब के गर्नुहुन्छ?
“यूट्युबमा प्रवचन सुन्छु। भजन सुन्छु। अरू त के चलाउन आउनु र?” उनले जवाफ दिए।
त्यसरी स्मार्टफोन बोक्ने र इन्टरनेटमा यूट्युब लगायत सामाजिक सञ्जालको उपयोग गर्ने उनी एक्ला थिएनन्। पशुपति परिसरमा बसिरहेका अरू साधु, जोगी र अघोरीले पनि इन्टरनेट पाएसम्म मोबाइलमा यूट्युब चलाउने बताए।
सित्तैमा इन्टरनेट नपाएकोमा भने सबैको दुखेसो थियो। “यहाँ बाबाहरूले पाँच सय रुपैयाँको डेटा किनेर इन्टरनेट चलाउने गर्नुभएको छ,” अघोरी बाबा भैरवनाथले भने।
पशुपति क्षेत्र परिसरमा साधुसन्तका लागि इन्टरनेटको व्यवस्था हुनुपर्ने उनको भनाइ थियो। “हामीलाई यहाँ फ्री इन्टरनेट भए कसैसँग वाइफाई माग्नुपर्ने थिएन। पशुपतिको व्यवस्थापनले त्यति गरिदिए हुन्थ्यो,” नागा बाबा सुरेशले दुखेसो पोखे, “हामी मोबाइल त जहाँसुकै चार्ज गर्न सक्छौं, तर इन्टरनेट त्यसरी पाइँदैन।”
अहिले पशुपति परिसरमा बस्ने साधु, सन्न्यासी, अघोरी र योगीहरूको माग बन्नपुगेको छ- निःशुल्क इन्टरनेट। अघोरी बाबा भैरवनाथका अनुसार, खासगरी भारतबाट आएका साधुसन्तले निःशुल्क इन्टरनेटको माग गर्ने गरेका छन्।
अन्नपूर्ण अखण्ड भण्डार आश्रमका मुख्य गुरु नागा बाबा उमेश गिरी पनि भारतबाट आएका साधुसन्तले नै इन्टरनेटको बढी माग गर्ने गरेको बताउँछन्। “उनीहरूसँग नेपालको सिमकार्ड नहुने भएकाले पनि इन्टरनेट चाहिन्छ,” गिरीले भने।
अघोरी बाबा भैरवनाथका अनुसार, पशुपतिनाथमा भारतका हरिद्वार, बनारस, काँचिपुरम लगायत स्थानबाट आउने साधुसन्तले सामाजिक सञ्जालमा भिडिओ लाइभ गर्ने गर्छन्। गत शिवरात्रिमा पनि उनीहरूले यहाँबाट भिडिओ लाइभ गरेका थिए। त्यसका लागि उनीहरूले नेपालमा रहेका साथीहरूको सिमकार्ड केही दिनका लागि मागे। हजारौं रुपैयाँ खर्च गरेर भिडिओ लाइभ गरे। नागा बाबा उमेश गिरी अहिले सूचना पनि आवश्यक भएको बताउँछन्।
पशुपति विकास कोष भने साधु, सन्त, अघोरीहरूको माग नै नाजायज भएको टिप्पणी गर्छ। कोषका प्रवक्ता रेवतीरमण अधिकारी भन्छन्, “शौचालय, पानी, भोजन, बिजुलीको व्यवस्थापन गर्नु जायज माग हो, तर साधु बनेको मान्छेले मोबाइल, इन्टरनेट चलाउन पाइनँ भनेर गुनासो गर्नु जायज छैन।”
पशुपति विकास कोषले विलासिताको वस्तु भनेर निःशुल्क इन्टरनेटको मागलाई पन्छाएकोमा साधु, सन्त, सन्यासीहरू भने असन्तुष्ट छन्। “विलासिता भए पनि धर्मको विषयवस्तु बताउन इन्टरनेट र मोबाइल चाहिंदो रहेछ। हामी आफ्नो रहरले हैन, धर्मको प्रचार गर्न र पशुपतिनाथको जानकारी अन्य देशमा रहेका शिष्यहरूलाई दिन इन्टरनेट चलाउँछौं,” भैरवनाथ अघोरीको तर्क छ।
कोषका प्रवक्ता अधिकारी भने साधु, सन्त, अघोरी, जोगीहरूको काम पर्यटन प्रवर्द्धन गर्ने नभएकाले इन्टरनेटको आवश्यकता नपर्ने जिकिर गर्छन्। उनी भन्छन्, “साधुसन्तको प्रचार फैलाउने जिम्मेवारी हैन। शरीर ढाकेर दुई छाक खान पुगे अन्य कुरामा साधुसन्तको आसक्ति हुनु हुँदैन। विलासिताको लोभ र लालसा भएका साधुहरू भेषमा मात्र साधु छन्। वास्तविक साधु हुन बाँकी नै छ।”
पशुपति विकास कोषको तर्कसँग अध्येता सीके लाल भने असहमत छन्। योगी, सन्न्यासी, तपस्वी, साधु र अघोरीको आआफ्नै जीवनशैली र प्रयोजन भएकाले उनीहरूलाई सञ्चार प्रविधिबाट अलग्याउन नहुने तर्क छ उनको।
लालका अनुसार, योगबाट ज्ञानको खोजी गर्ने व्यक्ति योगी हो भने स्वमुक्तिका लागि तप गर्ने तपस्वी। जीवनका बाध्यता त्यागेर भजन गाउँदै डुल्ने सन्न्यासी हो भने असल मान्छे साधु। त्यस्तै घोरबाट मुक्त मानिस अघोर।
यी भिन्नाभिन्नै प्रकारका गृहत्यागीहरूको जीवनको प्रयोजन फरक हुने भएकाले सांसारिकहरूले प्रविधि चाहिने/नचाहिने छुट्याउन नमिल्ने लालको तर्क छ। “तपस्वीले तपबाट पाएको शक्ति जनहितमा उपयोग गर्छ, त्यसका लागि उसलाई संसारका सबै माध्यम चाहिन सक्छ,” लाल भन्छन्, “जबकि अघोरी समाजको सामान्य नियमभन्दा बाहिर रहने व्यक्ति हो, उसलाई के चाहिन्छ/चाहिंदैन उसैले निर्धारण गर्छ।”
मानवशास्त्री जनक राई भने भौतिक विलासिताको वस्तु साधुसन्तहरूले चलाउनै हुँदैन भन्नु १०० वर्षअघिको जीवन बाँच भने सरह भएको विश्लेषण गर्छन्। साधुसन्तले इन्टरनेट माग गर्दा उनीहरूलाई भोक्ता भोगी भन्नु गलत हो,” राई भन्छन्, “अहिले फोन मात्र किन, साधुसन्त मोटरसाइकल नै चलाएर ज्ञान बाँड्दै हिंडेका छन्। आजका साधुले भोलि राजनीति गर्न सक्छन्। यस्ता परिवर्तनहरू हाम्रो समाजले स्विकार्न सक्नुपर्छ।”
परम्परागत विश्वास हावी हुँदा पशुपति विकास कोषले साधुसन्तको निःशुल्क इन्टरनेटको माग स्वीकार गर्न नसकेको ठम्याई छ संस्कृतिविद् वीणा पौड्यालको। “पहिला साधु, सन्त, ऋषिमुनिले ईश्वरसँग सीधै संवाद गर्न सक्छन् भन्ने ठानिन्थ्यो त्यसैले पनि अहिले तिनले इन्टरनेटको माग गर्दा अस्वाभाविक लागेको हुन सक्छ,” पौड्याल भन्छिन्, “साधुसन्तहरूको पनि सामाजिक सञ्जालमा लाखौं ‘फलोवर’ हुने र उनीहरूले पशुपतिमा आउँदा यहाँको वस्तुस्थिति देखाउन भए पनि इन्टरनेटको माग गर्नु गलत छैन।”