हिउँ खेल्न जाँदै हुनुहुन्छ? सावधान!
हिउँ पर्ने बित्तिकै मानिसहरू रमाउन नजिकैको हिउँ भएको ठाउँमा पुग्छन्। तर‚ सावधानी नअपनाउँदा हिउँले सुखभन्दा बढी दु:ख निम्त्याउँछ।
मानिसको शारीरिक बनावट चिसो सहन नसक्ने खालको हुनाले यसले अत्यधिक चिसो सहन सक्दैन। तर‚ प्राय: मानिस हिउँसँग रमाउन चाहन्छन्। केही त हिउँ भन्ने बित्तिकै हुरुक्क हुन्छन्।
हरेक वर्ष हिउँका कारण सानाठूला दुर्घटना भइरहेका हुन्छन्। यस्तो थाहा पाउँदापाउँदै पनि हामी हिउँ खेल्न मन पराउँछौं। तर‚ हिउँले सुखभन्दा बढी दु:ख निम्त्याउँछ। हिउँमा रमाउँदा हिउँले कति वेला दु:ख दिइसकेको हुन्छ पत्तो पाइँदैन। त्यसैले त अनुभवी र भुक्तभोगीहरू भन्छन्- हिउँ दु:खको अग्लो पहाड हो।
पर्वतारोही शर्मिला लामा हिउँले ढाकेको अग्लो पहाडभन्दा हिउँ कठोर हुने बताउँछिन्। पर्वतारोहणका क्रममा कति वेला र कहाँ चिप्लिन्छ, हिमखाल्डोमा खसिन्छ, कुन वेला हिउँले औंला खाइसक्छ थाहै हुँदैन।
हिउँ पर्दा रुवा जस्तै फुसफुस हुन्छ। परिरहेको हिउँमा खासै चिसो अनुभव हुँदैन। तर‚ हिउँ जमेपछि भने चिसो हुन्छ। नेपालका उच्च पहाडी हिमाली क्षेत्र अर्थात् ११ हजार फिटमाथिको अग्ला डाँडामा हिउँद याममा हिउँ पर्छ। उच्च हिमाली चुचुराहरूमा भने बाह्रैमास हिउँ पर्छ। बाह्रैमास हिउँ हुने ठाउँमा हिउँले निम्त्याउने दुर्घटना र जोखिम एकखाले हुन्छन्। तर‚ हिउँद याममा मात्र हिउँ पर्ने स्थानमा हिउँले पुर्याउने क्षति अर्कैखाले हुन्छन्। सगरमाथा जस्ता अग्ला क्षेत्रमा हिउँले पुरिएर वा क्रिभास भनेर बुझिने हिमखाल्डोमा परेर पदयात्री वा पर्वतारोहीहरू हराउँछन् वा मर्छन्। चन्द्रागिरि वा फूलचोकी जस्ता कम उचाइका डाँडामा कहिलेकाहीं पर्ने हिउँमा चिप्लिएर, लडेर वा हिउँ खेल्ने क्रममा होश गुमाउँदा मानिसको ज्यान जान्छ। अङ्गभङ्ग हुन्छ।
२०७८ माघ २१ गते बझाङको थलारा गाउँपालिका-३ चाखुरीमा हिउँमा चिप्लिएर ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भयो। २०७७ माघमा काठमाडौंबाट हेटौंडा गइरहेको जीप भीमफेदी नजिक हिउँमै चिप्लिंदा पनि एक जनाको मृत्यु भयो। दुवै दुर्घटनामा चार जना घाइते भएका थिए। २०७६ सालमा हुम्लामा हिउँमा ट्रिपर चिप्लिंदा दुई जनाको मृत्यु भएको थियो।
२०२२ को फेब्रुअरीमा चन्द्रागिरिमा हिउँका कारण एक जनाको मृत्यु भएको थियो। आठ वर्षअघि जडीबुटी खोज्न निस्किएका वेला हिउँमा चिप्लिएर जुम्लामा एक जनाको मृत्यु भएको थियो। हिउँमा चिप्लिएरै तीन वर्षअघि मुगुमा पनि एक जनाको मृत्यु भएको थियो।
हिउँमा रमाउँदा हिउँले कति वेला दु:ख दिइसकेको हुन्छ, पत्तो पाइँदैन। त्यसैले त अनुभवी र भुक्तभोगीहरू भन्छन्- हिउँ दु:खको अग्लो पहाड हो।
केही वर्षअघि सोलुखुम्बुको फाप्लु विमानस्थलको धावनमार्गमा हिउँ जम्दा एक साताभन्दा बढी विमानस्थल बन्द भयो। तीन वर्षअघि हिउँ पर्दा मनाङका धेरै गाउँबाट सदरमुकाम चामे आउजाउ ठप्पै भएको थियो। खानेकुराको अभाव भयो। धेरै दिनसम्म चौपायाहरू हिउँमै कठ्याङ्ग्रिएका तस्वीरहरू सार्वजनिक भए। तर उद्धार हुन सकेन वा गर्न सजिलो भएन।
हिउँले दुर्घटना निम्त्याएका र क्षति गरेका यी स्थानहरू वर्षैभरि हिउँ पर्ने ठाउँ होइनन्। हिउँद याममा मात्र हिउँ पर्ने ठाउँ हुन्। हिउँका कारण उच्च हिमाली क्षेत्रमा हुने दुर्घटना र जोखिम झन् डरलाग्दो हुन्छ। २०२२ को अक्टोबरमा मनास्लु हिमालमा गएको हिमपहिरोले तीन जनाको ज्यान गयो। मनास्लु हिउँचुलीबाट चिप्लिंदा विश्वप्रसिद्ध स्की खेलाडी हिलारी नेल्सनको मृत्यु भयो। २०७८ सालमा सगरमाथा बेसक्याम्प पदयात्रामा गएका एक जना पदयात्रीको हिउँमा चिप्लिएर मृत्यु भएको थियो।
सन् २०१४ मा अन्नपूर्ण पदमार्ग क्षेत्रमा बाक्लो हिउँ पर्यो। हुडहुड नामक हिउँआँधी आयो। हिउँआँधीमा परी नेपाली र विदेशी गरी ५० जना पदयात्रीको मृत्यु भयो। २०७२ सालको भूकम्पमा परी सगरमाथा आरोहणमा गएका २३ जना पर्वतारोहीको मृत्यु भएको थियो। उनीहरू हिउँमा पुरिएका थिए। २०७१ सालमा हिउँमा चिप्लिएर सगरमाथा क्षेत्रमा दुई जना विदेशीले ज्यान गुमाएका थिए। तीन वर्षअघि अन्नपूर्ण बेसक्याम्प गएका तीन जनामध्ये हिउँको ढिस्कोले पुरिएर एक जनाको ज्यान गयो।
नेपालमा हरेक वर्षजसो हिउँमा परेर मृत्यु र अङ्गभङ्ग हुनेको मानिसको संख्या उल्लेख्य छ। यसका साथै हिउँले भौतिक सम्पत्ति र बालीनाली पनि नष्ट गर्छ।
हिउँले विदेशतिर पनि हरेक वर्षजसो विनाश निम्त्याइरहन्छ। सन् २०२३ को जनवरीमा हिउँ पर्दा अमेरिकाका विभिन्न शहरमा धेरै दिनसम्म हवाई यातायात समेत प्रभावित भएको थियो। २०२२ को डिसेम्बरमा अमेरिकाको न्यूयोर्कमा हिउँआँधी आउँदा ३४ जनाको ज्यान गएको थियो। जापानमा २०२२ को डिसेम्बरमा भएको हिमपातले १७ जनाको ज्यान लियो।
हिउँ र खेल
जाडो याममा चिसोबाट परै भाग्ने मान्छे पनि हिउँमा खेल्न पाए खुशी हुन्छन्। हिउँ पर्दै गर्दा हिउँ पनि आफूले लगाएको लुगा जत्तिकै न्यानो हुन्छ। हिउँ खेल्नु भनेको हिउँको स्पर्शमा रमाउँदै मनोरञ्जन गर्नु हो।
हिउँ अग्लो ठाउँमा पर्छ। अग्लो ठाउँमा पुग्ने मानवीय मनोकांक्षाले पनि हिउँ र मानिसको सम्बन्ध प्रगाढ बनाएको हुन सक्छ। अग्लिनु, अग्लो ठाउँमा पुग्नु र सकुशल फर्किनुलाई मान्छेले जित ठान्छन्। अग्लिनुको पछाडि आत्मसन्तुष्टि हुने भएकाले होला जोखिम हुदाँहुँदै पनि मान्छे हिउँमा खेल्न रुचाउँछ।
त्यसैले त हिउँ पर्न लाग्यो भन्ने थाहा पाउने बित्तिकै मानिसहरू नजिकैका अग्ला चुचुरातिर कुद्छन्। हिउँमा चिप्लेटी खेल्छन्। हिउँ थुपारेर मानवाकृति बनाउँछन्। फोटो‚ भिडिओ खिच्छन्। हिउँले छ्यापाछाप गर्छन्। अनेक तरीकाले रमाउँछन्। पछिल्लो समय त सामाजिक सञ्जाल फेसबूक‚ टिकटक लगायतमा ‘लाइभ’ गर्छन्।
हिउँ खेल्नु र हिउँमा खेल खेल्नु सुन्दा उस्तै सुनिए पनि यी दुईबीच धेरै अन्तर छ। हिउँ परिरहेको हिउँमा भिज्दै कुद्नु, उफ्रिनु‚ चिप्लेटी खेल्नु‚ हिउँ बटुलेर मानवाकृति वा अन्य आकृति बनाउनु, फोटो/भिडिओ खिच्दै रमाउनु हिउँ खेल्नु हो। विना तयारी हिउँ खेल्न पुग्दा वा सावधानी नअपनाउँदा दुर्घटना निम्तिने धेरै खतरा हुन्छ।
हिउँमा व्यावसायिक खेलहरू पनि खेलिन्छन्। हिउँमाथि खेलिने खेलहरू साहसिक खेलमा पर्छन्। स्कीइङ, स्नोबोर्डिङ, स्केटिङ, स्लाइडिङ तथा आइस क्लाइम्बिङ आदि हिउँमा खेलिने रोमाञ्चक र साहसिक खेलहरू हुन्। नेपालमा आइस क्लाइम्बिङ जसलाई पर्वतारोहण भन्दा फरक नपर्ला, बाहेक हिउँमा खेलिने अन्य खेलहरू विरलै खेलिन्छन्। हिउँ जम्ने पहाडको उचाइ र यहाँ भूबनोटले पनि नेपालमा पर्वतारोहण बाहेक अन्य खेलहरू खेल्न सजिलो नभएको जानकारहरू बताउँछन्।
नेपालमा हरेक वर्षजसो हिउँमा परेर मृत्यु र अङ्गभङ्ग हुनेको मानिसको संख्या उल्लेख्य छ। यसका साथै हिउँले भौतिक सम्पत्ति र बालीनाली पनि नष्ट गर्छ।
हिउँमा खेल्ने कि नखेल्ने?
हिउँमा खेल्दा हिउँको प्रकृतिबारे थोरै भए पनि जानकारी हुनुपर्छ। हिमनदीबारे जानकारी राख्नु त झनै फाइदाजनक छ। हिउँ जमेर साना-ठूला चुचुरा जस्ता ग्लेसिएर बनेको हुन्छ। जसलाई पृथ्वीको गुरुत्वाकर्षणले तलतिर तानिरहेको हुन्छ। ग्लेसियोलोजिस्टहरूका अनुसार‚ हिमनदी एक-डेढ सय वर्षदेखि हजारौं वर्ष पुरानासम्म हुन्छन्। नेपालका हिमालमा जोखिमपूर्ण ग्लेसियर छैनन्। तर‚ हिमाल आरोहणल गर्नेहरूले ग्लेसिएर वा हिउँको प्रकृति बुझ्न आवश्यक छ।
हिउँद याममा मात्र हिउँ पर्ने ठाउँमा घुम्न वा खेल्न जानेले ग्लेसियरबारे जानकारी लिन आवश्यक नभए पनि हिउँसँग कसरी साक्षात्कार गर्ने, के गर्ने र के नगर्ने भन्ने जानकारी राख्नैपर्छ।
फुसफुस झरिरहेको हिउँ न्यानो हुन्छ। खासै जाडो छैन भनेर पातला कपडा, टिसर्ट वा हाफपेन्टमा हिउँमा भिज्दा वा लडीबुडी गर्दा जोखिम हुन्छ। हिउँ खेल्न जाँदा न्यानो कपडा लगाउनैपर्छ। जीउ ढाक्ने गरी कोट वा ज्याकेट, त्यसको बाहिर रेनकोट लगाउँदा भित्री कपडाहरू भिज्दैनन्। हिउँको चिसो छालासम्म पुग्दैन। पन्जा र ह्याट वा बाक्लो टोपी, बूट लाउनुपर्छ। हिउँ खेल्दा कपडा भिज्ने सम्भावना भएकाले फेर्ने कपडा लानुपर्छ। हिउँमा लगातार पछारिने, दौडिने, चिप्लिने गर्दा शरीरलाई भार पर्ने भएकाले वेलावेला आराम गर्नुपर्छ। शरीरमा पानीको अभाव हुन नदिन पानी पिइरहनुपर्छ।
हिउँ जमेको जमीनको सतह, हिउँको गहिराइ र भूबनोट बुझेर मात्र खेल्न जानुपर्छ। किनकि‚ भूबनोटका कारण जोखिम आउन सक्छ। चुचुरोमा हिउँ पर्ने भएकाले त्यस्तो ठाउँमा हिउँ खेल्दा चिप्लिने जोखिम रहन्छ। त्यसैले भिरोलो पाखामा चिप्लेटी खेल्नु हुँदैन। चुचुरोको छेउछाउ जानु हुँदैन। झाडी वा बुट्यान छ भने त्यस्तो ठाउँमा पनि खेल्नु हुँदैन। चट्टान र ढुङ्गा भएको ठाउँमा उफ्रिनु हुँदैन। हिउँ खेल्न समूहमा जानुपर्छ।