आरजु राइस मिलले तोक्यो आगामी वर्षका लागि धानको मूल्य
मोरङको बेलबारी नगरपालिका-९ डाँगीहाट रहेको आरजु राइस मिलले २०८० सालका लागि धानको न्यूनतम मूल्य तोकेको छ।
नेपाल कृषि केयरले सञ्चालन गरेको आरजु राइस मिलले आइतबार सरकारका प्रतिनिधिहरूलाई समेत राखेर आगामी असारमा रोपेर मंसीरमा भित्र्याइने धानको मूल्य तोकेको हो। मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले राम धानको मूल्य प्रतिकिलो ३२ रुपैयाँले खरीद गर्ने सार्वजनिक गरेका हुन्। मिलले चैते धानको पनि दुई महीनाअघि न्यूनतम मूल्य तोकेको थियो।
मूल्य सार्वजनिक कार्यक्रममा प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला, कृषि सचिव, विभागका निर्देशकहरू, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिक परियोजना, नगरपालिकाका कृषि अधिकृतको उपस्थिति थियो। कृषिमन्त्री सिटौलाले निजी क्षेत्रले कृषिमा गरेको योगदानको प्रशंसा गरेका थिए।
मोरङ, सुनसरी र झापामा उत्पादित धान खरीद गर्ने कम्पनीले जनाएको छ। मिलले गत वर्ष राम जातको धान प्रतिकिलो ३० रुपैयाँमा किसानबाट एक हजार २०० टन खरीद गरेको थियो। यस वर्ष १३ हजार टन खरीद गर्ने लक्ष्य रहेको अध्यक्ष बस्नेतले बताए। गत वर्षको धान चामल बनाएर राखिएको र त्यसलाई यस वर्ष काठमाडौंमा बिक्री गरिने उनले बताए। “आगामी वर्षका लागि साढे तीन हजार बिघाको धान चाहिएको छ‚” बस्नेतले भने‚ “बजारको भन्दा कम मूल्यमा स्तरीय चामल हामी दिन्छौं।”
मिलले किसानलाई सस्तोमा बीउ उपलब्ध गराउनुका साथै धान भित्र्याउन कृषि औजारको मद्दत गर्छ। मिलको सहयोगमा ८०० बिघा क्षेत्रफलमा किसानले राम जातको चैतेधानको खेती गर्दै आएका छन्।
२२ हजार टन क्षमताको हाल सञ्चालित मिल सानो भएकाले झापा, मोरङ र सुनसरीमा थप ५०-५० हजार टन क्षमताका दुई मिल स्थापना गर्न सम्भाव्यता अध्ययन भइरहेको अध्यक्ष बस्नेतले बताए। बजारको माग अनुसार राम धानको उत्पादन बढाउने र बढी चामल बजारमा लैजाने योजना रहेको उनको भनाइ छ। गत वर्षदेखि चामलको उत्पादन थालेको मिलले यस वर्ष चामलमा नाफा भए नयाँ उद्योगमा जन समुदायलाई पनि लगानी गर्न प्रोत्साहित गर्ने अध्यक्ष बस्नेतले बताए।
मिलका निर्देशक रामचन्द्र खनालले डाँगीहाटमा रहेको मिलमा बस्नेतको मात्र लगानी भए पनि अब स्थापना हुने मिलमा भने किसानको पनि लगानी रहने बताइएको छ। हाल मिलका लागि किसानले ८०० बिघामा चैतेधान लगाएका भए पनि दुई हजार बिघाको धान आवश्यक रहेको खनालले जानकारी दिए।
राम धानको खेती सामान्य मात्रै हुने गरे पनि गाउँमै मिल स्थापना भएपछि उक्त जातको धान खेती गर्ने किसान बढ्न थालेको बेलबारी-४ कफ किसान थलकमला पौडेल बताउँछिन्। “अघिल्लो वर्ष खेत ठेक्कामा दिएकी थिएँ, राम धानबाट राम्रै हुने रहेछ। यस वर्ष आफैं खेती गर्ने योजना बनाएकी छु,” उनले भनिन्।
स्थानीय कृषि सहकारीका अध्यक्ष कर्णबहादुर थापाले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएको बताउँछन्। अधिकार सम्पन्न स्थानीय सरकारले धान उत्पादन र व्यवस्थापनमा चासो दिन नसकेको उनको गुनासो छ।