प्रधानमन्त्रीले जेनेभा नजानू भनेर खबर पठाउनुभयो, त्यसैले गइनँ: परराष्ट्र मन्त्री पौड्याल
प्रधानमन्त्री पुष्पकमल दाहालले नजानू भनेर खबर पठाएपछि जेनेभा भ्रमण रोकेको परराष्ट्र मन्त्री विमला राई पौड्यालले बताएकी छन्।
मानव अधिकार परिषद्को ५२औं सत्रमा सहभागी हुन मन्त्री राई आइतबार साँझ स्वीट्जरल्यान्डको जेनेभा जाने तय भएको थियो। नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री पौड्याल जेनेभा जान लागेकी थिइन्। मानव अधिकार परिषद्को ५२औं सत्र फागुन १५ देखि चैत १३ गतेसम्म चल्नेछ। अहिले नेपाल मानव अधिकार परिषद्को सदस्य छ।
अन्तिम समयमा आएर प्रधानमन्त्री दाहालले परराष्ट्र मन्त्री पौड्यालको भ्रमण रोकेका छन्। “सबै तयारी भइसकेको थियो। आफैं नजाने त कुरै भएन,” मन्त्री पौड्यालले हिमालखबरसँग भनिन्, “प्रधानमन्त्रीले नजानू भनेर खबर पठाउनुभयो, त्यसैले गइनँ।”
फागुन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले पौड्यालको जेनेभा भ्रमण स्वीकृत गरेको थियो। मन्त्रिपरिषद्को बैठकको आठौं निर्णयमा भनिएको छ, ‘२०७९ फागुन १५ देखि १८ गतेसम्म स्वीट्जरल्यान्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२औं सत्रमा माननीय परराष्ट्र मन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने।’
त्यसको एक सातापछि प्रधानमन्त्री दाहालले एकाएक मन्त्री पौड्यालको जेनेभा भ्रमण रोकेका छन्। मानव अधिकार परिषद्को सत्रमा मन्त्री पौड्यालले नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका कामबारे सुनाउने कार्यक्रम रहेको थियो।
आइतबार दिउँसो मन्त्री पौड्यालले पत्रकार सम्मेलन गरी परिषद्को ५२औं सत्रमा राख्ने विषयबारे जानकारी दिएकी थिइन्। उनले नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे अवगत गराउने बताएकी थिइन्।