पल शाहलाई उच्च अदालतले दियो सफाइ
अभिनेता पल शाहलाई उच्च अदालत, पोखराले आइतबार सफाइ दिएको छ।
उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको हो। शाह विरुद्धको मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै उच्च अदालतले सफाइ दिएको छ।
जिल्ला अदालत, नवलपुरको फैसला विरुद्ध शाहले उच्च अदालतमा निवेदन दिएका थिए। जिल्ला अदालत, नवलपुरले शाहलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको थियो।
उनी विरुद्ध बलात्कार मुद्दा दर्ता भएको थियो। अदालतले भने बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो। त्यसका विरुद्ध सरकारी वकीलको कार्यालयले पनि उच्च अदालतमा निवेदन दिएको थियो।
पीडित ‘होस्टाइल’ भएकाले बयान फेरेको भन्दै सरकारी वकीलको कार्यालयले बलात्कार मुद्दामा सजाय हुनुपर्ने माग गरेको थियो। पीडित बालिकाले अनुसन्धान अधिकारी समक्ष आफूमाथि नवलपुरको गैंडाकोट र तनहुँमा शाहले बलात्कार गरेको बयान दिएकी थिइन्। तर, मुद्दा अदालतमा पुगेपछि भने पीडित बालिका र उनका अभिभावकले यस विपरीत बयान दिएका थिए।
उच्च अदालतले दुवै निवेदनमाथि सुनुवाइ गर्दै अभियोग दाबी नपुग्ने ठहर गरेको हो। शाह एक वर्षदेखि जेलमा छन्।