कार्बन व्यापारका लागि ६२ वर्षपछि नेपालका रूखको अध्ययन
नेपालमा ६२ वर्षपछि रूखको अध्ययन गर्न थालिएको छ। यस पटक कार्बन व्यापारका लागि रूखको अध्ययन शुरू भएको हो।
कार्बन व्यापारका लागि नेपालमा रूखहरूमा कार्बन सञ्चितिको दर मापन गरी त्यसको तथ्याङ्क विश्लेषण गरेर आफ्नै ‘एलोमेट्रिक समीकरण’ तयार गर्ने प्रक्रिया शुरू गरिएको छ। ‘एलोमेट्रिक समीकरण’ भनेको रूखको बायोमास, कार्बनबारेको सूक्ष्म अध्ययन हो।
यो अध्ययनका लागि नेपालले सन् २०१० देखि नै प्रक्रिया अघि बढाउन खोजेको थियो, तर शुरू गर्न सकेको थिएन। गत माघ ३ गतेबाट यो प्रक्रिया शुरू गरिएको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले जनाएको छ।
यसअघि सन् १९६० मा नेपालका रूखबारे अध्ययन भएको थियो। त्यसको ६२ वर्षपछि यो अर्को अध्ययन शुरू गरिएको हो।
यो अध्ययनका लागि सातै प्रदेशबाट लामो प्रक्रिया पूरा गरेर सात थरी रूख छानिएका छन्। कडा आयतन भएका सात थरी रूखमा साल, साज, चिलाउने, उत्तिस, खोटे सल्ला, कटुस र बोेट धयेँरो रहेका छन्। यो अध्ययनका लागि चैतसम्म देशभरका ४८९ वटा रूख काटिनेछन्। यद्यपि केन्द्रले परियोजना अन्तर्गत एक हजार १०० वटा रूख काट्ने योजना बनाएको छ।
रूखको अध्ययनपछि नेपालले कार्बन उत्सर्जन घटाएकोबारे प्रतिवेदन तयार पारिने जनाएको छ। त्यही प्रतिवेदनका आधारमा नेपालले सञ्चिति बढाए बापतको रकम परिणामका आधारमा प्राप्त गर्नेछ। गण्डकी प्रदेशका कास्की, बाग्लुङ, पर्वत, गोरखा र लमजुङमा रूख काट्न शुरू भएको छ। पश्चिमी क्षेत्रमा २४८ र पूर्वी क्षेत्रमा २४१ रूख काटिने भएको छ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक यमप्रसाद पोखरेलले नेपालको आफ्नो अध्ययन नहुँदा अन्तर्राष्ट्रिय मान्यता अनुसार चल्नुपर्ने बाध्यता रहेको र यस अध्ययनपछि भने नेपालको आफ्नो मान्यता अनुसार अन्तर्राष्ट्रिय रूपमा काम गर्न सकिने बताए। महानिर्देशक पाखरेलले आफ्नै अध्ययन भएपछि विश्वसनीयता हुने र नेपाललाई आर्थिक रूपमा लाभ पनि हुने बताए।
अहिले नेपालले कार्बन व्यापारका लागि विश्व ब्यांंकसँग तराईका १३ जिल्लामा प्रति मेट्रिक टन पाँच डलर प्रदान गर्नेे सम्झौता गरिसकेको छ। कार्बन सञ्चितिको दर बढेको खण्डमा नेपालले अझ बढी आर्थिक लाभ गर्न सक्ने जनाइएको छ। वन संरक्षण गरी कार्बन उत्सर्जन घटाउने र सञ्चिति बढाए बापत विकसित देशहरूले वन संरक्षण गर्ने देशलाई रकम भुक्तान गर्नुपर्छ।
वन तथा वातावरण मन्त्रालयकी सहसचिव सावित्री अर्यालले छानिएका प्रत्येक रूखका पात, जरा, फल, दाउरा लगायत रूखका सबै पाटोको गहिरो अध्ययन गरी यसको आयतन, बायोमास, कार्बन मात्र हेरिने बताइन्। नेपालमा जङ्गल रहेको भूभागमा कति कार्बन सञ्चित छ भन्ने अध्ययनले बताउने अर्यालको भनाइ छ।
प्रशिक्षण केन्द्रका उपसचिव राजकुमार गिरीले ६२ वर्षअघि भएको अध्ययनमा नेपालको वनको क्षमता कम ठानिएको बताए। यो अध्ययनले दक्षिणएशियामा नै नेपाल नमूना देश बन्न सक्ने गिरीको भनाइ छ।
केन्द्रका बायोमेट्रिसियन ठाकुर सुवेदीले रूख कटान गरी नमूना सङ्कलनपश्चात् एक वर्ष ल्याब अध्ययनका लागि लाग्ने बताए। रूख छान्दा नभाँचिएको, कीरा नलागेको लगायतका प्रक्रियाबाट गरिएको सुवेदीको भनाइ छ। नेपालले गरेको कार्बन सञ्चितिलाई तथ्यले प्रमाणित गर्न अध्ययन शुरू गरिएको उनले बताए।
नेपालको वनले करीब ५९ लाख ६२ हजार हेक्टर भूभाग ओगटेको छ। जुन नेपालको क्षेत्रफलको ४०.३६ प्रतिशत हो। वन मन्त्रालयका अनुसार नेपालको वनमा कुल कार्बन सञ्चिति एक अर्ब पाँच करोड ५० लाख टन रहेको अनुमान छ।
वनस्पति विभागकी महानिर्देशक राधा वाग्लेले जलवायु परिवर्तनको असर नेपालमा पनि देखिंदै गएका कारण यस अध्ययनले वन व्यवस्थापनमा सहयोग गर्ने बताइन्। “जलवायु परिवर्तनको असर नेपालमा देखिन शुरू भइसकेको छ। वन व्यवस्थापनका लागि पनि यस अध्ययनले सहयोग गर्नेछ,” वाग्लेले भनिन्।