बागमती सरकारबाट राप्रपाका मन्त्रीको राजीनामा
बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीले राजीनामा दिएका छन्।
शनिबार साँझ राप्रपाका मन्त्रीले तीनै जना मन्त्रीले मुख्यमन्त्री शालिकराम जमकट्टेल समक्ष राजीनामा बुझाएका हुन्। राप्रपा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको शनिबार बिहान बसेको बैठकले संघीय र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
राप्रपा निर्णय अनुसार, संघीय सरकारमा सहभागी मन्त्रीले शनिबार दिउँसो राजीनामा दिएका थिए। अहिले बागमती प्रदेश सरकारबाट पनि राप्रपाका मन्त्रीले राजीनामा दिएका हुन्।
प्रदेश सरकारमा सहभागी राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले संयुक्त रूपमा राजीनामा बुझाएका हुन्।
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएको र संघीय सरकारमा सहभागी राप्रपाका मन्त्रीले समेत राजीनामा दिएकाले पार्टीको निर्णय अनुसार नै प्रदेशमा पनि राजीनामा दिएको बागमती प्रदेश सरकारमा सहभागी राप्रपा संसदीय दलका नेता थापाले बताए।
संसदीय दलका नेता थापाले पुस २५ गते मुख्यमन्त्री जमकट्टेलसँगै विना विभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए। उनले माघ ११ गते मन्त्रिपरिषद् विस्तार हुँदा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका थिए। तामाङ र विष्टले माघ ११ गतेबाट प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए।