वियोगले जन्माएका सिटौला पुल र लिम्बुनी पुल
प्राप्त कस्य रुक्का र लिखतले तमोर नदीमा सिटौलाहरूले बनाएको सबैभन्दा पुरानो झोलुङ्गे पुल र पतिवियोगमा परेकी विष्णुमाया लिम्बुनीले बनाएको पुलको सन्दर्भ खोलेका छन्।
पाँचथरको हेवा खोला र तमोर नदीको दोभान माझीटारदेखि साढे दुई किलोमिटर जति माथि एउटा जीर्ण झोलुङ्गे पुल छ। तमोर नदीको सबैभन्दा पुरानो झोलुङ्गे पुल मानिने यसलाई सिटौला पुलका नामले चिनिन्छ। २०६२ सालमा यसैको छेवैमा नयाँ पुल बनाइएको छ।
सिटौला पुलको निर्माणबारे १९८६ सालमा जारी भएको एउटा कस्य रुक्का भेटिएको छ। झापा गरामनीका भक्तिप्रसाद सिटौला मार्फत रुक्का हात परेको हो। लिखत हेर्दा तेह्रथुमको आठराई मूलपानी बस्ने ब्रह्मलाल सिटौलाले तमोरमा पुल बनाउन पहल गरेको देखिन्छ। उनका छोराहरू बहिदार गंगाप्रसाद सिटौला र जनार्दन सिटौलाले पुल नहुँदा रैती दुनियाँले डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नुपरेको, सालिन्दा कैयौं मानिसको ज्यान गइरहेको उल्लेख गर्दै व्यक्तिगत तवरमा पुल बनाउन पाऊँ भनी राणा प्रधानमन्त्री भीमशमशेर समक्ष बिन्तीपत्र लेखेका थिए। राजाको लालमोहर पाएर पहिलेदेखि नै तमोरमा डुङ्गा चलाउँदै आएका माझीटारका माझीहरूले साँघु हाल्न अवरोध गरेको पनि रुक्कामा उल्लेख छ।
त्यस वेलासम्म तमोरमा कतै पनि झोलुङ्गे पुल भएको प्रमाण भेटिँदैन। सन् १८४८ मा नेपाल आई तमोर नदी हुँदै कञ्चनजंघा पुगेका बेलायती वनस्पतिशास्त्री एवम् अन्वेषक जोसेफ डाल्टन हूकरले त्यो यात्रामा आधारित भई लेखेको पुस्तकमा आफ्ना भरियाहरूलाई तमोरमा बडो कष्टले डुङ्गा तारेको लेखेका छन्। सन् १८५४ मा प्रकाशित हिमालयन जर्नल्सको नेपाल खण्डको अनुवाद कञ्चनजङ्घा जुहार (२०७९)मा हूकरले तमोरको शाखा मेवा खोलामा स्थानीय कामीले बनाएको एउटा अप्ठ्यारो साङ्ले पुलबारे चर्चा गरेका छन्। तर, तमोर नदी ठूलो र धेरै फराकिलो भएकाले सानोतिनो खोलामा जस्तो साङ्ले पुल हुन सम्भव थिएन। लिम्बू भाषामा तमोरलाई ताम्वा भनिन्छ, जसको अर्थ ‘फराकिलो’ हुन्छ।
सन् १९५० मा भौगर्भिक अध्ययन गर्न नेपाल आएर सबैजसो पहाडी भेग घुमेका स्वीस भूगर्भविद् टोनी हागनले आफ्नो पुस्तक नेपालमा मेरो खोजयात्रा (सन् २०२१)मा राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सामान बोक्ने जनावर समेत हिंड्न मिल्ने धेरै वटा झोलुङ्गे पुल निर्माण भएको उल्लेख गरेका छन्। उनी बितेपछि ती झोलुङ्गे पुललाई पूरै बेवास्ता गरिएको र सन् १९५० देखि १९५८ सम्म ती पुल आधा बेकम्मा भएको र आधा चाहिं ज्यान हत्केलामा राखेर पार गर्नुपर्ने अवस्थामा पुगेको हागनले लेखेका छन्। यसले के देखाउँछ भने चन्द्रशमशेरपछिका कुनै पनि राणा प्रधानमन्त्रीले पुल बनाउनेतर्फ चासो दिएनन्।
सिटौलाहरूले १९८६ सालमा शुरू गरेको पुल निर्माण अर्को वर्ष नै सम्पन्न भयो। उनीहरूले राणा सरकारसँग बिन्तीपत्र चढाएको एक वर्षपछि १९८७ सालमा मात्र तत्कालीन पल्लो किरात लिम्बुवानको मुख्य प्रशासनिक एकाइ धनकुटा गौंडा जाने मूलघाटमा बेलायती डेभिड एन्ड रोवेल कम्पनीले झोलुङ्गे पुल निर्माण शुरू गरेको थियो। यस सम्बन्धी अभिलेख त्यसै पुलमा आज पनि छ। त्यस वेला समाजसेवाको भावनाले व्यक्तिगत तवरमा बाटो, पुलपुलेसा, पाटीपौवा, चौतारो आदि बनाउन पनि राणा सरकारको इजाजत लिनुपर्थ्यो। यहाँसम्म कि, आफ्नो घरमा झिँगटी छाउन समेत सरकारको इजाजत लिनुपर्ने भगिराज इङ्नामको खोज र सम्पादनमा प्रकाशित लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह पुस्तकमा समाविष्ट लिखतले देखाउँछ।
सिटौलाहरूले पुल निर्माण गर्न इजाजत त पाए, तर स्रोतसाधनको उपलब्धता, ढुवानी सुविधा नभएको त्यो समयमा पुल बनाउनु सजिलो थिएन। झोलुङ्गे पुल बनाउन कलकत्ताबाट पुलको लठारो ल्याउनुपर्थ्यो। भरियाहरूको लस्कर लगाएर मधेशदेखि तमोरसम्म सामान ल्याउन सानोतिनो खर्च र हिम्मतले हुँदैनथ्यो।
त्यस बखतसम्म तमोरमा पुल बनाउन राणा सरकार आफैं अघि नसरे पनि पुल निर्माण गर्न लागेका आठराईका सिटौलाहरूलाई भरपूर सहयोग गरेको यो कस्य रुक्काले देखाउँछ। यसमा पुल बनाउन ल्याइने लठारोको सम्पूर्ण भन्सार छूट गराइदिन, लठारो बोक्ने ज्यामी खोज्न सघाउन, पुलको काम नसकिउन्जेल एक सिपाही र चार जना ज्यामीको व्यवस्था गरिदिन, पुलसम्म पुग्ने पहरा फोर्न गोलाबारूद उपलब्ध गराइदिन, आवश्यक काठ वरिपरिको जङ्गलबाट उपलब्ध गराइदिन धनकुटा, तेह्रथुम र इलाम गौंडालाई आदेश दिइएको थियो।
दुःखद घटनाले जन्माएको पुल
यस भेगमा तमोरले डुङ्गा पल्टाएर मानिसहरूको ज्यान गएको अनेकौं घटना सुनिन्थे। सिटौला पुल निर्माणको शुरूआत पनि यस्तै एउटा घटनासँग जोडिएको छ। स्थलगत किस्सा सङ्कलनका क्रममा पाँचथर सुभाङका ९० वर्षीय टंक मिश्रले बताए अनुसार, १९८५ असारमा पाँचथरका संग्रौला थरका बेहुलाले आठराई मूलपानीबाट बेहुली लिएर जन्ती फर्कने क्रममा डुङ्गा पल्टिँदा तमोरको नक्कलेघाटमा सबै डुबेछन्। उनीहरूको शव समेत भेटिएनछ।
आफ्नो गाउँका छोरी र ज्वाइँ कुटुम्बको यो घटनाले गहिरो शोकमा परेका ब्रह्मलाल सिटौला तमोरमा जसरी भए पनि पुल बनाउने निष्कर्षमा पुगेछन्। उनले तुरुन्त आफ्ना भाइ कुलप्रसादसँग सल्लाह गरी छोराहरू गंगाप्रसाद र जनार्दनलाई त्यस कामका लागि खटाएछन्। पुल बनाउन इजाजत दिएको कस्य रुक्कामा तिनै गंगाप्रसाद र जनार्दनको नाम उल्लेख छ।
पुल बनेपछि यी सिटौलाहरूलाई श्री ३ महाराज भीमशमशेरले काठमाडौं बोलाई सोधेछन्, ‘ठूलो काम गरेछौ, के बक्सिस माग्छौ?’ उनीहरूले आफ्नो गाउँ आठराई मूलपानीमा स्कूल खोल्न पाऊँ भनी बिन्ती बिसाएछन्। त्यस समयमा त्यति सजिलै स्कूल खोल्ने इजाजत दिनु राणा सरकारको नीतिभित्र पर्दैनथ्यो। निजी लगानीमा त्यति ठूलो सामाजिक काम गर्नेहरूको समाजसेवाभन्दा अर्को स्वार्थ नदेखेपछि भीमशमशेरले अंग्रेजी पढाउन नपाइने शर्तमा स्कूल खोल्न अनुमति दिएछन्।
१९९२ सालमा सरकारबाट इजाजत पाएको मूलपानी भाषा पाठशाला नै सम्भवतः त्यस बखतको पल्लो किराँत लिम्बुवानको मुख्य प्रशासनिक एकाइ धनकुटा गौंडाभन्दा पूर्वको पहिलो पाठशाला थियो। पछि, २००३ सालमा त्यही भाषा पाठशालाले प्राथमिक विद्यालयको मान्यता पायो, नाम परिणत गरेर त्रि-मोहन प्राइमरी स्कूल बनाइयो। त्यो स्कूल त्रि-मोहन उच्च माविका रूपमा आज पनि छँदै छ।
पतिवियोगपछिको समाजसेवा
सिटौला पुल र मूलघाट पुलपछि तमोर नदीको तेस्रो पुरानो झोलुङ्गे पुल हो, लिम्बुनी पुल। यसको निर्माणबारे उल्लेख भएको कागज पनि भेटिएको छ। यो कागज उक्त पुल बनाउने विष्णुमाया लिम्बुनीकै नातिनी शिवरूपा आङबुहाङबाट भगिराज इङ्नाम मार्फत हात परेको हो।
सिटौला पुलदेखि १६ किलोमिटर माथि फुङ्वाघाटमा रहेको यो पुल २००९ सालमा बनाइएको थियो। यसको निर्माण अवस्थाबारे २००९ जेठ १८ गते २ नं जाँच कमिशन डोर चैनपुरबाट आठराई नेसुम निवासी विष्णुमाया आङबुहाङ (लिम्बुनी) र उनका छोराहरू भुवान्सी र रनबहादुरका नाममा कागज जारी भएको देखिन्छ। यसमा डोरहरू जाँच्न आउँदा पुलका लठारोहरू पुल बनाउने ठाउँमा आइसकेको उल्लेख हुनुले विष्णुमायाले २००९ सालअघि नै पुल बनाउने इजाजत लिएको बुझ्न सकिन्छ।
कागजमा तमोरमा भेल बढेर जेठदेखि नै डुङ्गा चल्ने घाट बन्द हुने भएकाले जनतालाई निकै असुविधा भएको उल्लेख गर्दै पुल बनाउन सक्दो भरमद्दत दिन र रोकटोक गरे सजाय हुने लेखिएको छ। कुनै समयको अति व्यस्त लिम्बुनी पुलको अहिले अवशेष मात्र बाँकी छ। यसको छेउमै नयाँ पुल निर्माण गरेर लिम्बुनी पुल नै नाम दिइएको छ।
पतिवियोगपछि विष्णुमायाले बाँकी जीवन समाजसेवामा बिताइन्। लिम्बुनी पुल बाहेक १९९८ सालमा हालको ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ५ मा निर्मित तिलवारी बाटो, तिलवारी चौतारा बाटो उनैले बनाएकी हुन्। उनले २००५ सालमा तीन हजार रुपैयाँ खर्चेर हालको आठराई त्रिवेणी-४ चांगेदेखि वडा नम्बर ३ हाङ्पाङको शिरान देउरालीसम्म पहरा फोडेर बाटो बनाएकी थिइन्।
साथै, उनले वर्तमान ताप्लेजुङ र तेह्रथुमको आठराईमा पर्ने ढुङ्गे सिँढी सहितको ढल्केवरडाँडा बाटो, मूलपानी-चिहानडाँडा बाटो, सतीघाट बाटोे बनाइन्। यस बाहेक पनि उनले हालको तेह्रथुम, ताप्लेजुङ जिल्लामा पर्ने आठराईमा कैयौं चौतारा र पाटीपौवा निर्माण गरेकी थिइन्।
गन्तव्य पुग्न पैदल हिंड्नुको विकल्प नरहेको त्यो समयमा यस्ता बाटो, पाटीपौवा र चौताराको ठूलो महत्त्व हुन्थ्यो। यस्ता ऐतिहासिक पाटीपौवा र चौताराहरू पछिल्लो समय विकास निर्माणका नाममा मासिँदै गएका छन्। हाम्रा पुर्खाहरूलाई भरथेग र राहत दिएर हामीसँग अभिन्न सम्बन्ध राख्ने यी संरचनाको संरक्षण गरिनुपर्छ।
(इतिहास अध्ययनमा रुचि राख्ने लावती मुन्धुम शोधकर्ता हुन्। हिमालको २०७९ फागुन अङ्कबाट।)