राष्ट्रपतिमा दुई पूर्व सभामुखको प्रतिस्पर्धा
आगामी राष्ट्रपतिका लागि दुई जना पूर्व सभामुख चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। आगामी फागुन २५ गते हुने चुनावका लागि पौडेल र नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रपतिका लागि दुई जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए।
राष्ट्रपति चुनावका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली सहित नेम्वाङ उम्मेदवारी दर्ता गर्न बिहानै संघीय संसद् भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
त्यसपछि दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा सहित पौडेल उम्मेदवारी दर्ता गर्न पुगेका थिए। उनीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल तथा आठ दलका शीर्ष नेता पनि प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
पौडेललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। उनको प्रस्तावकमा कांग्रेस सभापति देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, जसपाका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खान छन्।
त्यस्तै, समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कांग्रेसका उपाध्यक्ष पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र माओवादीका हितराज पाण्डे छन्।
एमालेका उम्मेदवार नेम्वाङको प्रस्तावकमा अध्यक्ष ओली, नेताहरू पृथ्बीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुवीर महसेठ र छविलाल विश्वकर्मा छन्। समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन्।
फागुन १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार पौडेललाई समर्थन गर्ने निर्णय गरेको थियो। त्यसकै आधारमा फागुन १३ गते बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
सत्तारूढ गठबन्धनको सहमति अनुसार नै नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाइएको एमालेले जनाएको छ। गत पुस १० गते माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदा बनेको गठबन्धनले एमालेलाई राष्ट्रपति दिने सहमति गरेको थियो। त्यहीं सहमतिका आधारमा एमालेले उम्मेदवार उठाएको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।
सत्तारूढ गठबन्धनमा रहेका दलमध्ये अहिलेसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको मात्रै नेम्वाङलाई समर्थन देखिएको छ। माओवादीले कांग्रेस उम्मेदवारलाई सघाउने सहमति गरेपछि राप्रपा सरकारबाट बाहिरिएको छ। सत्तारूढ गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने फागुन १३ गते साँझसम्म कुनै निर्णय गरेको छैन।
को हुन् रामचन्द्र पौडेल?
२००१ असोज २९ गते तनहुँमा जन्मिएका पौडेल ६ दशकदेखि राजनीतिमा सक्रिय छन्। उनी २०४८ सालदेखि संसदीय राजनीतिमा संलग्न छन्। २०५१ पुस ३ गतेदेखि २०५५ चैत ९ गतेसम्म प्रतिनिधि सभाको सभामुख भएर काम गरेका थिए। उनी पार्टीभित्र कम अवसर पाएको व्यक्तिका रूपमा चिनिन्छन्।
नेपाली साहित्यमा स्नातकोत्तर पौडेल २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ सालको चुनावमा तनहुँबाट सांसद निर्वाचत भएका छन्। २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा भने नेकपा (एमाले)का उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए।
पौडेलले २०२७ सालमा नेविसंघको संस्थापक सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका थिए। २०१७ सालमा राजा महेन्द्रले राजनीतिक दलमाथि प्रतिबन्ध लगाउँदै सत्ता हातमा लिएपछि उनी पार्टी राजनीतिमा सक्रिय भएका थिए। पञ्चायतकालमा पटक पटक गरी १४ वर्ष जेल जीवन बिताएका छन्।
२०३३ सालमा बीपी कोइराला निर्वासनबाट फर्केपछि पौडेलले कोइरालाको नजिक रहेर काम गर्ने मौका पाएका थिए। उनी आफ्नो राजनीतिक आदर्श कोइराला रहेको बताउँदै आएका छन्।
२०५७ सालमा उपप्रधानमन्त्री सहित गृह तथा सञ्चार मन्त्रीको जिम्मेवारी पाएका पौडेल २०६३ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री भएका थिए। २०६२ सालमा पार्टीको महामन्त्री बनेका उनी २०६५ सालमा पार्टी संसदीय दलको नेतामा निर्वाचित भएका थिए। त्यति वेला उनी प्रधानमन्त्रीको उम्मेदवार बने पनि सफलता प्राप्त गर्न सकेनन्।
को हुन् सुवासचन्द्र नेम्वाङ?
२००९ फागुन २८ गते इलाममा जन्मिएका नेता नेम्वाङ विद्यार्थी छँदै राजनीतिमा सक्रिय भएका थिए। २०४८ सालदेखि संसदीय राजनीतिमा उत्रिएका नेम्वाङले २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म पहिलो कार्यकाल र २०७० फागुन ६ देखि २०७२ असोज २७ सम्म दोस्रो कार्यकालमा सभामुखको भूमिका निर्वाह गरेका थिए।
उनले २०६४ सालको पहिलो र २०७० सालको दोस्रो संविधान सभामा अध्यक्षको भूमिका समेत निर्वाह गरेका थिए।
उनी कानूनका जानकार पनि मानिन्छन्। उनले केही समय कानून व्यवसायीका रूपमा पनि काम गरेका थिए। सक्रिय राजनीतिमा आउनुअघि उनी नेपाल बार एशोसिएशनको महासचिव समेत भएका थिए।
२०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बनेका नेम्वाङ २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा भएका निर्वाचनमा इलामबाट निर्वाचित भएका थिए।
२०२९ सालमा अनेरास्ववियुका तर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका नेम्वाङ २०३३ सालमा पार्टी राजनीतिमा संलग्न भएका थिए। त्यति वेला उनी थुनामा रहेका थिए। थुनामा रहेकै वेला कोअर्डिनेशन केन्द्रमा आबद्ध भएका थिए।
२०५२ सालमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री समेत भएका नेम्वाङले संसद्को सार्वजनिक लेखा समितिको सभापतिको भूमिका निर्वाह गरिसकेका छन्। राजनीतिमा सक्रिय रहँदारहँदै उनले प्राध्यापन पनि गर्दै आएका थिए। २०३५ देखि २०५२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका थिए। उनका संविधान र कानून सम्बन्धी विभिन्न पुस्तक तथा लेखरचना प्रकाशित छन्।
पौडेलको पल्ला भारी
राष्ट्रपतिको उम्मेदवार बनेका दुवै नेता राजनीतिक रूपमा भद्र तथा शालीन व्यक्तित्वका रूपमा चिनिन्छन्। नेपालको संसदीय राजनीतिका जानकार समेत रहेका पौडेल र नेम्वाङले यसअघि सभामुखको भूमिका निर्वाह गरिसकेका छन्।
राष्ट्रपति निर्वाचनमा संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा प्रदेश सभाका सदस्यले मतदान गर्छन्। संघीय संसद्का सदस्यको मतभार ७९ छ भने प्रदेश सभा सदस्यको मतभार ४८ छ। कुल मतभारको बहुमत ल्याउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने संवैधानिक व्यवस्था छ।
निर्वाचन आयोगले संघीय संसद्का ३३२ सांसदको मतदाता नामावली सार्वजनिक गरेको छ। त्यस्तै, प्रदेश सभा सदस्यतर्फ ५५० जनाको नामावली सार्वजनिक भएको छ।
दुवै तहका ८८२ मतदाता संख्या हुन आउँछ। संघीय संसद् सदस्यको मतभार २६ हजार २२८ र प्रदेश सभा सदस्यको मतभार २६ हजार चार सय गरी ५२ हजार ६२८ हुन्छ। यसको बहुमत २६ हजार ३१५ हुन्छ।
यस अनुसार, अहिलेसम्म आठ दलको समर्थन पाएका पौडेललाई आवश्यक बहुमत पुग्ने देखिन्छ। आउँदो फागुन २५ गतेसम्म राजनीतिक समीकरणमा फेरबदल नआएमा पौडेल राष्ट्रपति निर्वाचित हुने निश्चित जस्तै छ।