देव र अर्जुनको शतकमा नेपाल २४३ रनले विजयी
कप्तान देव खनाल र अर्जुन कुमालले शतक प्रहार गरेपछि यू–१९ विश्वकप एशिया छनोटमा नेपालले कुवेतलाई २४३ रनले पराजित गरेको छ।
नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत १०० रनमै समेटिएको हो। कुवेतका लागि क्रिस्टफोर सल्धानाले २६, युसुफ शलिकले १९ र किशोरभाइ हिन्सुले १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि आकाश चन्दले ६, हेमन्त धामी र दीपेश कँडेलले दुई–दुई विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा ३४३ रन बनाएको थियो। नेपालका लागि कप्तान देव खनालले १२५ रन बनाए। खनालले ११७ बलमा नौ चौका र तीन छक्का प्रहार गरे।
त्यस्तै, अर्जुन खनालले १०८ रन बनाए। उनले ११२ बलमा १२ चौका प्रहार गरे। नेपालका लागि विशालविक्रम केसीले २३, दीपकप्रकाश डुम्रेले २०, दीपक बोहराले १९, आकाश त्रिपाठी, सुवास भण्डारी र दीपक कँडेलले दुई–दुई रन बनाए।
कुवेतका लागि शहिल कज्मी र हेनरी थोमसले दुई–दुई तथा हेबर अली र महेश्वरकुमार मेहताले एक–एक विकेट लिए।
नेपालले शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो। नेपालको अर्को खेल सोमबार हङकङसँग हुनेछ।