राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता
राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।
नयाँ बानेश्वरस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। आठ दलको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका छन्।
पौडेलको प्रस्तावकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का नारायणकाजी श्रेष्ठ, जनता समाजवादीका अशोक राई र जनमत पार्टीका अब्दुल खान रहेका छन्। त्यस्तै, समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कांग्रेसका उपाध्यक्ष पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र माओवादीका हितराज पाण्डे रहेका छन्।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत आठ दलका शीर्ष नेता सहित पौडेल उम्मेदवारी दर्ता गर्न पुगेका थिए।
गत मंसीर ४ गते सम्पन्न निर्वाचनमा पौडेल तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। आजै बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
यसअघि नेकपा (एमाले)को तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली सहित उनी प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।