सगरमाथा भाष्यको विपर्यास
एभरेस्ट भन्नुभन्दा सगरमाथा र चोमोलोङ्मा नाम प्रयोग गरेर दुर्कनले नेपाल र तिब्बतप्रति आत्मीयता देखाएका छन्।
हिमाल र हिमाली क्षेत्रको अध्ययनमा डेभिड दुर्कनको उपस्थिति सिर्जनशील तर अराजक प्रकृतिको छ। उनी स्थापित भाष्य मान्न तयार हुँदैनन्, बरु मूलधारभन्दा फरक विचार राख्छन्। हिमालबारेको उनको पहिलो पुस्तक पेन्गुइन्स अन एभरेस्ट यस्तै सोचाइले प्रेरित थियो। जसको सार भनेकै अन्टार्कटिकाको हिउँमा लस्करै उक्लिने र ओर्लिने पेन्गुइन जस्तै कैयौं अपरिपक्व आरोहीका कारण सगरमाथा आरोहणमा बढ्दो व्यापारीकरणप्रतिको आपत्ति हो।
नर्वे र नेपाललाई आफ्ना दुई घर मान्ने दुर्कनले पछिल्लो पुस्तक ग्लिम्प्सेस अफ एभरेस्टमा पनि सगरमाथामा बढ्दो मानवीय ज्यादतीलाई नै प्रमुख सवाल बनाएका छन्। उनको चिन्ता सगरमाथा आरोहणै हुनु हुन्न भन्नेमा होइन, बरु जोसुकैलाई जतिसुकै वेला चढ्न दिने व्यापारीकरण रोकिनुपर्छ भन्ने हो। उनी हिमाललाई इज्जत गर्छन् अनि हिमाली शेर्पा जनशक्तिको पनि सम्मान हुनुपर्ने ठान्छन्। समग्र हिमाल आरोहण अभियानलाई ‘हिमालयन इगो एक्सपिडिशन’ भनी व्यङ्ग्य गर्छन्। हिमालमा शवहरूमा टेकेर व्यापार गर्ने केही मान्छेको अहङ्कारले निर्दोष मान्छेहरू मारिएको तर्क गर्छन्।
सन् १९२१ मा भोटतर्फबाट भएको सगरमाथा आरोहणको पहिलो प्रयासदेखि सन् १९५३ मा नेपालतर्फबाट सम्भव भएको पहिलो आरोहणका क्रममा १५ जनाले ज्यान गुमाउनुपरेको तथ्याङ्कलाई उनी शवमा टेकेर पालिएको कीर्तिमानको आसक्तिको परिणाम ठान्छन्। सन् १९२२ मा दोर्जी शेर्पादेखि सन् २०२२ मा निग्मी तेन्जी शेर्पासम्म गरी सगरमाथामा ज्यान गुमाउने १२० नेपालीको नाम कालो अक्षरमा लेखेर त्यस्तो वातावरण बनाउनेहरूप्रति उनले आक्रोश व्यक्त गरेका छन्।
६ खण्डमा बाँडिएको पुस्तकको अन्तिम खण्डमा दुर्कनले एक कार्टून बनाएका छन् जसमा सगरमाथाको क्याम्प टूमा नेपाली शेर्पा सहयोगीले विदेशी ग्राहकलाई पिज्जा ल्याएर दिन्छन्। विदेशीले गुनासो गर्दै भन्छन्, ‘मैले प्याज मागेकै थिइनँ।’ सगरमाथामा कुन स्तरको कुरूप व्यापारीकरण भइरहेछ भन्ने दृष्टान्त हो यो।
नेपालमा विद्यालय बनाउने अभियानमा आउँदा खुम्बुको तेङ्बोचेमा एडमन्ड हिलरीसँग गफ गरेकोदेखि नर्वेको सान्डभिकास्थित आफ्नै घरमा माउन्टेन पत्रिकाको सम्पादनका रूपमा तेन्जिङ नोर्गेसँग लिएको अन्तर्वार्ताका प्रसङ्ग राख्दै दुर्कनले लेखेका छन्- उनीहरू जीवित हुन्थे त सगरमाथाको यो हदको व्यापारीकरणप्रति धेरै दुःखी हुने थिए। उनका अनुसार, तेन्जिङ बेलायतीभन्दा स्वीसलाई धेरै मन पराउँथे। बेलायती हेपाहा तर स्वीसहरू सहयोगी तथा नेपाली हिमाली समाजको भावना बुझ्ने खालका भएको उनको टिप्पणी थियो।
दुर्कनले दुनियाँमा मानिँदै आए जस्तो आठ हजार मिटरभन्दा अग्ला चुचुरा १४ वटा मात्र नभएर ३० वटा रहेको र तीमध्ये १८ वटा नेपालमै रहेको नयाँ तर्क उठाएका छन्। यसैका आधारमा १४ वटा हिमाल चढ्दैमा आठ हजार मिटर अग्ला सबै हिमाल चढेको मान्न नसकिने दाबी गरेका छन्। नेपालका यलुङकाङ, ल्होत्सेश्यार सहितका हिमाललाई पनि आठ हजारमाथिका चुचुरामा गनिनुपर्ने पक्षमा पैरवी गरेका छन्। सगरमाथाको ८७४९ मिटर उचाइको ‘साउथ समिट’ लाई बेग्लै चुचुरो मान्नुपर्ने तर्क पनि अघि सारेका छन्। तब अग्लाइमा यो चुचुरो पाकिस्तानको केटूभन्दा अगाडि आइपुग्छ।
सन् १९२४ को सगरमाथा आरोहणको प्रायोजन ‘जोन प्लेयर एन्ड सन्स’ चुरोट कम्पनीले गरेको प्रसङ्गले पुस्तकलाई थप रोचक बनाएको छ। उक्त कम्पनीले प्रायोजक भएको फाइदा उठाउँदै आरोहणपछि विभिन्न २० वटा चुरोट-कार्ड बनाएर आरोहणका विभिन्न प्रसङ्ग लेखेको थियो। दुर्कनले ती सबै विवरण पुस्तकमा उतारेका छन्।
सन् १९२४ को आरोहण दलमा जर्ज म्यालोरीले आफ्नो टोलीमा नोयल ओडेलको सट्टा एन्ड्रियू इर्भिनलाई राख्नुमा दुर्कनले दुई कारण दिएका छन्। एक, म्यालोरी र इर्भिन एकै सामाजिक पृष्ठभूमिका भएर। दुई, ओडेल म्यालोरीभन्दा हेभिवेट तथा इन्जिनीयर, वैज्ञानिक र बाहिरिया थिए।
एभरेस्ट भन्नुभन्दा सगरमाथा र चोमोलोङ्मा नाम प्रयोग गरेर दुर्कनले नेपाल र तिब्बतप्रति आत्मीयता देखाएका छन्। लेखकका यावत् तर्क, तथ्य र प्रसङ्गहरूले हिमाल, हिमाली वातावरण, सगरमाथा र नेपाली हिमाली पर्यटन अनि समाजबारे आइरहेका मूलधारका भाष्यभन्दा पृथक् स्वाद दिन्छन्।
धेरै अध्यायहरूमा सन्दर्भसामग्री नखुलाइएकाले कतिले पुस्तकलाई प्राज्ञिक अध्ययनका दृष्टिले बलियो स्रोत नमान्न सक्छन्। तर, हिमाली क्षेत्रको जानकार अनि माउन्टेन म्यागेजिनका पूर्व कन्ट्रिब्युटिङ सम्पादकका रूपमा दुर्कनको गहिरो विषयगत अनुभव रहेकाले विश्वसनीयतामा शङ्का गर्नुपर्ने कारण खासै छैन।
पुस्तक: ग्लिम्प्सेस अफ एभरेस्ट, प्रकाशक: स्वामी कैलाश पब्लिकेशनस्, मूल्य: ६५०।-, पृष्ठ: १४०