राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङको उम्मेदवारी दर्ता
राष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्।
शनिबार मध्याह्न नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली लगायत एमाले नेताहरू निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
नेम्वाङको प्रस्तावकमा एमाले अध्यक्ष ओली, नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुवीर महसेठ र छविलाल विश्वकर्मा रहेका छन्। त्यस्तै, समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन्।
पूर्व सभामुख नेम्वाङ इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। आजै बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।