सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय
नेकपा (एमाले)ले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमाले नेता योगेश भट्टराईले बताए।
एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए। त्यसलाई सर्वसम्मत पारित गरिएको हो।
गत पुस १० गते भएको सत्तारूढ गठबन्धन सहमति अनुसार नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। “पुस १० गतेको सहमति अनुसार हाम्रो पार्टीबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेका छौं,” सुब्बाले भने।
आफ्नो उम्मेदवारलाई जिताउन सबै दललाई सहमतिमा ल्याउने प्रयत्न गर्ने उनको भनाइ छ। “कांग्रेसले आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको छ। त्यसैले कांग्रेस बाहेक सबै पार्टीलाई सहयोगका लागि पत्राचार गर्ने निर्णय गरेको छ,” सुब्बाले भने।