राष्ट्रपतिको चुनावका लागि आज उम्मेदवारी दर्ता गरिंदै
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्न लागिएको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन्।
राष्ट्रपतिको उम्मेदवार बन्न पाँच-पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानूनी व्यवस्था छ। मुलुकको सर्वोच्च पद राष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ।
राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधि सभा तथा राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ। राष्ट्रपति निर्वाचनको मतदाताको संख्या संघीय संसद्को ३३२ र सातै प्रदेशका प्रदेश सभा सदस्यको ५५० गरी ८८२ कायम छ। संघीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ।
संघीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानूनले अयोग्य नभएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछ। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संवैधानिक व्यवस्था छ।
राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा संघीय संसद् सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछन्। विगतका अरू निर्वाचनका तुलनामा यो निर्वाचन अझ स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित र व्यवस्थित ढङ्गले सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।
राष्ट्रपतिको उम्मेदवार तय गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको र नेकपा (एमाले)ले सचिवालयको बैठक बोलाएको छ। फागुन १२ गते बसेको आठ दलको बैठकले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।