उपराष्ट्रपति जसपालाई दिने सैद्धान्तिक सहमति!
उपराष्ट्रपति आफ्नो पार्टीलाई दिने सैद्धान्तिक सहमति भएको जनता समाजवादी पार्टी (जसपा)ले जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको आठ दलको बैठकबारे जानकारी दिंदै जसपा अध्यक्ष उपेन्द्र यादवले भने, “राष्ट्रपतिमा कांग्रेसलाई र उपराष्ट्रपतिमा जसपाका उम्मेदवारलाई सघाउने सहमति भएको छ।”
जसपाले उपराष्ट्रपति पाउने सैद्धान्तिक सहमति भएको र आफ्नो पार्टीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
आठ दलको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेता सहभागी रहेका थिए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति कांग्रेसलाई दिनुपर्ने प्रस्ताव गरेका थिए। त्यसलाई आठै दलका नेताहरूले समर्थन जनाएका हुन्।
उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदै छ। त्यसका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ।