धिपधिपाउँदो दियो
जनवादी गीत र तिनका कलाकारलाई राजनीतिक आन्दोलनमा लट्ठीका रूपमा उपयोग गरेका नेताहरूले आन्दोलनको सफलतासँगै सत्तामा पुगेपछि बिर्सिदिए।
२०७८ माघ, पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एउटा साङ्गीतिक ब्यान्डले केही गीत गायो। त्यसअघि मैले पत्रपत्रिका, एफएम वा टीभीतिर यी गायक-कलाकारको नाम सुनेकै थिइनँ। यूट्युबतिर कतै यिनको अस्तित्व हुँदो हो, ध्यान दिएको थिइनँ। कार्यक्रममा उनीहरूले केही यस्ता गीत गाए जुन अहिले सार्वजनिक मञ्चहरूमा सुनिन छाडेको छ।
गएको तीजमा कास्कीबाट आएर काठमाडौं बस्ने एमाले निकट राजनीतिक व्यक्तिहरूको सम्पर्क मञ्चले आयोजना गरेको तीज कार्यक्रममा म पनि पुगेको थिएँ। गीत बज्यो, ताली बजाइरहेको मलाई पनि कसैले तानेर नाच्न लगायो। गीतका शब्द राम्ररी बुझीरहेकै थिइनँ। सुन्दै जाँदा ‘मायालुले आऊ भन्छ सुटुक्क जाऊँ कि नजाऊँ भो...’ यस्तै केही गाए जस्तो लाग्यो।
म स्वयं लज्जित हुँदै अनुहार रातो पार्दै बाहिरिएँ। मलाई केही महीना पहिले ‘कमरेडले लिइसेको पच्छ्यौरी’ शीर्षकमा नयाँ पत्रिकामा लेखेको आफ्नै निबन्धको हुर्मत लिए जस्तो अनुभूति भयो। अर्थात् समाज रूपान्तरणका गीत-सङ्गीत होइन, अब कम्युनिष्ट पार्टी र उसका जनसंगठनमा प्रेम र वियोगका परम्परागत गीतमा बढी यौन घोलेर गाउन थालिएको छ। प्रेमका गीत गाउनै हुन्न भन्ने पटक्कै होइन, तर संगठन एउटा उद्देश्य भन्छ, कलाले अर्कै काम गर्छ भने प्रश्न त उठ्छ नै।
राजनीतिक आन्दोलनबाट हुर्केकाहरूलाई यस्तो गीतले चसक्क घोच्छ। कमसेकम सार्वजनिक मञ्च या संगठनका कार्यक्रममा गाइने/बजाइने गीत-सङ्गीतले समाजमा विद्यमान विभेद र शोषणका अनेक रूप उधिन्दै साधारण मानिसले दैनन्दिन जीवनमा भोगिरहेका कष्टका कारण र निरूपणका उपाय सिकाऊन् भन्ने लाग्छ।
पोखराको उक्त कार्यक्रममा भने चाहे जस्तै फरक शैली र विचारका गीत सुन्न पाइयो। साङ्गीतिक समूहको नाम रहेछ- सङ्गम। त्यति वेलै समूहका कलाकारतर्फ मेरो ध्यान तानिए पनि उनीहरूसँग प्रत्यक्ष भेट्न भने आठ महीनापछि गत भदौ अन्तिम साता मात्र सम्भव भयो। मैले उनीहरूलाई भेट्न चाहनुको अर्को कारण पनि छ। पञ्चायतकालमा हामीलाई सबैभन्दा बढी प्रभावित पारेका गीत तथा सङ्गीत सङ्कल्प समूहका थिए। रामेश र मञ्जुलहरूको यो समूह नेपालमा जनवादी गीत गायनका क्षेत्रमा अग्रणी थियो।
तत्कालीन नेकपा (माले)को संगठन निर्माण र विस्तारमा यसको महत्त्वपूर्ण योगदान छ। हामीलाई जुरुकजुरुक उचाल्ने क्षमता थियो उनीहरूका गीत-सङ्गीतमा। सङ्कल्पमा श्याम तमोट, जेबी टुहुरे, शम्भु राई, लोचन भट्टराई, चेतनारायण राई, आभास लगायत अनेक कलाकार र स्रष्टाको योगदान थियो। अर्कातिर, तत्कालीन नेकपा (मशाल) समूह निकट थिए रायन, खुशीराम पाख्रिन।
यस्तै, जीवन शर्माहरूको समूह पनि थियो। खुशीरामको मृत्यु भइसकेको छ। मणि थापाले आफैंलाई यो कर्मबाट टाढा राखेका छन्। अहिले जीवन मात्रै यो पुरानो सानो झरनाको सुसेली सुसाइरहेका सुनिन्छन्।
केही महीना पहिले पत्रकार प्रकाश आस्थाले एउटा गीतको भिडिओ ‘क्लिप’ देखाए। त्यसमा रामेशको स्वर थियो। राष्ट्रप्रेम झल्किएको उक्त गीतमा तस्वीरहरूको लहरमा राजेन्द्र लिङ्देनलाई पनि देशभक्त र राष्ट्रवादी नेताका रूपमा देखाइएको थियो। पछि कुनै अन्तर्वार्तामा रामेश राजा महेन्द्रको प्रशंसा गर्दै अहिलेको राजनीतिक नेतृत्वलाई लाञ्छना लगाइरहेका भेटिए। लाग्यो, क्रान्तिको एउटा विम्ब ढल्यो। हाम्रो सांस्कृतिक-वैचारिक धरातल अलि बढी नै भासिएको अनुभव भयो।
यसै पनि राजनीतिक नेतृत्वले थिलथिलो पारेर सडकमा मिल्काएको विचारको झिल्को बोक्नुपर्ने संस्कृतिकर्मीहरू यसरी वैचारिक रूपमा पतन भएको देखिनु आफ्नै इतिहासप्रति लज्जित हुनु समान हो।
यही सेरोफेरोमा भेटिएका थिए, काजी गाउँले र विकास लुँगेलीहरू। भिन्नाभिन्नै ठाउँबाट पोखरा आई जीविकाका लागि विभिन्न पेशा गर्दै बसेका यी दुवै जना र तिनलाई साथ दिनेहरूको समूह अहिले पनि आम मानिसका दुःख र संघर्ष, समाजमा विद्यमान विभेद र दमन तथा त्यसका कार्यकारण सम्बन्ध झल्काउने गीत गाइरहेका छन्।
भिन्न भिन्न पारिवारिक, शैक्षिक र पेशागत पृष्ठभूमिका र राजनीतिक रूपमा भिन्न दलप्रति झुकाव राख्ने यी कलाकार/सर्जकहरूमा एउटा समान मान्यता भेटिन्छ- यो देशमा सरकारहरू अनि व्यवस्था फेरिँदा पनि आम मानिसको जीवनमा तात्त्िवक अन्तर आएको छैन। श्रम गरेर खाने वर्ग अहिले पनि श्रमको उचित मूल्य पाउँदैन। देशभित्र रोजगारी नपाएर एक मानो खान र आङ ढाक्ने व्यवस्थाकै लागि मानिसहरू गाउँ र परिवार छाडेर परदेशिएका छन्। तिनको जीवनमा परिवर्तन ल्याउन अझै आन्दोलन र अभियानहरूको आवश्यकता छ।
परम्परागत राजनीतिक भाष्यमा यो जनवादी या प्रगतिशील चेतना र कर्म हो। सत्तामा जाने राजनीतिक यात्रीले आम जनतालाई बाटैमा गिटी कुट्न छाडेर महलतिर गए पनि यी कलाकारले आफ्नो निष्ठा गिटी कुट्नेकै पक्षमा कायम राखेका छन्। कहिलेकाहीं कसैले बोलायो भने यिनीहरू आफ्नै खर्चमा पनि गाउँ पुगेर गीत गाउँछन्ः
अँध्यारा ती झुपडीमा दीप बाल्नुपर्छ,
विभेदकारी शासनको जग ढाल्नुपर्छ
फार्नुपर्छ काला बादल रक्तिम किरण छर्न
च्यात्नुपर्छ काला कानून समानता ल्याउन
...
मिर्मिरे उज्यालो भयो, ब्युँझी उठ धर्तीमा घाम लाग्यो।
समूहको निश्चित कार्यालय छैन। गोरखाबाट पढ्न र काम गर्न काठमाडौं पुगेपछि विभिन्न हन्डर खाँदै गीत-सङ्गीतमा लागिरहेका काजीले पोखरा पुगेर घरजम गरे। विकास पनि सिन्धुली, सर्लाही, काठमाडौं हुँदै पोखरा पुगेका हुन्, दालभातको जोहो गर्न। उनीहरू कुनै गीत पाएपछि या आफैंले लेखेपछि शिवालय चोकनिरको आफ्नो हार्डवेयर पसलमा बस्छन्, एउटा कुनामा ‘रियाज’ गर्छन् र लय भर्छन्।
अनि पोखराका वामपन्थी दल या संस्थाले बोलाएपछि गएर गाइदिन्छन्। यिनीहरूका केही साझा काम पनि छन्। यताउता काम गरेर पनि निश्चित समयमा या आवश्यक ठानिएका वेला जम्मा हुन्छन् र कीबोर्ड, हार्मोनियम, मादल, तबला र बाँसुरी लिएर शब्दलाई जीवन दिन्छन्।
यो समूहका कतिपय गीत राजनीतिक चेतनामा आलाकाँचा पनि देखिन्छन्। खास गरी राष्ट्रवादी भावनाले ओतप्रोत भएर रचिएका गीतमा अतिरञ्जना र भावुक देशभक्ति बढी देखिन्छ। अन्य गीतमा भने सामान्य जनका भाका र लयमा उनीहरूका दुःखसुख, महँगीको मार, गरीबी, शोषणको विरोध तथा सरकार र राजनीतिक दलहरूको भ्रष्ट र जनविरोधी क्रियाकलाप विरुद्ध आक्रोश व्यक्त गरिएका नै हुन्छन्।
काजी गाउँलेको बिहे पाँच रुपैयाँमा आफ्नै सहकर्मीसँग भएको हो, मञ्च विवाह। विकासले पनि उसै गरेका हुन्। सरल जीवन र जनताप्रतिको उत्तरदायित्वले ओतप्रोत देखिने यी कलाकार समाज रूपान्तरणको सपना देख्छन् र आफ्नो कलालाई व्यापारको वस्तु नबनाएर जनताको सेवामा लगाउन चाहन्छन्।
कुनै वेला जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक समूहमा थिए, काजी। विकास भने इन्द्रेणी सांस्कृतिक समूह (इसास)मा सक्रिय थिए। पछि दुवै समूहबीच एकता भयो। यसरी दुई धार तर एउटै मतो भएका समूह जोडिँदा यी दुई र नजिकका अन्य साथी सङ्गम समूह बनाएर सहकार्यमा लागे। विकास पोखरामा खाजा पसल चलाउँथे, रङरोगन लगाउने मजदूरीको काम गर्थे। त्यसले पनि जीविका नभएपछि एक पटक कतार हानिए। फर्केर फेरि पुरानै काम गर्न थाले।
भाग्यवादी सामन्ती संस्कृति
जीवन जगत् बिगार्ने विकृति
पूर्वजन्म पाप गरेको कसलाई थाहा हुन्छ
मानिसले मानिसलाई छोई अछूतो कहाँ हुन्छ
अन्धविश्वास समाजको वैरी
फाल्नै पर्छ कुसंस्कार संस्कृति।
यसरी उनीहरू रूढिवादी संस्कृति र सामन्तवादी परम्पराका विरुद्ध धावा बोल्छन्, चेतना फैलाउँछन्। वास्तवमै उनीहरूको समूह नाम सङ्गम जस्तै विभिन्न खोल्साबाट बग्दै आएर दोभानमा मिसिएको साना साना मूलको पानी जस्तै लाग्छ। सङ्लो र शीतल। समूहका अन्य कलाकारमा खेम लामा, चियङ चुङ तमु, अमर थापा, सिमोन थापा, आर्यन थापा, हनोक लायो मगर, शान्ति बलम्पाकी, सिर्जना थापा, कमला श्रेष्ठ, सरु श्रेष्ठ, डिबी बान्तवा, वीरेन्द्र सूर्यवंशी लगायत छन्।
शान्ति विकासकी अनि सिर्जना काजीकी पत्नी हुन्। तिनलाई रुपिन्द्र प्रभावी, नारायण बाँस्तोला, ओमविक्रम ओझा, सुरज उपाध्याय लगायतले रचना दिएर साथ दिएका छन्। रुपिन्द्र कास्कीकै एउटा माविमा प्रधानाध्यापक छन्। नारायण उद्यमी हुन्।
असारे मास किसानको खेत
रोप्दिने कोही छैन
न हली गोरु, रोपाहार बाउसे गाउँभरि पाइँदैन
सक्षम युवा अरबका खाडी मुग्लान छिर्दै छन्
ती बूढाखाडा अशक्त प्रायः गाउँघर कुर्दै छन्।
यो हाम्रो समयको नेपाली गाउँघरको चित्र हो। उनीहरू यस्तै यस्तै गीतबाट आम मानिसका भावना व्यक्त गर्छन्, पूरा राजनीतिक चेतनाका साथ। यस्ता समूह जति धेरै र लोकप्रिय हुन्छन् त्यति नै राज्य र राजनीतिक नेतृत्वलाई जनताका पक्षमा काम गर्न दबाब सिर्जना हुन्छ।
-कमलबहादुर श्रेष्ठको सहयोगमा
(सुवेदी लेखक तथा राजनीतिक विश्लेषक हुन्। हिमालको २०७९ फागुन अंकबाट।)