‘बागमती त मरिसकेको छ’
‘हामीले हेर्नुपर्ने खोलानदी सानातिना कीराफट्याङ्ग्रा, माछा, हाँस जिउने ठाउँ हो। उनीहरूको वासस्थान प्रदूषित मात्र गरेका छैनौं, मारेका छौं।’
बेलायतमा बसेर नेपाली भाषामा कलम चलाउँदै आएका विजय हितान पूर्व गोर्खा सैनिक हुन्। लामो समयदेखि विदेशमा बसेर साहित्य सिर्जनामा तल्लिन हितान विशेष गरी पर्यावरण सम्बन्धी लेख्छन्। उनको पर्यावरणमा केन्द्रित रहेको पुस्तक ‘ब्लु प्लानेट’ ले प्रसंसा बटुलेको छ।
कथा संग्रह ‘ब्लु प्लानेट’ सँगै लेखन र वर्यावरण साहित्यमा केन्द्रित रहेर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा लेखक हितानसँग सम्झना विकले गरेको कुराकानी:
पूर्व गोर्खा सैनिक हुनुहुन्छ। लेखनतर्फ कसरी आकर्षित हुनुभयो?
मैले बेलायतमा १० वर्ष नोकरी गरें। सेवानिवृत्त भएपछि मात्र वातावरणीय विज्ञानमा स्नातक गरें। त्यसपछि बेलायतबाटै स्नातकोत्तर पनि गरें।
विश्वविद्यालयको अध्ययन पूरा गरेपछि आफूले आर्जेको ज्ञान साहित्य मार्फत पाठक समक्ष पुर्याऊँ भनेर सन् २००० देखि लेखनमा लागेको हुँ। उच्च शिक्षा नै मेरो लेखनको आधार भयो।
पर्यावरण सम्बन्धी कथा समेटेर ब्लू प्लानेट पुस्तक ल्याउनुभएको छ। यो नाम कसरी जुराउनुभयो?
ब्लू प्लानेट पर्यावरणका कथाको किताब हो। पर्यावरण साहित्य भन्छु म। कतिपय साथीहरूले नाम सुन्दा ‘यो त अंग्रेजीको किताब रहेछ’ भन्नुहुन्छ।
ब्लू प्लानेट चर्चित डकुमेन्ट्री हो। डेभिड एटनब्रगले पृथ्वी सम्बन्धी बनाएको ठूलो डकुमेन्ट्री हो। त्यसैबाट प्रभावित भएर मेरो कृतिको नाम पनि ब्लू प्लानेट राखेको हुँ।
यसमा समेटिएका सबै कथा वातावरण सम्बन्धी छन्। कसरी छनोट गर्नुभयो?
यसको पृष्ठभूमि मेरो पढाइसँग जोडिएको छ। फेरि मेरो काम पनि वातावरण सम्बन्धी नै भयो। अहिले जलवायु परिवर्तन, पृथ्वीको बढ्दो तापक्रम, जैविक विविधतामा ह्रास, वायु प्रदूषण लगायत थुप्रै पर्यावरणीय समस्या छन्। ती समस्यालाई कथा मार्फत नेपाली पाठकलाई दिन खोजेको हुँ। त्यसैले वातावरणसँग सम्बन्धित १५ कथा राखेको छु।
किताबमा विकासले निम्त्याएको विनाशबारे पनि लेख्नुभएको छ। त्यस्तो केही अनुभव छ?
नेपालसँगै विश्वमा विकास भइराखेको छ। बाटो, भवन, विमानस्थल बनाउँछौं, तर यसले प्रकृतिमा विनाश निम्त्याएको छ। एउटा उदाहरण नेपालकै छ। पहाडी पहरालाई डोजरले खनेर, भत्काएर बाटो पुर्याएका छौं। जब मनसुनले वर्षा गराउँछ, वर्षाले माटो पल्टाएर खोलामा लैजान्छ। खोलामा बाढी आउनुको प्रमुख कारण ढुङ्गा, माटो खोलामा मिसिएर हो।
त्यो बाढीले पुल भत्काउँछ, बस्तीमा पस्छ र क्षति पुर्याएको हुन्छ। त्यो विकासले निम्त्याएको विनाशको ठूलो उदाहरण हो। मेरो किताबभित्र ‘पहिरो’ भन्ने कथा छ। वडाध्यक्षले बाटो बनाउने निर्णय गर्छ। सरकारी पैसा आउँछ। त्यसका लागि ईआईए गरिंदैन। जब मनसुन शुरू हुन्छ, अनि वडाध्यक्षकै घरमाथि पहिरो आउँछ। किनभने बाटो वडाध्यक्षकै घरमाथि लगिएको हुन्छ।
त्यही पहिरोमा परेर वडाध्यक्षको मृत्यु हुन्छ। त्यो कथाले दिएको सन्देश हो- आधुनिक विकासले निम्त्याएको विनाश।
बागमतीमा ढल मिसाएर दुर्गन्धित बनाएको विषय पनि उठाउनुभएको छ। यसलाई कसरी सफा गर्न सकिन्छ? तपाईं त लामो समयदेखि विदेशमा बसिरहनुभएको छ। विदेशतिरको केही अनुभव छ कि?
बेलायतमा इन्भायरोमेन्ट एजेन्सीमा काम गर्छु। त्यसको काम भनेको ढललाई सुरक्षित साथ वैज्ञानिक तरीकाले प्रशोधन गर्ने, प्रशोधित भइसकेको तरल पदार्थलाई पानीमा मिसाउने गरिन्छ। जहिले पनि काठमाडौं आउँछु, सबैभन्दा बढी ध्यान बागमतीले नै तान्छ। बागमतीको आफ्नै इतिहास छ, काठमाडौंको सभ्यता बोकेको छ। यस्तो नदीमा घर, उद्योगबाट निस्किएको तरल पदार्थलाई प्रशोधन विना मिसाएका छौं।
पहिला त बागमती नै मरिसकेको छ। हामीले हेर्नुपर्ने खोलानदी सानातिना कीराफट्याङ्ग्रा, माछा, हाँस जिउने ठाउँ हो। उनीहरूको वासस्थान प्रदूषित मात्र गरेका छैनौं, मारेका छौं।
अब त्यसलाई कसरी सुधार्न सक्छौं भने सबभन्दा पहिले ढलको सञ्जाल हुनुपर्ने हो। चर्पीबाट गएको पानी प्रशोधन केन्द्रमा जानुपर्यो। प्रशोधित भइसकेपछि मात्र त्यो तरल पदार्थ बागमतीमा बगाउनुपर्यो। त्यो गरियो भने बल्ल बागमती सफा हुन्छ।
प्रायः पर्यावरणकै विषयमा लेखिरहनुभएको छ। किन पर्यावरण नै रोज्नुभयो?
साहित्यिक लेखनका धेरै विधा छन्। प्रेम, राजनीति, सामाजिक संस्कार, कुरीति, धर्म, पहिचान लगायत थुप्रै छन्। यो पर्यावरणको विषय बेलायत, अमेरिका, यूरोपमा फस्टाएको छ। उनीहरू पर्यावरणका विषयमा लेख्छन्। हाम्रोमा पर्यावरणबारे चिन्ता गर्ने, लेख्ने साहित्यकार एकदमै कम छन्। पर्यावरण जुन हिसाबले क्षतिग्रस्त छ, त्यो त दिनहुँ अनुभव गरिरहेका छौं।
काठमाडौंमा वायु प्रदूषणको समस्या छ। जता गयो, त्यतै धूलो छ। पानी पर्यो भने हिलैहिलो हुन्छ। हरियो पार्क छैन। त्यसले गर्दा त्यो ‘इस्यू’ र मेरो आफ्नै अध्ययनले पर्यावरणबारे लेख्न उत्साहित गर्यो।
किताबमा पनि जलवायु परिवर्तनको प्रभावबारे लेख्नुभएको छ। जलवायु परिवर्तनको असर कस्तो छ?
जलवायु परिवर्तनको असर विश्वभरि नै छ। जलवायु परिवर्तनका कारण समुद्रको सतह बढ्दै जाँदा माल्दिभ्स र बाङ्लादेश समस्यामा परेका छन्। समुद्रको तटीय क्षेत्रका बस्ती डुबानको अवस्थामा छन्। समुद्री सतह बढ्दै गएकाले आगामी दुई-तीन दशकमा माल्दिभ्स डुब्ने अवस्था पुग्न सक्ने अनुमान गर्न थालिएको छ। जलवायु परिवर्तनले लामो समयसम्म खडेरी पर्ने, पानी पर्यो भने ठूलो पानी पर्ने, हिमपात हुने र पहिरो जाने हुन्छ।
नेपालमा जलवायु परिवर्तनको असर कसरी हेरिरहनुभएको छ?
जलवायु परिवर्तनले नेपाललाई पनि जोखिममा पारेको छ। नेपालमा हिमशृङ्खला भएकाले हिमालमा हिउँ परेन भने खोलानाला सुक्दै जान्छन्। नदीबाट विद्युत् उत्पादन गरिरहेका छौं। पानी नै नभएपछि विद्युत् उत्पादन घट्दै जान्छ।
अहिले पनि जलवायु परिवर्तनले वायुमण्डल तातेको छ। तातो हावाले गर्दा हिमाल पग्लिएको छ। हिउँ जम्ने प्रक्रिया भन्दा पग्लने बढी भएको छ।
जलवायु परिवर्तनको असर त सूक्ष्म हुन्छ। यसबारे लेख्न कति जटिल छ?
जसलाई यो सम्बन्धी ज्ञान छैन, त्यसलाई सूक्ष्म छ भन्ने गरिन्छ। जसले यसबारे अध्ययन गरेका छन्, दिनदिनै असर देख्नुहुन्छ। जलवायु परिवर्तन वैज्ञानिक विषय हो। अलिकति विज्ञानको नजरले हेर्नुपर्छ। तीन-चार महीना भयो काठमाडौंमा पानी परेको छैन, तुवाँलो लागिरहेको छ। यी विषयमा सचेत हुनुहुन्छ भने जलवायु परिवर्तनको असर सूक्ष्म छैन।
एउटा लेखका रूपमा लेखिन्छ। त्यसलाई साहित्यका रूपमा कविता, गजल, कथा-उपन्यासका रूपमा ल्याउन जटिल छ। यी विषयमा लेख्नुहुन्न भने गाह्रो विषय हो।
पर्यावरण बाहेक अरू विषयमा पनि लेख्ने गर्नुभएको छ?
पूर्व बेलायती गोर्खा सैनिक भएकाले युद्ध, शान्ति सम्बन्धी पनि लेख्छु। युद्ध साहित्य सम्बन्धी एउटा उपन्यास आउँदै छ। म पर्यावरणसँगै युद्ध र शान्तिबारे पनि लेख्छु।
कथामा तपाईंले आफूलाई पनि पात्र बनाउनुभएको छ। यो कति यथार्थमा आधारित छ?
लेखकले जहिले पनि आफूलाई कथामै समावेश गरेको हुन्छ। कुनै पनि सिर्जना, कविता, कथा भनेकै लेखकको आफ्नो अनुभव हो नि। आफ्नै अनुभव भए पनि कहिलेकाहीं पात्र तेस्रो-चौथो व्यक्ति राखिन्छ। लेखकको आफ्नै नाम जस्तै मेरो फेसबूकको नाम ब्रायन छ। एउटा कथामा ब्रायन ‘मेन्सन’ गरेको छु, ‘पर्यावरण शहीद’ मा। यो पर्यावरणको कथा भएकाले एउटा पात्रको नाम नै पर्यावरण छ।
अर्को, पर्यावरण साहित्य मात्र होइन, संरक्षणको काम पनि गरिराखेको छु। चितवन राष्ट्रिय निकुञ्जको बाघलाई १२ वर्षसम्म ‘एडप्ट’ गरें। म ‘वर्ल्डवाइल्ड फन्ड फर नेचर’ को सदस्य छु। सदस्य भए बापत महीनामा निश्चित रकम कटाउँथे। त्यो पैसा चितवन राष्ट्रिय निकुञ्जमा बाघ संरक्षणमा खर्च हुन्थ्यो। नेपालका जनावरलाई ‘एडप्ट’ गर्ने बेलायत र अमेरिकामा कैयौं छन्।
अहिले बाघलाई छोडेर रेड पान्डालाई ‘एडप्ट’ गरेको छु। रेड पान्डा नेटवर्क नेपालसँग मिलेर ‘एडप्ट’ गरेको हुँ। त्यससँगै वातावरण, जैविक विविधता संरक्षणमा पनि संलग्न भइरहेको छु।
किताबमा रेड पान्डा संरक्षण कोषका विषयमा पनि लेख्नुभएको छ। ब्रायनको २५औं वैवाहिक वर्षगाँठमा संरक्षण कोषमा एक लाख राख्ने कुरा गर्नुभएको छ। यसबारे थप केही जानकारी दिन सकिन्छ?
‘ब्लू प्लानेट’ मा एउटा कथा छ, ‘वार्षिक उत्सवमा रेड पान्डा’। यो वास्तविक घटनामा आधारित हो। मेरो २५औं वैवाहिक वर्षगाँठको दिनदेखि रेड पान्डालाई ‘एडप्ट’ गर्न शुरू गरेको हुँ। मेरो मासिक तलबबाट निश्चित रकम रेड पान्डा नेटवर्कमा काटिन्छ। यो वास्तविक हो।
तपाईंले सिर्जना गरेका कथामध्ये सबैभन्दा मन परेको पात्र कुन हो?
मन परेका पात्र थुप्रै छन्। दुई वास्तविक घटनामा आधारित छन्। एउटा गैंडालाई चार वर्ष, अर्का पर्यावरण शहीद। एक जना साथी कमलजंग कुँवर हुनुहुन्छ। गैंडा संरक्षणमा काम गर्नुभएको छ। गैंडा संरक्षणमा काम गर्दा उहाँ जेल समेत पर्नुभएको छ। यो कथामा एकजना बुदया भन्ने थारू समुदायका सुराकी हुन्छन्। दिनमा कवाडी सङ्कलन गर्छन्, घर घरमा गएर। उनले चोरीशिकार गर्ने मान्छेबारे कमलजंगलाई सूचना दिन्छन्। त्यो पात्र मलाई एकदमै मन परेको हो।
विदेशमा बसेर लेखिरहनुभएको छ। देश बाहिर बसेर लेख्दा देशको कुराले कति छुने रहेछ?
मलाई त राजनीतिक, धार्मिक, पहिचानको कुरा, सामाजिक विसङ्गति, अर्थतन्त्र सबैले छुन्छ। सबैभन्दा छुने नेपालको पर्यावरणले हो। यहाँको वातावरण, प्रदूषित हावा, बाहिर शहर-बजारमा घुम्न गयौं भने फोहोरमैला, प्लास्टिक जताततै छ। काठमाडौंकै दृश्य हेर्दा पनि प्रदूषण, बिजुली र टेलिफोनको तार गुजुल्ट्याएर राखिएको छ। यी सबै त भए। यससँगै लेख्ने चासो विषय नै पर्यावरण हो।
विदेशमा बसेर देश कस्तो देखिंदो रहेछ?
बेलायतको भोगाइ छ, देशको माया त लाग्छ। यहीं जन्मियौं, यहीं हुर्कियौं। आमाबाबा, साथी सबै यतै छन्। मैले गर्ने साहित्यिक कर्म नेपाली नै हो। फेरि भोगाइ बेलायतको छ। पहिलो विश्वमा बसेर काम गरिरहेको छु। उताको सोचाइ धेरै अगाडि छ। नेपाल पनि त्यही स्तरमा कहिले आउला भन्ने लाग्छ। मातृभूमिको चिन्ता र चासो लागिहाल्छ।
नेपाली साहित्यका किताब कत्तिको पढ्नुहुन्छ?
नेपाली साहित्य लेखन गर्ने भएकाले नेपाली साहित्यकारले लेखेका किताब पढ्छु। जलवायु परिवर्तन भन्ने कुरा वैज्ञानिक र पश्चिमबाट आएको अवधारणा हो। त्यसबारे बोल्न जानकारी त हुनुपर्यो। यस सम्बन्धी किताब पनि पढ्छु। विज्ञानबारे लेखिएका पेपर, किताब पढ्नैपर्यो।
आगामी लेखनको योजना के छ?
पर्यावरण सम्बन्धी दुई वटा पुस्तक तत्कालै आउँदै छन्। ‘ब्लू प्लानेट’ लाई अंग्रेजीमा अनुवाद गरिसकेको छु। त्यसको अंग्रेजी भर्सन आउँदै छ। पर्यावरण साहित्य सिर्जना र सिद्धान्त भनेर पुस्तक आउँदै छ। त्यसमा प्रा.डा. गोविन्दराज भट्टराईसँगको सहसम्पादनमा सिद्धान्तका कुरा निकाल्दै छु।
पर्यावरण विज्ञान नेपालका विश्वविद्यालयमा पढाइ हुँदै छ। विद्यार्थीका सन्दर्भ सामग्री अंग्रेजी लेखकले लेखेका मात्र छन्। नेपाली विद्यार्थीलाई सजिलो होस् भनेर नेपाली भाषामा पर्यावरण साहित्य सिर्जना र सिद्धान्त पुस्तक निकाल्दै छौं। त्यसपछि युद्ध साहित्य सम्बन्धी उपन्यास पनि आउँछ।