सन्दीपलाई मिलेन विदेश जाने अनुमति
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिन अस्वीकार गरेको छ।
सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। लामिछानेको रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कुनै आदेश गर्न आवश्यक नभएको जनाएको छ। यसमाथि थप सुनुवाइपछि मात्रै अनुमति दिने कि नदिने ठहर हुने भएको छ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘उच्च अदालतको आदेश उपर यस अदालतको संयुक्त इजलासमा सुनुवाइ प्रक्रिया विचाराधीन रहेको अवस्थामा सो प्रतिवेदन उपरको सुनुवाइ कार्य बाँकी राखेर अहिले प्रतिवादी सन्दीप लामिछानेको निवेदन माग अनुसार यस एकल इजलासबाट कुनै आदेश जारी गर्नु मनासिव देखिएन।’
नेपालले अर्को सातादेखि यूएईमा त्रिदेशीय शृङ्खलामा प्रतिस्पर्धा गर्दै छ। यूएई र पपुवा न्यूगिनीसँगको शृङ्खलाका लागि नेपाली टोली शनिबार त्यसतर्फ जाँदै छ। लामिछानेले पनि विदेश जान पाउनुपर्ने माग गरी रिट दायर गरेका थिए।
बलात्कारको अभियोगमा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। त्यस विरुद्ध उनी उच्च अदालत, पाटन पुगेका थिए।
उच्च अदालतले विदेश जान नपाउने गरी २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालतको आदेशपछि रिहा भएका लामिछानेले हालै कीर्तिपुरमा सम्पन्न त्रिदेशीय शृङ्खला खेलेका थिए।
अर्को साता यूएईमा हुने शृङ्खलाका लागि विदेश जान पाउनुपर्ने माग गरी सर्वोच्चमा रिट दिएका थिए। सर्वोच्चले यसलाई अग्राधिकार दिएको छ। यसमाथि आइतबार सुनुवाइ तोकिएको छ।