कृषि औजार सहित किसानको प्रदर्शन (तस्वीरहरू)
तरकारी उत्पादक किसानले कृषि औजार सहित शुक्रबार भरतपुरमा प्रदर्शन गरेका छन्।
किसान संघर्ष समितिको अगुवाइमा उनीहरूले कृषि औजार सहित प्रदर्शन गरेका हुन्। भरतपुरको केन्द्रीय बस टर्मिनलबाट विरोध प्रदर्शन गर्दै किसान ट्र्याक्टरमा पुल्चोक पुगेका थिए। पुल्चोकमा कालो बेलुन उडाएर विरोध जनाएका छन्।
किसान संघर्ष समिति चितवनको अगुवाइमा यसअघि किसानले नारायणगढको पुल्चोकमा टमाटर, गाँजर, बन्दा, सिमी, काँक्रो, फर्सी लगायत तरकारी उत्पादन सडकमा फालेर विरोध गरेका थिए। विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहालले किसानका माग सम्बोधन गर्ने आश्वासन दिएका थिए। तर, दुई सातासम्म समस्या सम्बोधन गर्न पहल नभएपछि किसान फेरि सडकमा उत्रिएका हुन्।
संघर्ष समितिले स्वदेशी तरकारी तथा कृषिजन्य उत्पादनलाई प्रोत्साहन गरी विदेशी आयातीत तरकारी तथा कृषिजन्य वस्तु निषेध गरिनुपर्ने, किसानको वर्गीकरण गरी किसान कार्ड र पेन्सनको व्यवस्था गरिनुपर्ने लगायत १० बुँदे माग राखेका छन्।माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिका संयोजक लेखनाथ भुसालले बताए।