दिलीपको हत्यामा दुई जनालाई जनही २५ वर्ष कैद
धनुषाका दिलीप महतोको हत्यामा जिल्ला अदालतले दुई जनालाई २५-२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको छ।
जिल्ला अदालत, धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले शुक्रबार कैद सजाय निर्धारण गरेको हो। अदालतले यसअघि फागुन ३ गते तीन जनालाई दोषी ठहर गरेको थियो।
दिलीपको हत्यामा संलग्न रहेका विपिनकुमार महतो र मुनीन्द्र महतोलाई २५-२५ वर्ष कैद सजाय सुनाइएको जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेतले बताए।
त्यस्तै, दुवै जनालाई पाँच-पाँच लाख सजाय पनि तोकिएको छ। त्यो रकम पीडित परिवारलाई दिनुपर्ने अदालतको आदेश छ।
यसैगरी, मतियारका रूपमा कसूरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद तोकिएको छ। उनलाई दुई लाख ५० हजार सजाय पनि तोकिएको छ।
उनीहरूले अदालतले तोकेको रकम बुझाउन नसकेमा राज्यकोषबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश गरेको छ।
अवैध उत्खनन रोक्न खोज्दा दिलीपको हत्या गरिएको थियो। त्यसमा संलग्न रहेको अभियोग लागेका सात जनामध्ये तीन जनालाई दोषी ठहर गरिएको थियो भने चार जनालाई सफाइ दिइएको थियो। दोषी ठहर भएका तीनलाई आज सजाय निर्धारण गरिएको हो।