वृत्तचित्र प्रतियोगिताका लागि भिडिओ आह्वान
राष्ट्रिय वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ का लागि भिडिओ आह्वान गरिएको छ।
आयोजक वी विल राइज फाउन्डेशनले सन् २०२३ का लागि शुक्रबार भिडिओ आह्वान गरेको छ। पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेका कुनै महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, वेशभूषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायत विषयवस्तुमा केन्द्रित रहेर फाउन्डेशनले प्रतियोगिता आयोजना गर्दै आएको छ।
सन् २०१९ मा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको थियो। सन् २०२० मा कोभिड-१९ का कारण प्रतियोगिता हुन सकेको थिएन। यस पटक निरन्तरता दिन लागिएको परियोजना संयोजक एवं संस्थापक निर्देशक निर्मल श्रेष्ठले जानकारी दिए।
वृत्तचित्र निर्माणका लागि आजदेखि ७० दिन अर्थात् २०८० वैशाख २१ गतेसम्म समय दिइएको छ। आगामी जेठ १३ गते विजेता घोषणा गरिनेछ।
प्रतियोगिताका लागि अधिकतम पाँच मिनेटको वृत्तचित्र बनाउनुपर्नेछ। प्राप्त भिडिओमध्येबाट निर्णायकले छनोट गरेका उत्कृष्ट १० जनालाई नगद सहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ।