हात्तीको आक्रमणबाट मकवानपुरमा एक सातामै दुई जनाको मृत्यु
जङ्गली हात्तीको आक्रमणबाट मकवानपुरमा एक साता नबित्दै दुई जनाको ज्यान गएको छ।
पर्सा वन्यजन्तु आरक्षबाट आएको हात्तीको आक्रमणमा परी बकैया गाउँपालिका-५ पावसमा ५० वर्षीय सन्तलाल माझीको बिहीबार राति मृत्यु भएको हो। साँझ गोठमा गएको वेला हात्तीको आक्रमणमा परी गम्भीर घाइते माझीलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उक्त हात्तीको आक्रमणबाट बुधबार हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाडी मानेडाँडाका ३० वर्षीय देव वाइबा घाइते भएका छन्। दुवै खुट्टा र ढाडमा भित्री चोट लागेकाले हेटौंडा अस्पतालमा उनको उपचार भइरहेको छ।
गत सोमबार सोही हात्तीकै आक्रमणबाट सोमबार मनहरी गाउँपालिका-४ मा ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जङ्गली हात्ती मनहरी, हेटौंडा हुँदै अहिले बकैया-७ को कत्ले खोलामा पुगेको स्थानीयले जानकारी दिएका छन्। निकुञ्जले हात्ती नियन्त्रणमा लिन सकेको छैन।
पछिल्लो समय मकवानपुरमा हात्ती र बाघको आक्रमण बढेको छ। दुई साताअघि हेटौंडा-१८, हर्नामाडीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी थिइन्। हात्ती र बाघको आक्रमण बढेपछि सबडिभिजन वन कार्यालय, हात्तीसुँडे, मकवानपुरले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।