खराब मात्रै छैनन् सहकारी
बेथितिले सहकारी क्षेत्र नै बदनाम भइरहँदा कतिपय संस्था भने सीप विकास, पूँजी व्यवस्थापन, उत्पादन र बजारीकरणमा टेवा पुर्याउँदै उदाहरणीय बनेका छन्।
१० वर्षअघि झापाको मेचीनगर नगरपालिका-९ मागुरमाडीका लेखनाथ उप्रेतीले ऋण लिएर तीन वटा गाई किनेर पालेका थिए। धुलाबारी बजारका तीन वटा डेरीमा दूध पुर्याउँथे। तर, पैसा समयमा पाउँदैनथे। डेरीहरूबाट ५/६ महीनासम्म पनि भुक्तानी नपाएपछि उनी आर्थिक दबाबमा पर्न थाले। एकातिर, गाई किन्दाको ऋण थियो, अर्कातिर, उधारोमा चोकर, घाँस, पराल ल्याएको ठाउँबाट पैसा माग्दै मानिसहरू घरमै आउन थाले। केही उपाय नलागेपछि उनी २०७० सालमा रोजगारीका लागि विदेशिए।
विदेशमै रहँदा मेचीनगरको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले डेरी उद्योग खोल्न लागेको थाहा पाए। त्यसले उनीभित्र दबिएको पशुपालनको शोख जगाइहाल्यो। सहकारीसँग कुरा गरे र २०७२ सालमा देश फर्किए। त्यस वेला सहकारीको एनएमसी डेरी उद्योग सञ्चालनमा आइसकेको थियो। उनले शुरूमा तीन वटा गाई पालेर दैनिक ३० लिटर दूध सहकारीमा बेच्न थाले। हरेक १५ दिनमा भुक्तानी पाइरहे।
नियमित आम्दानीबाट बचत हुँदै जाँदा उनले सहकारीबाट सहुलियतको ऋण समेत लिएर गाई फार्म विस्तार गर्दै लगे। १० कठ्ठामा फैलिएको फार्ममा अहिले गाईको संख्या १८ वटा पुर्याएको र दैनिक १५० लिटर दूध बेच्ने गरेको उनी सुनाउँछन्। दैनिक १० हजार रुपैयाँ कमाइ भइरहँदा उनी व्यवसाय थप विस्तार गर्ने सोचमा छन्। “सहकारीको सहुलियत ऋण लिएर बाख्रापालन गर्न जग्गा हेरिरहेको छु,” उनी भन्छन्।
२०५० सालमा स्थापित एनएमसीले उप्रेती जस्ता धेरैलाई आर्थिक स्तर उकास्न तथा उद्यम-व्यवसाय स्थापना र विस्तारमा सघाउँदै आएको छ। एक लाख ३० हजारभन्दा बढी सदस्य रहेको सहकारीले समुदायमा आधारित भएर प्रभावकारी काम गर्दै आएको छ।
कृषि उत्पादन र पशुपालन गर्न पूँजी व्यवस्थापन गर्दै आएको सहकारीले बजारीकरण पनि गरिरहेको छ। २०७२ सालसम्म बचत तथा ऋण कारोबारमा सीमित यो सहकारीले त्यसपछि डेरी उद्योग, शपिङ सेन्टर, चियापत्ती उद्योग आदि खोलेर आफ्नो दायरा फैलायो। जसबाट किसान तथा उद्यमीहरूका उत्पादनले सुनिश्चित बजार पाए।
कृषि तथा पशुपालनमा प्राथमिकता दिएको संस्थाले १६ बिघा क्षेत्रफलमा नमूना कृषि फार्म खोलेको छ। जहाँ माछापालन, माहुरीपालन, तरकारी खेती गर्नुका साथै बेर्ना उत्पादन गरेर सहुलियतमा बिक्री गरिरहेको छ। संस्थाका अनुसार, एक लाख रुपैयाँसम्मको पशु धन कर्जा, पशु बीमा लगायत सहुलियतबाट पाँच हजारभन्दा बढी उद्यमी किसान लाभान्वित छन्।
उनीहरूले दैनिक १५ हजार लिटर दूध उत्पादन गरिरहेका छन्। सङ्कलित दूधबाट सहकारीको डेरीले दुग्ध पदार्थहरू उत्पादन गरेर बिक्री गर्दै आएको छ। ऋण लगानीबाट एक हजारभन्दा बढी उद्यमी-व्यवसायीको उदय भएको संस्थाको तथ्याङ्क छ। झापा, मोरङ र इलाममा ८० भन्दा बढी व्यावसायिक एकाइ सञ्चालन गरेर उद्यम-व्यवसायको प्रवद्र्धन गरिरहेको संस्थाले जनाएको छ।
संस्थागत सुशासन, पारदर्शिता र दिगोपनका कार्यक्रमबाट सबैको विश्वास जित्दै एनएमसी आजको अवस्थामा आइपुगेको संस्थाकी सूचना अधिकारी तेजकुमारी घिमिरे बताउँछिन्। “प्रत्येक कारोबार र संस्थाका क्रियाकलाप सदस्यहरूबाट लुकाएनौं। त्यसले कर्मचारी, सञ्चालक समिति, सदस्य र सर्वसाधारणलाई संस्थाप्रति इमानदार बन्न पे्ररित गर्यो,” उनी भन्छिन्।
समुदायमा एनएमसी कतिसम्म जोडिएको छ भने, यसले आफ्ना सदस्यहरूको घरमा सुत्केरी हुँदा पोषिलो खानाका लागि तथा मृत्यु हुँदा आर्थिक सहयोग गर्दै आएको छ। सदस्यहरूलाई २५ हजार रुपैयाँको स्वास्थ्य बीमा र १० लाखको निःशुल्क जीवन बीमा गरिदिएको छ।
जीविकाको टेको
सहकारीहरूले उद्यम-व्यवसाय विकासमा मात्र टेवा पुर्याएका छैनन्, सर्वसाधारणका ससाना आवश्यकता पूरा गरी जीविकोपार्जनमा सहयोगी बनेका थुपै्र उदाहरण छन्। आफन्त र साथीभाइसँग सापटी रकम माग्दा नपत्याएको अवस्थामा सहकारीबाट १० हजार रुपैयाँ पाएकी झापा गौरादह नगरपालिका-४ महारानीझोडाकी इन्दु सिलवालको जीवनले काँचुली फेरेको छ।
२०६२ सालमा गोपाल बजगाईंसँग विवाह भएपछि सन्तान जन्मिएसँगै उनीहरूमाथि आर्थिक चाप बढ्दै गयो। अरूको खेती गरेर पेट पालिरहेका उनीहरूले केही सीप सिक्न पाए आम्दानीको बाटो खुल्ने देखे।
गोपालले ड्राइभिङ सिक्न परिवारका सदस्यदेखि साथीहरूसँग ऋण मागे। तर, कसैले पत्याएन। त्यही वेला महारानीझोडा साना किसान कृषि सहकारीले एकै पटक १० हजार रुपैयाँ ऋण दियो। “पाँच हजार रुपैयाँबाट श्रीमान्ले ड्राइभिङ सिक्नुभयो, बाँकी रकमबाट मैले व्यावसायिक तरकारी खेती शुरू गरें,” इन्दु सम्झिन्छन्। १० वर्षअघि पाएको त्यो रकमले आफूहरूको जीवन उकासेको उनी सुनाउँछिन्।
ड्राइभिङ सिकेर गोपालले सार्वजनिक बस चलाउन थाले। इन्दुले १० कठ्ठाको तरकारी खेतीलाई विस्तार गर्दै गइन्। चार वर्षपछि त्यही सहकारीबाट पाँच लाख रुपैयाँ ऋण लिएर उनीहरूले ट्र्याक्टर किने, र दम्पती नै कृषि पेशामा केन्द्रित भए। उनीहरूले धान, मकै, तोरी जस्ता परम्परागत बालीदेखि च्याउ, काउली जस्ता तरकारी उत्पादन गर्दै आएका छन्। “कृषिकै कमाइबाट हामीले तीन बिघा जमीन जोडेका छौं। छोराछोरी राम्रो विद्यालयमा पढाउन सकेका छौं,” इन्दु भन्छिन्।
साना किसान सहकारीका इन्दु सहित दुई हजारभन्दा बढी महिला सदस्य कृषि पेशामा आबद्ध छन्। संस्थाले सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र, दुग्ध सङ्कलन केन्द्र, सहकारी पसल सञ्चालन गरिरहेको छ। बीउ केन्द्र खोलेपछि बाली लगाउने समयमा बीउ नपाउने समस्या हटेको छ। मल, बीउ, पशुको आहारा, कृषि औजार आदि बिक्री गर्ने सहकारी पसलबाट किसानले गुणस्तरीय सामान पाएका छन् भने संस्थाले वार्षिक चार लाख रुपैयाँ हाराहारी बचत गरिरहेको सहकारीका अध्यक्ष चिरञ्जीवी भण्डारी बताउँछन्। यस्तै, सदस्यहरूले पशुपालन कर्जा, पशु बीमा, नश्ल सुधार लगायत कार्यक्रमबाट लाभ पाइरहेका छन्।
सुर्खेतको भेरीगंगा नगरपालिका-१२ स्थित साना किसान कृषि सहकारी संस्थाले पनि धेरै किसानको जीवनस्तर उठाएको छ। सञ्चालक समितिदेखि कर्मचारीसम्म महिलाहरू रहेर हाँकेको यस सहकारीले १२ सयभन्दा बढी महिला सदस्यलाई उद्यमी बनाउने तथा सामाजिक-आर्थिक जीवन उकास्ने काम गरिरहेको छ।
गणपति बेसार उद्योग सञ्चालन गरिरहेको यस संस्थाले स्थानीय स्तरमा उत्पादित बेसार खरीद गरेर प्रशोधन, प्याकेजिङ गरी बिक्री गर्दै आएको छ। जसबाट बेसार उत्पादक किसानले हातमा पैसा खेलाउन पाएका छन्। त्यसको लाभ लिनेमध्येकी एक हुन्, धना देवकोटा। शुरूमा ५० किलो बेसार फलाएकी उनले पछिल्लो तीन वर्षमा उत्पादन पाँच क्विन्टल पुर्याएकी छन्।
यो फड्को कसरी सम्भव भयो? उनी भन्छिन्, “सहकारीले बेसार खरीद गरिदिएपछि बजारको चिन्ता भएन। कामदार थपेर कठ्ठाबाट बिघामा खेती फैलाउँदै लग्यौं।” आफ्नै ठाउँमा उद्योग खुलेपछि अरू किसानले पनि बेसार खेती गर्न थालेका छन्, गरिरहेकाहरूले खेती बढाएका छन्।
किसान सदस्यलाई लक्षित गर्दै संस्थाले शीतभण्डार र एग्रोभेट सञ्चालन गरिरहेको छ। यस्तै, सहुलियतमा कृषि औजारको व्यवस्था, उन्नत बीउ र कम्पोस्ट मल उत्पादन गरिरहेको संस्थाले बीउ र विषादी ५० प्रतिशत अनुदानमा दिने गरेको छ। कृषि तालीम, उत्कृष्ट किसानलाई सम्मान आदिबाट कृषि व्यवसायमा प्रोत्साहन र आकर्षण बढाइरहेको संस्थाले जनाएको छ।
सहकारीको मर्म अनुसार सामूहिक हितमा र समुदायमा आधारित भई काम गरिरहेका यी सहकारीहरूले राष्ट्रिय सहकारी महासंघबाट विभिन्न समयमा उत्कृष्ट सहकारी पुरस्कार पाएका छन्। महासंघका अनुसार, देशभर ३० हजार ८७९ वटा सहकारी छन्। तर, समुदायप्रतिको सरोकार र लोकतान्त्रिक नियन्त्रण जस्ता सहकारीको सिद्धान्तमा सञ्चालित सहकारी भने औंलामा गन्न सकिने रहेको महासंघकी महाप्रबन्धक चित्रकुमारी सुब्बा बताउँछिन्।
विभिन्न सहकारीको ठगी र हिनामिनाका कारण यो क्षेत्र बदनाम भइरहेको वेला राम्रो काम गरिरहेका नमूना संस्थाहरूले सहकारीप्रति विश्वास जोगाइरहेको उनको धारणा छ। “यी सहकारी थिए र त हजारौं सदस्य उद्यमी भए, सीप सिकेर आत्मनिर्भर बने, कृषिको सहुलियत ऋण पाएर उत्पादन बढाए,” उनी भन्छिन्, “सहकारीको साथबाट जीविकोपार्जनमा सुधार भएको र आफ्नै ठाउँमा इलम, रोजगारी पाएर धेरै युवा विदेशिनबाट रोकिएको पाटो सानो कुरा होइन।”
सामूहिकता र पारदर्शिता
सहकारीको मूल्यमान्यता बुझेर सामूहिकता र पारदर्शितामा काम गर्ने सहकारीहरू सफल र प्रभावकारी हुने सहकारी अभियन्ता दीपकप्रकाश बास्कोटा बताउँछन्। उनका अनुसार, उदाहरणीय बनेका सहकारीहरूको विश्लेषण गर्दा सदस्यहरूको संयुक्त स्वामित्व र स्वनियन्त्रणबाट आर्थिक-सामाजिक काम गर्दै उत्पादन र बजारीकरणमा ध्यान दिएको देखिन्छ।
सहकारीहरूको उदाहरणीय कामले समुदाय र सहकार्यको शक्ति देखाउने उनको बुझाइ छ। भारतको अमुल दुग्ध सहकारीको सफलताले सहकारी प्रभावकारी भए समुदायको सर्वाङ्गीण विकास गर्न राज्यले लगानी गर्नै नपर्ने देखिएको बताउँदै उनी भन्छन्, “सामूहिक हितमा काम गरिरहेका सहकारीहरूले राज्यको आवश्यकता बिर्साइदिएका छन्।”
राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाल जनताको विश्वास जितेर सञ्चालित सहकारीहरूले आर्थिक भरथेगबाट गरीबी हटाउँदै देशको अर्थतन्त्रमा योगदान गरिरहेको बताउँछन्। उद्यममा सहयोगी बनिरहेका सहकारीहरूले उत्पादन र रोजगारी सिर्जनामा भूमिका खेलेको बताउँदै उनी भन्छन्, “सहकारी भनेको सरकार र जनताको बीचमा रहने संस्था हो। जनताको आधारभूत आवश्यकता पूरा गर्न राज्य सबै ठाउँ नपुग्दा सहकारीले राज्यको दायित्व पूरा गर्ने हो।”
महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी भण्डारी भने संस्थाको कार्यविधि समयानुकूल परिष्कृत गर्दै अघि बढ्नुलाई पनि सफलताको सिँढी मान्छन्। २०५५ सालमा स्थापना भई वित्तीयसँगै गैरवित्तीय सेवा दिँदै आएको यस सहकारीले आत्मनिर्भर बन्न कृषि तथा पशुपालन, कृषि उपजको औद्योगिकीकरण र बजारीकरण गर्न थाल्यो। संस्थाले आफ्ना सदस्यको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेका कारण इन्दु र गोपाल जस्ता उद्यमशील व्यक्तिहरू पनि जन्मिँदै गए।
सुर्खेतको साना किसान कृषि सहकारीकी अध्यक्ष ज्ञानु भुसाल संस्थाले आफ्ना कारोबार, योजना, कार्यक्रम लगायत सम्पूर्ण कुरा पारदर्शी राखेर समुदाय केन्द्रित भएकै कारण सफल र उदाहरणीय बनेको बताउँछिन्। सदस्य लक्षित सेवालाई प्राथमिकतामा राखेर उनीहरूको उद्यमलाई प्रवद्र्धन गर्ने उद्योग र बजारीकरणको काम गर्दै जाँदा सदस्यहरूसँगै सहकारी विकसित बन्दै गएको उनको भनाइ छ।
एकातिर, समुदायको हित सोचेर पारदर्शी ढङ्गले काम गरिरहेका सहकारीले सर्वसाधारणको आर्थिक-सामाजिक स्तर उकासिरहँदा अर्कातिर सहकारीको नाममा ठगी गर्नेहरूले धेरैलाई बिचल्लीमा पारिरहेका छन्। “त्यसैले सरकारले अनुगमनमा तीव्रता दिएर ठग सहकारीलाई कारबाही गरी विकृृति रोक्नुपर्छ, राम्रो गर्नेलाई प्रोत्साहन गरिनुपर्छ,” सहकारी अभियन्ता बास्कोटा भन्छन्।
(हिमालको २०७९ फागुन अङ्कबाट।)
सम्बन्धित समाचारहरू
जनता रुवाउने सहकारी
सहकारी सुधारका आयाम
सहकारीमा गुम्दो सुशासन
सहकारीमा छुट्टै नियामकको खाँचो
‘सहकारीका नाममा अपराध भइरहेको छ’