एउटै कोठामा दुई तहका विद्यार्थी‚ एउटाको पढाइ हुँदा अर्को बाहिर जानुपर्ने बाध्यता
एउटै कक्षाकोठामा फरक-फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका-८ दशरथनगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ। तर, पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन्।
एउटै कक्षाकोठामा फरक-फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ।
एकातिर कक्षाकोठाको अभाव, भएकै संरचनाको पनि उचित व्यवस्थापन नहुँदा जीर्ण हुँदै गएको छ। विद्यालय हो भन्ने ठम्याउन पनि प्रवेशद्वार अड्याउनका लागि बनाइएको पर्खालको भित्तामा लेखिएको विद्यालयको नामको सहारा लिनुपर्ने अवस्था छ। उपमहानगरपालिकाकै ‘मुटु’ भागमा रहेको यो विद्यालय विसं २०५७ देखि सञ्चालनमा छ।
विसं २०६६ देखि सरकारी मान्यता पाएर अहिलेसम्म जेनतेन सञ्चालनमा रहे पनि भौतिक पूर्वाधार व्यवस्थापनमा ध्यान नदिंदा यहाँ विद्यार्थी जोगाउन समेत धौधौ छ। शिक्षिका सुनिताकुमारी चौधरीले विद्यालयको भौतिक सुधार हुन नसक्दा अहिले नजिकका अभिभावकले विकल्प खोज्न थालेको बताउँछिन्। कक्षाकोठाको अभाव, सडकसँगै जोडिएर पनि घेराबार नहुँदाको असुरक्षा, फोहोरमैला जस्ता विभिन्न कारणले विद्यार्थी पाउन मुश्किल भएको उनको भनाइ छ।
शिक्षिका पिंकी कुमारीले उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमै भएर पनि भौतिक संरचना अभावले विद्यार्थी लगायत शिक्षक, शिक्षिकालाई पठनपाठन गर्न कठिनाइ भइरहेको गुनासो गर्छिन्। “एउटा कक्षाको विद्यार्थीलाई पढाउँदा अर्कोले त्यही कोठामा बस्नुपर्छ, त्यो समय अर्को साथीले पढाउने कुरा पनि भएन‚” उनी भन्छिन्‚ “यस्तो समस्या वर्षौंदेखि छ। विद्यार्थी र हामी पनि निराश छौं।”
विद्यालयका प्रधानाध्यापक विन्देश्वर दासले यसरी पढाउन थालेको वर्षौं भएको बताउँछन्। “एउटै कक्षामा फरक फरक दुई कक्षाका विद्यार्थी राखेर पढाउन थालेको वर्षौं भइसक्यो, के गर्नु बाध्यता यस्तै छ‚” उनी भन्छन्, “विद्यालयको आम्दानी छैन, अरूलाई भवन बनाएर सहयोग गरिदिन भनेको वर्षौं भइसक्यो, तर कसैले सुनेनन्, अब त थाकिसकें।”
कुनै वेला एउटै कक्षामा २०० सम्म विद्यार्थी हुने यस विद्यालयमा अहिले ६ वटा कक्षामा भर्ना हुने विद्यार्थीको सङ्ख्या जोड्दा करीब १०० मात्रै छ। ती विद्यार्थी पनि नियमित उपस्थित हुँदैनन्। कक्षा १ मा १७, कक्षा २ मा १६, कक्षा ३ मा १२, कक्षा ४ मा ६ र कक्षा ५ मा नौ जना विद्यार्थी भर्ना छन्। शिशु कक्षामा भने ४० विद्यार्थी रहेको विद्यालयको अभिलेखमा देखिन्छ। यहाँ दुई स्थायी, दुई राहत र तीन बाल विकासलाई पढाउने जनशक्ति तथा दुई सहयोगी गरी आठ जना कर्मचारी छन्। नजिकै मुस्लिम धर्मावलम्बीको बसोबास रहेकाले यस विद्यालयमा भर्ना हुने कुल विद्यार्थीमध्ये पाँच-सात जना बाहेक सबै सोही समुदायका बालबालिका छन्।
कक्षा ५ का विद्यार्थी अरमान अन्सारीले अर्को कक्षासँग बसेर पढ्नुपर्दा दुःख लाग्ने गरेको बताउँछन्। एउटा सरले पढाएको वेला अर्को कक्षाको विद्यार्थी पर्खेर बस्नुपर्ने वा समय बिताउन कक्षा छोडेर अन्तै जानुपर्ने हुँदा स्कूल आउन मन नै नलाग्ने गरेको उनी बताउँछन्।
कक्षा ४ की विद्यार्थी सृष्टिकुमारी चौधरी बाध्यताले मात्र उक्त विद्यालयमा पढ्न आएको बताउँछिन्। “हुनेखाने साथीहरू अन्तै पढ्न गइसके, तर हामी चाहिं गरीबीका कारणले यहीं पढिरहेका छौं‚” उनी भन्छिन्‚ “विद्यालय राम्रो भए राम्ररी पढ्न पाइन्थ्यो, भविष्य पनि राम्रो बन्थ्यो होला, तर अहिले त विकल्प नभएर यहाँ आउनुपरेको छ।”
विसं २०६६ मा विद्यालयले सरकारी स्वीकृति पाएसँगै जिम्मेवारी शुरू गरेका प्रधानाध्यापक यादव विद्यालयको यही दुरवस्थाका कारण प्रति वर्ष विद्यार्थीको सङ्ख्या घट्दै गएको बताउँछन्। “गरीब पढ्ने स्कूल भनेर पो हो कि, कसैले यहाँको अवस्था सुधार्न सहयोग गर्दैनन्‚” उनी भन्छन्‚ “यसले विद्यार्थी त घटिरहेकै छन्, सँगसँगै उपमहानगरमै यस्तो अवस्थाको विद्यालय भन्ने गरिन्छ।”
विद्यालयको अवस्थाबारे वडा र उपमहानगरपालिकाको नेतृत्वलाई पनि जानकारी छ, तर सुधारका लागि भने ठोस पहल भएको छैन। उपमहानगर प्रमुख मनोजकुमार साह विद्यालयको अवस्था सुधारका लागि पहल शुरू गरिसकेको बताउँछन्। शुरूमा पाँच लाख रूपैयाँ दिने कुरा भएको र आफ्नो कार्यकालमा विद्यालयको मुहार फेर्ने गरी काम हुने उनी बताउँछन्।
त्यसैगरी वडा नं ८ का अध्यक्ष दिनेशकुमार सिंहले पनि विद्यालयको भौतिक संरचना सुधारका साथै त्यहाँ वरपरको वातावरण पनि विद्यालयमैत्री बनाउन छलफल भइरहेको बताउँछन्। -रासस