नेपाललाई दुई ‘क्लीन स्वीप’ आवश्यक
घरेलु मैदानमा भएको त्रिदेशीय शृङ्खला ‘क्लीन स्वीप’ गरेसँगै नेपालकाे भारतमा हुने विश्वकपका लागि छनोट प्रतियोगिता खेल्ने सम्भावना बढेको छ।
फागुन ९ मा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३१.५ ओभरमै आठ विकेट गुमाइसकेको थियो। अझै ७५ रन बनाउन बाँकी थियो भने हातमा दुई विकेट मात्रै थिए।
खचाखच दर्शकले भरिएको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान सुनसान बनेको थियो। कप्तान रोहित पौडेललाई साथ दिन करण केसी मैदान प्रवेश गर्दा दर्शकले खासै उत्साह देखाएका थिएनन्।
नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृङ्खलाको यो अन्तिम खेलमा रोहित र करणले बिस्तारै रन जोड्दै गए। नवौं विकेटका लागि ७६ बलमा ७५ रनको साझेदारी गरेर यो जोडीले नेपाललाई ऐतिहासिक सफलता दिलायो। र, नेपालले त्रिदेशीय शृङ्खला ‘क्लीन स्वीप’ गर्यो।
यस्तै, आगामी दुई वटा त्रिदेशीय शृङ्खला ‘क्लीन स्वीप’ गर्न सक्यो भने नेपालले विश्वकप छनोट खेल्न पाउनेछ। त्यसका लागि नेपालले अर्को साता यूएई र त्यसपछि कीर्तिपुरमै हुने दुई वटा त्रिदेशीय शृङ्खला खेल्दै छ।
विश्वकप छनोट प्रतियोगिता खेल्नका लागि नेपाल अहिले लिग-२ मा प्रतिस्पर्धा गरिरहेको छ।
लिग-२ मा सात वटा टोली छन्। स्कटल्यान्ड लिग विजेता भइसकेको छ। स्कटल्यान्डले ५० अङ्क जोडेको छ भने दोस्रो स्थानमा रहेको ओमनको ४४ अङ्क छ। यी दुवै टोली विश्वकप क्वालिफायरका लागि छनोट भइसकेका छन्।
अब तेस्रो स्थानका लागि तीन टोलीबीच प्रतिस्पर्धा छ। लिग-२ मा रहेका अमेरिका र पपुवा न्यूगिनी बाहिरिइसकेका छन्। अमेरिकाले ३६ खेलबाट ३५ अङ्क जोडेको छ भने पपुवा न्यूगिनीले २८ खेलबाट पाँच अङ्क मात्रै जोडेको छ।
अङ्कतालिकामा तेस्रो स्थानमा रहेको नामिबियाको ३७, यूएईको २७ र नेपालको २६ अङ्क छ। नामिबियाका दुई खेल, यूएईका १० र नेपालका आठ खेल बाँकी छन्।
नेपालका लिग-२ का चार खेल यूएईमा र चार खेल कीर्तिपुरमा सञ्चालन हुनेछन्। नेपाल, यूएई र पपुवा न्यूगिनी सम्मिलित त्रिदेशीय शृङ्खला फागुन १५ देखि यूएईमा हुनेछ। जसमा नेपालले यूएई र पपुवा न्यूगिनीसँग दुई-दुई खेल खेल्नेछ।
त्यसपछि फागुन २५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अर्को त्रिदेशीय शृङ्खलामा नेपाल, यूएई र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा हुनेछ। यहाँ पनि नेपालले यूएई र पपुवा न्यूगिनीसँग दुई-दुई खेल खेल्नेछ।
नेपालले यी दुवै शृङ्खला ‘क्लीन स्वीप’ गर्न सकेमा ४२ अङ्क सहित लिग-२ मा तेस्रो भएर विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछ।
त्यस्तै, एकदिवसीय वरीयता कायम राख्न भने आठमध्ये कम्तीमा पाँच खेल जित्नुपर्नेछ। नेपालले सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो।
आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। त्यसमध्ये आयोजक भारत छनोट भइसकेको छ। त्यस्तै, सुपर लिगबाट ६ टोली पनि छनोट भइसकेका छन्। जसमा न्यूजिल्यान्ड, इङ्ल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, बाङ्लादेश र अफगानिस्तान छन्। सुपर लिगबाट छनोट हुने बाँकी एक टोलीका लागि वेस्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्डबीच प्रतिस्पर्धा छ।
त्यसपछि दुई टोली विश्वकप क्वालिफायरबाट आउनेछन्। यसका लागि सुपर लिगको पुछारमा रहेका पाँच, विश्वकप लिग-२ बाट आएका तीन र क्वालिफायर प्ले-अफबाट आएका दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ।