स्ववियु निर्वाचनमा के छ विद्यार्थी संगठनहरूको मुद्दा?
त्रिभुवन विश्वविद्यालयले तोकेको स्ववियु निर्वाचनको मिति नजिकिएसँगै चुनावकेन्द्रित गतिविधिमा जुटेका विद्यार्थी संगठनहरूसँग शिक्षा क्षेत्रको सुधारका साथै निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा हुनुपर्ने लगायत मुद्दा छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव घोषणा गरेको छ। निर्वाचनको मिति नजिकिएसँगै विद्यार्थी संगठनहरू तयारीमा जुटेका छन्। विद्यार्थी संगठनका केन्द्रीय समितिदेखि क्याम्पस एकाइ समितिले चुनावकेन्द्रित गतिविधि बढाएका छन्।
प्रत्येक दुई-दुई वर्षमा हुनुपर्ने निर्वाचन १४ वर्षदेखि नियमित हुन सकेको थिएन। त्यसैले पनि यस निर्वाचनलाई सफल बनाउन जुटिरहेको विद्यार्थी संगठनहरूले बताएका छन्। निर्वाचनका लागि मुद्दा तय गर्न घोषणापत्र समिति, निर्वाचन परिचालन समिति लगायत विभिन्न उपसमितिहरू गठन गरेर निर्वाचनको तयारीमा जुटेका छन्।
भर्खरै २३औं राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले अध्यक्ष समिक बडालको संयोजकत्वमा स्ववियु केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। उपाध्यक्ष नारायण घर्तीको संयोजकत्वमा घोषणापत्र लेखन उपसमिति‚ उपाध्यक्ष धर्म गिरीको नेतृत्वमा कोषाध्यक्ष संगम अर्याल समेतको आर्थिक उपसमिति र अर्का उपाध्यक्ष मर्यादा विष्टको संयोजकत्वमा कार्यालय व्यवस्थापन उपसमिति गठन गरेको छ।
निर्वाचनको तयारीका लागि स्ववियू निर्वाचन हुने सबै क्याम्पसमा फागुन १३ गते विद्यार्थी भेलाको आयोजना गरिएको अध्यक्ष बडालले बताए। आकांक्षी उम्मेदवारको सूची तयार गरेर कार्यालयमा पठाउन क्याम्पस कमिटीलाई निर्देशन दिइसकेको उनले बताए। एकल रूपमा चुनाव जित्न सकिने क्याम्पसहरूको सूची तयार गरिरहेको र बाँकी क्याम्पसहरूमा आवश्यकता हेरेर तालमेल गर्ने बडालको भनाइ छ।
“हामीले निर्वाचन सम्बन्धी मापदण्ड तथा आचारसंहिता बनाएर पठाएका छौं। अन्य संगठन एक हुँदा पनि एकल ढङ्गले जित्न सक्ने क्याम्पसहरूको सूची तयार गर्दै छौं‚” अध्यक्ष बडालले भने‚ “अन्य कलेजहरूमा पनि मुद्दा मिल्ने संगठनहरूसँग तालमेलका लागि ढोका खुला गर्छौं। यति हुँदाहुँदै पनि प्रगतिशील विचारधारा बोक्ने विद्यार्थी संगठनहरूसँग तालमेल गर्ने कुरामा बढी जोड दिइनेछ।”
अनेरास्ववियुले समयमा विद्यार्थीको भर्ना, परीक्षा सञ्चालन र नतीजा प्रकाशनमा त्रिविले ढिलासुस्ती गर्दा विद्यार्थीको भविष्यमा आँच पुग्दै आएको विषयलाई निर्वाचनको मुद्दा बनाएको अध्यक्ष बडाल बताउँछन्। “क्यालेन्डर अनुसार शैक्षिक गतिविधि सञ्चालन नगर्नेलाई दण्ड र सजायको व्यवस्था गर्ने कुरालाई जोड दिनेछौं‚” उनी भन्छन्, “शिक्षालाई उद्यम र सीपसँग जोड्ने, प्रविधिमैत्री बनाउने कुरा हाम्रो मुख्य अजेन्डा रहनेछ। शिक्षालाई सर्वसुलभ र सहज बनाउने गरी अगाडि बढ्छौं।”
हिजोका विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धि पनि निर्वाचनका मुख्य विषय हुने अध्यक्ष बडाल बताउँछन्। “हाम्रो आन्दोलनबाट प्राप्त स्वास्थ्य बीमा, ४५ प्रतिशत यातायात छूट, सहुलियत ऋण कर्जा लगायतका विषयहरू छन्‚” उनी भन्छन्‚ “सर्टिफिकेट राखेर सहुलियत ऋण दिने विषय कार्यान्वयनमा सहजीकरणको आवश्यकता छ। त्यसमा पनि काम गर्ने छौं।”
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पनि निर्वाचनलक्षित कार्यक्रम लिएर अघि बढेको अध्यक्ष दुजाङ शेर्पाले बताए। नेविसंघले पूजन गन्धर्वको संयोजकत्वमा घोषणापत्र तयारी समिति र डा. सन्तोष उपाध्यायको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ।
त्यस्तै‚ नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले निर्वाचन हुने क्याम्पसहरूमा पदाधिकारी परिचालन गर्ने तयारी गरेको छ। उपाध्यक्ष नरेश रेग्मी संगठन चुनावकेन्द्रित गतिविधिमा लागेको बताउँछन्। निर्वाचनको मिति नजिकिइसकेकाले घोषणापत्र निर्माण गर्न उपाध्यक्ष नारायण खनालको संयोजकत्वमा घोषणापत्र उपसमिति र मिलन एमसीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति निर्माण गरेर काम अगाडि बढाइएको उनले बताए।
केन्द्रीय शैक्षिक मुद्दा केन्द्रले बनाउने घोषणापत्रमा समेटिने र क्याम्पसमा समेट्नुपर्ने मुद्दा क्याम्पस कमिटीले जारी गर्ने घोषणापत्रमा समेटिने उपाध्यक्ष रेग्मीको भनाइ छ। “संविधानमा समेटिएका शैक्षिक मुद्दाहरू कार्यान्वयनको विषय केन्द्रीय घोषणापत्रमा समेट्छौं‚” उनले भने, “स्ववियु निर्वाचन क्याम्पसहरूमा हुने भएकाले क्याम्पसका समस्याहरू क्याम्पसका घोषणापत्रहरूमा समेट्छौं।”
उम्मेदवार छनोट गर्दा क्याम्पस कमिटीहरूले प्रदेशमा सिफारिश गर्ने र प्रदेशले नै उम्मेदवार टुङ्ग्याउने उनले बताए। तर‚ त्रिवि केन्द्रीय क्याम्पस लगायत विशेष महत्त्व राख्ने क्याम्पसहरूको उम्मेदवार भने केन्द्रले नै छनोट गर्ने उपाध्यक्ष रेग्गी बताउँछन्।
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले स्ववियु निर्वाचनको तयारी स्वरूप संगठनको प्रदेशका भेला गरिसकेको छ। केन्द्रमा स्थायी कमिटीको बैठक पनि गरिसकेको छ। निर्वाचन तयारीका निम्ति अध्यक्ष सुदेश पराजुलीको संयोजकत्वमा ११ सय ११ सदस्यीय स्ववियु निर्वाचन परिचालन कमिटी गठन गरेको छ। त्यस्तै‚ उपाध्यक्षद्वय माधव पन्त, हिरेन्द्र शाहीको संयोजकत्वमा घोषणापत्र तयारी कमिटी गठन गरेको छ।
स्ववियु निर्वाचनका लागि अजेन्डा तय गर्न देशभरका सबै कमिटीहरू सक्रिय बनाइएको अध्यक्ष पराजुली बताउँछन्। विद्यार्थीबाट सुझाव सङ्कलन गरेर नयाँ ढङ्गले जाने तयारी गरेको उनको भनाइ छ। देशमा रहेको दुईखाले शिक्षा प्रणाली विरुद्ध आफ्नो संगठन उभिने अध्यक्ष पराजुली बताउँछन्। उनी भन्छन्, “अहिले स्पष्ट रूपमा शिक्षामा दुई किसिमको वर्ग विभेद सिर्जना गर्न खोजिएको छ। त्यस विरुद्ध समान किसिमको शिक्षा प्रणाली स्थापनाका लागि हाम्रो अजेन्डा केन्द्रित हुनेछ।”
जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई मुख्य मुद्दा बनाएको छ। यसका लागि त्रिवि कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र रजिस्ट्रार पेशल दाहाललाई ज्ञापनपत्र बुझाइसकेको युनियनका केन्द्रीय सचिव सेरीहाङ लिङ्देनले बताउँछन्।
उनी भन्छन्‚ “त्रिवि पदाधिकारी र विद्यार्थी संगठनहरूबीच २०६३ सालमै आगामी निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा हुने भनी सम्झौता भएकाले त्यसलाई इमानदारीसाथ कार्यान्वयन गर्नुपर्छ।”
अहिले मिश्रित समानुपातिक प्रणाली अपनाइए पनि त्यसले सबै क्षेत्र‚ समुदाय तथा लिङ्गको प्रतिनिधित्व सुनिश्चित नगर्ने उनको जिकिर छ। सचिव लिङ्देन भन्छन्‚ “केही पदमा समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। तर‚ संसद्मा जस्तो समुदाय‚ लिङ्ग र क्षेत्रको प्रतिनिधित्व अनिवार्य भन्ने छैन। यस्तो व्यवस्थाले स्ववियुमा सबैको प्रतिनिधित्व हुन सक्दैन।”
पूर्ण समानुपातिक निर्वाचन प्रणालीसँगै यस संगठनले मातृभाषामा अनिवार्य शिक्षा‚ व्यावहारिक तथा सीपमूलक शिक्षा हुनुपर्ने मागलाई पनि स्ववियु निर्वाचनको मुद्दा बनाएको सचिव लिङ्देन बताउँछन्। यस्तै‚ सरकारले दिने छात्रवृत्ति आदिवासी जनजाति‚ मधेशी‚ दलित तथा पिछडिएका क्षेत्र तथा वर्गका व्यक्तिले पाउनुपर्ने जस्ता मुद्दालाई पनि चुनावी मुद्दा बनाएको उनको भनाइ छ।
यस्तो छ निर्वाचन कार्यतालिका
प्रत्येक दुई-दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित हुन सकेको छैन। २०७३ सालमा २६ वटा आङ्गिक क्याम्पसमा भए पनि अधिकांश क्याम्पसमा २०६५ सालदेखि चुनाव हुन सकेको छैन।
त्यसैले विद्यार्थी संगठनहरूले नियमित स्ववियु निर्वाचन गर्न त्रिविसँग माग गर्दै आएका थिए। देशभरका स्ववियु सभापतिहरूमध्येबाट दुई जना त्रिवि सभा सदस्य हुने व्यवस्था छ। त्यसैले विश्वविद्यालयको नीति निर्माणमा समेत विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। त्रिविले देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनको घोषणा गरेको छ।
चैत ५ गते हुने निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ। मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ।
त्यस्तै, फागुन १९ गते विद्यार्थी संघ-संगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी-विरोध गर्ने तालिका तोकिएको छ। फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ।
फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी-विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ। निर्वाचनको प्रचारप्रसारका लागि फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्मको समय तोकिएको छ। २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो। निर्वाचनमा २०५१ चैत १८ यता जन्ममिति भएका विद्यार्थीले उम्मेदवार हुन पाउनेछन्।