चुम उपत्यका जसको ब्रान्ड नै अहिंसा बन्यो
चुम उपत्यकामा पशुपन्छी मार्न निषेध त छ नै, मासुका लागि पाल्न पनि पाइँदैन। मासुका लागि खरीद गरिएको पशुपन्छी चुम हुँदै ओसारपसार गर्ने समेत रोक लगाइएको छ।
चिनियाँ भूमिसँग जोडिएको गोरखा जिल्लाको चुम उपत्यकाको पहिचान बनेको छ- अहिंसा। यस क्षेत्रमा कुनै पनि पशुपन्छी मार्न मात्र होइन, मासुका लागि पाल्न समेत पाइँदैन। काटेर खानका लागि पशुपन्छी ओसारपसार गर्दा चुम उपत्यकाको बाटो प्रयोग गर्न पनि रोक लगाइएको छ।
चुम उपत्यकामा पालना गरिंदै आएको यस नियमलाई यहाँका बासिन्दाले बौद्ध धर्म-दर्शनसँग सम्बन्धित अहिंसासँग जोड्छन्। बौद्ध धर्मावलम्बीले दैनिक पालना गर्नुपर्ने पाँच वटा नियमलाई पञ्चशील भनिन्छ। पञ्चशील बौद्ध धर्म-दर्शन त होइन, तर यी शीलहरूको जगमा नटेकी बौद्ध धर्म-दर्शनको साधना गर्न सकिंदैन। शील बलियो भए समाधि हुने र समाधिबाट प्रज्ञा लाभ हुन्छ। प्रज्ञा भनेको धर्म हो।
पञ्चशील पालना गर्ने प्रतिबद्धताबाटै बौद्ध धर्ममा दीक्षित गर्ने सरल संस्कार पनि पाइन्छ। पहिलो शील हो- कुनै पनि प्राणीको ज्यान नलिने वा त्यस्ता कर्मबाट विरक्त रहनु। यसलाई अहिंसा पनि भन्न सकिन्छ। बाँकी शीलहरू- कसैले नदिएको कुरामाथि अधिकार नजमाउनु, व्यभिचार नगर्नु, झूटो नबोल्नु वा अपव्याख्या नगर्नु र लागूऔषध सेवन नगर्नु हो। विशेष अवसर र भिक्षुभिक्षुणीलाई थप शीलहरू लागू हुन्छन्। व्यावहारिक जीवनमा पाँचवटै शील समान रूपमा सबै बौद्ध धर्मावलम्बीहरूले पालना गर्छन् भन्ने छैन। तर‚ जसले जति सक्यो त्यति पालना गर्ने हो।
चुमवासीले पनि अहिंसा सम्बन्धी शील दृढताका साथ पालना गरेका छन्। यही कारण अहिंसा चुम उपत्यकाको पहिचान बनेको हो। गौतम बुद्धको जीवनसँग सम्बन्धित कुनै पनि ठाउँले यस्तो पहिचान बनाउन नसकेका वेला चुम उपत्यका बौद्ध जगत्कै लागि उदाहरणीय भएको छ। यो प्रशंसनीय पनि छ।
चुमवासीले पनि अहिंसा सम्बन्धी शील दृढताका साथ पालना गरेका छन्। यही कारण अहिंसा चुम उपत्यकाको पहिचान बनेको हो।
विसं १९७७ को सागा दावा (गौतम बुद्धको जन्म, बोधिलाभ र महापरिनिर्वाणको सन्दर्भ) को अवसरमा टुल्कु डुक्पा लामा सेराप दोर्जेले चुम उपत्यकावासीलाई अहिंसा पालना गर्न सामूहिक प्रतिबद्धता गराई त्यसलाई सम्भोटा लिपिमा लिपिबद्ध गरेका थिए। यो काम स्थानीय प्रमुख लामाहरू, परम्परागत निर्णयकर्ता (घाजेन, श्यारा र घ्याङ्घे)को पहलमा भएको थियो। उक्त प्रतिबद्धतापत्रमा १९९६ सालमा मु गुम्बा देक्षेन ल्हुन्डुप, राछेन ज्याढ्क्षु छोल्री‚ गुम्बा लामाहरू निले लाब्राङ, ङाग् लाब्राङ, खाङसार लाब्राङ तथा तत्कालीन स्थानीय परम्परागत निर्णयकर्ता तथा त्यहाँका बासिन्दाले सम्भोटा लिपिमा लिखित प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए।
उक्त प्रतिबद्धताका बुँदाहरूमा याक, चौंरी, भेडा, च्याङ्ग्रा, खसी, बोका, हाँस, कुखुरा आदि जनावर तथा पन्छी काटमार नगर्ने रहेको छ। यस क्षेत्रमा आउने पाहुना, पर्यटक, कर्मचारी एवं सुरक्षाकर्मीहरूले पनि चाडपर्वमा समेत पशुवध नगरी अहिंसाप्रति प्रतिबद्ध रहनुपर्छ।
वन्यजन्तु, घरपालुवा पशुपन्छीको कल्याण गर्ने र यसका लागि यस क्षेत्रमा शिकार खेल्न र खेलाउन निषेध गरिएको छ। माहुरीको मह सङ्कलन गर्न पनि पाइँदैन। वन एवं चरन क्षेत्रमा डढेलो लगाउन र खोरियो फाँडेर खेती गर्न पनि निषेध गरिएको छ। मासुको प्रयोजनका लागि पशुपन्छी पाल्न पाइँदैन। कुनै पनि पशुपन्छी बेच्न परे मासुका लागि खरीद गर्नेलाई बेच्न पाइँदैन।
उक्त प्रतिबद्धतापत्रलाई २०२९ सालमा देवनागरीमा लिपिबद्ध गरी त्यहाँका सबै घरका मूलीले टुल्कु ङावाङ खेन्राप (डुक्पा रिम्पोछे) समक्ष पुनः शपथ लिएका थिए। त्यसयता प्रतिबद्धतापत्रको कार्यान्वयनलाई अझ व्यवस्थित गर्न २०५५ सालमा सांस्कृतिक महोत्सव, २०६५ सालमा छेकम्पार गाउँपरिषद्बाट अहिंसा क्षेत्रको चार किल्ला घोषणा र २०६६ सालमा प्रथम चुम श्याग्या महोत्सव गरिएको छ।
२०६९ सालमा चुम्चेत (तल्लो चुम)लाई पनि अहिंसा क्षेत्र घोषणा गरियो। यसबाट प्रतिबद्धतापत्रको प्रभावकारिता र लोकप्रियता बढ्दो छ भन्ने थाहा हुन्छ। अहिंसा क्षेत्र घोषणा गरिएको २०७७ सालमा एक शताब्दी पुग्यो। शताब्दी पुगेको अवसरमा विशेष महोत्सवको आयोजना गर्ने चाँजोपाँजो हुँदै गर्दा कोरोना महामारीले गाँजेपछि स्थगित भयो। उक्त कार्यक्रम २०८० वैशाख ६–९ मा गरिंदै छ।
महोत्सवको नारा ‘अहिंसाको अभियान, चुमवासीको पहिचान’ भन्ने छ। महोत्सवको जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा आयोजक समितिका अध्यक्ष निमा लामाले वर्षैभरि विभिन्न कार्यक्रमहरू गरी मनाइने जानकारी दिए। चुमनुब्री गाउँपालिका-७ स्थित राजेन गुम्बामा हुने महोत्सवको उद्घाटन राष्ट्रप्रमुखबाट हुने लामाले बताए।
वन्यजन्तु, घरपालुवा पशुपन्छीको कल्याण गर्ने र यसका लागि यस क्षेत्रमा शिकार खेल्न र खेलाउन निषेध गरिएको छ। माहुरीको मह सङ्कलन गर्न पनि पाइँदैन।
चुम उपत्यका मनास्लु संरक्षण क्षेत्रमा पर्छ। वातावरण संरक्षण तथा जैविक विविधता सम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कारहरू पनि यसले जितेर नेपाललाई नै प्रतिष्ठित बनाइदिएको छ। वातावरण तथा जैविक विविधताको संरक्षणमा लाग्नु बौद्ध धर्म-दर्शनलाई नै व्यवहारमा उतार्नु हो। चुमले भविष्यमा पनि यो अभियानलाई निरन्तता दिनु तथा प्रचारप्रसार गर्नुको सोझो अर्थ हो, यसलाई अन्य क्षेत्रले पनि अनुसरण गरून् भन्ने आह्वान।
चुम शताब्दी श्याग्या (अहिंसा) महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व त राख्छ। साथै‚ पर्यटकलाई पनि आकर्षित गर्छ। पर्यटन उद्योगबाट स्थानीय सामाजिक तथा सांस्कृतिक क्षेत्रमा बाह्य प्रभाव पर्ने खतरा पनि उत्तिकै छ। नेपालका कतिपय मौलिक परम्परा तथा कला एवं संस्कृतिहरू प्रभावित हुन थालेकोबारे चुमवासी सचेत देखिन्छन्। मांसाहारको माग गर्ने तथा स्थानीय परिवेशको मर्यादा वास्ता नगर्ने पर्यटक हामीलाई चाहिंदैन भन्नु यसको उदाहरण हो।
२०३५ सालसम्म चुमबाट काठमाडौं आउँदा १५ दिन लाग्थ्यो। गोरखाको आरुघाटबाट त्रिशूली हुँदै हिंडेर आउनुपर्थ्यो। दुर्गम क्षेत्रमा रहेको हिमाली गाउँमा अझै पनि यातायातको सुविधा पुग्न सकेको छैन। अहिले काठमाडौंदेखि गोरखाको माथिखोलासम्म गाडी पुग्छ। त्यहाँबाट चुम उपत्यका पुग्न चार दिन हिंड्नुपर्छ। हेलिकोप्टर चार्टर्ड गरेर उड्ने हो भने काठमाडौंबाट ३५ मिनेटमा पुगिन्छ, तर त्यसका लागि तीन लाख रुपैयाँ लाग्छ। चुमवासीको एउटा आशा पनि छ- गाउँको प्रचार हुन सक्यो भने चाँडै बाटो बन्छ कि?
तिब्बती बौद्ध धर्मग्रन्थहरूमा ‘बेयुल’ को उल्लेख भएको पाइन्छ। बेयुल भनेको भूगोलका त्यस्ता भूक्षेत्रहरू हुन् जसलाई तिब्बतमा बौद्ध धर्म फैलाउने आचार्य पद्मसम्भवले विशेष पवित्र तथा गुप्त भूमिका रूपमा लिएका हुन्। बेयुलहरू नेपाल, भुटान र तिब्बतका विभिन्न ठाउँमा छरिएका छन्। एउटा बेयुल ‘किमोलुङ’ पनि हो। त्यसको एक अंशका रूपमा चुम उपत्यकालाई लिइन्छ।