मुहार फेरिएको हेटौंडा अस्पतालको सेवामा सुधार होला?
वर्षौंदेखि रिफर सेन्टरको उपमा पाउँदै आएको हेटौंडा अस्पतालको भौतिक मुहार फेरिएसँगै अस्पतालबाट प्रदान हुने सेवामा पनि सुधार आउने अपेक्षा गरिएको छ।
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका-१ मा रहेको एक मात्र सरकारी अस्पताल मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको भवन राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरेकी छन्। त्यस क्रममा राष्ट्रपति भण्डारीले स्वस्थ मानिसबाट मात्रै स्वस्थ समाज र सुदृढ राज्य निर्माण हुने बताइन्। साथै‚ प्रतिष्ठानबाट जनतालाई माया गर्ने स्वास्थ्यकर्मी उत्पादित भए मात्र प्रतिष्ठान स्थापनाको उद्देश्य पूरा हुने बताएकी थिइन्।
राष्ट्रपति भण्डारीले भनिन्‚ “नेपालको औद्योगिक क्षेत्रका रूपमा रहेको प्रदेशको राजधानीमा स्थापित यो प्रतिष्ठानले जनतालाई माया गर्ने स्वास्थ्यकर्मी उत्पादन गर्न सक्दा र स्वास्थ्य अनुसन्धानको क्षेत्रमा काम गर्दा मात्रै जननेता मदन भण्डारीको नाममा स्थापित यस प्रतिष्ठानको उद्देश्य सार्थक हुनेछ।”
३५ करोड ३२ लाख रुपैयाँमा बीएस कन्स्ट्रक्शन कम्पनीले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेपछि त्यही भवनमा केही महीनाअघिदेखि नै सेवा दिन शुरू गरिएको थियो। उद्घाटन भने आज गरिएको हो।
भौतिक पूर्वाधारको अभावले उपचारका लागि आउने बिरामीले हैरानी खेप्नुपरेको बारम्बार गुनासो आउने गरेको थियो। ४० शय्याको अस्पतालले बिरामीको चाप थेग्न सकेको थिएन। यस्तै‚ विशेषज्ञ सेवा पनि नपाइने सेवाग्राहीहरूले बताउँदै आएका थिए। अब भवन व्यवस्थित हुँदा सर्वसाधारणले पाउने सेवासुविधामा समेत सुधार आएको मदन भण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठानका सदस्य उत्सव चौलागाईं बताउँछन्।
अस्पतालमा यसअघि आठ वटा मात्र इमर्जेन्सी शय्या थिए। नयाँ भवनमा इमर्जेन्सी सहित २०० शय्या छन्। नयाँ भवनमा सरे लगत्तै सीटीस्क्यान जडान र सफ्टवेयर इन्टरनेट जडान भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटाले जानकारी दिए। एनआईसीयू र आईसीयू वार्डको पनि व्यवस्था गर्न लागिएको उनको भनाइ छ।
२०१६ सालमा १५ शय्याबाट सेवा शुरू भएको हेटौंडा अस्पताल २०२२ सालमा जिल्ला अस्पतालमा स्तरोन्नति भएको थियो। हेटौंडा अस्पताल विकास सेवा समितिको गठन भएपछि भने ५० शय्या सञ्चालन हुँदै आएको थियो।
सरकारले आर्थिक वर्ष २०६१/६२ सालमा उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति गरेको थियो। तर‚ उपक्षेत्रीय अस्पतालको दरबन्दी पठाउन नसकेकाले २०७१ असार २० को मन्त्रिपरिषद्को निर्णयले ५० शय्या कायम गरी सोही अनुसार दरबन्दी स्थापना भई पदपूर्ति भइरहेको थियो। नयाँ भवनमा सेवा सञ्चालनअघि ११० शय्या थिए।
८८ जना विशेषज्ञ डाक्टर रहेको अस्पतालमा अहिले औसत करीब ७०० जनाले सेवा लिंदै आएका छन्। चिकित्सक सहित ३८७ जना स्वास्थ्यकर्मी कार्यरत छन्।