शव लुकाउन गाडी खोज्दै अस्पताल पुगेपछि...
शव लुकाउन लैजाने गाडी खोज्न निस्किएका एक व्यक्ति अस्पताल पुगेपछि विराटनगरमा महिलाको हत्या भएको खुलेको छ।
फागुन ७ गते राति कोशी अस्पतालमा शववाहन खोज्ने क्रममा प्रहरीले एक व्यक्तिमाथि निगरानी गरेको थियो। उनले विराटनगर-१९ निवासी २८ वर्षीया प्रियंका सुनारको शव लुकाउन गाडी खोजेको पाइएको छ।
प्रहरीले गरेको शङ्काले हत्या भएको शवसम्म पुग्ने बाटो खुलेको हो। मोरङको कटहरी-५ का ६२ वर्षीय रमानन्द राम राति साढे १० बजे शव बोक्ने गाडी खोज्न अस्पताल गएका थिए।
उनले गाडीको खोजी गरेको जानकारी अस्पताल सुरक्षामा रहेका प्रहरीसम्म पुगेको थियो। अस्पतालमै मृत्यु भएका बिरामीको शव हुन सक्ने भनेर केही बेर बेवास्ता गरियो। तर, अस्पतालबाट निकाल्ने शव नभएको थाहा भएपछि प्रहरीले उनलाई सोधपुछ गरेको थियो। “जाँड खाएर मातिएको मान्छेले जे पनि बोल्छ भन्ने जस्तो भयो, केही बेरको सोधपुछपछि हत्याको कुरा सुनाए,” मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले भने।
प्रहरी पनि अस्पतालमा मृत्यु भएका व्यक्तिको शव लैजान शववाहन खोजेको होला भन्ने सोचेर चूप लागेका थिए। “अस्पतालमा शव भइरहन्छन्, शववाहन पनि खोजिन्छ खासै वास्ता भएन,” पोखरेलले भने, “तैपनि ती मानिसको व्यवहारले शङ्का लागेर खोजबिन गरियो।”
प्रहरीले सोधपुछ गर्दै गएपछि रामले नातिनीलाई कुट्दा मृत्यु भएको र शव बोक्न गाडी चाहिएको बताएका थिए। उनको घरमा प्रहरी पुग्दा घटना झूटो पाइएको थियो। रामले नातिनीको शव सुनसरीको बर्जु गाउँपालिकास्थित अमडुवामा रहेको बुहारीको माइतीमा रहेको बताएका थिए।
राति साढे ११ बजे प्रहरी अमडुवा पुग्दा उनले भनेकी नातिनी र बुहारी माइतीमा रहेको पाएपछि प्रहरी फर्किएको थियो। झूटो बोलेको भन्दै रामलाई मध्यरातमा जिल्ला प्रहरी कार्यालयमा ल्याएर पुनः सोधपुछ गर्दा उनले वास्तविक घटना बताए। रामको सूचनाका आधारमा मोरङको बुढीगंगा-२, अमाहीस्थित नरसिंह चौधरीको घरमा रहेको गाईग्वालीमा बोराभित्र प्रियंकाको शव फेला परेको प्रहरी उपरीक्षक पोखरेलले बताए।
घटना विवरण अनुसार, प्रियंकाका श्रीमान् मोरङको कटहरी-५ का रमेश साहले फागुन ७ गते दिउँसो चिनजानका नरसिंह चौधरीको घरमा लगेर श्रीमतीको हत्या गरेको पाइएको छ। साहले पहिले नै जेल बसेर आएका रामको सहयोगमा शव व्यवस्थापनको तयारी गरेका थिए। “अस्पतालबाट शववाहन लिएर जाँदा शङ्का हुँदैन भनेर राति गाडी खोजिएको रहेछ,” पोखरेलले भने। घटनामा संलग्न पाँचमध्ये चार जना पक्राउ परेका छन्।
कटहरी-५ का उमेश सरदार, विराटनगर-७ का श्रीराम चौधरीलाई पनि घटनाको नजिक पाएर प्रहरीले फागुन ८ मा पक्राउ गरेको छ। प्रियंकाको शव व्यवस्थापन गर्न त्यसअघि अर्को गाडी खोजिएको र भाडा रकम नमिलेपछि राम अर्को गाडी खोज्न हिंडेको पाइएको छ।
प्रहरीका अनुसार, प्रियंकालाई यसअघि सरदारले गाडीले किचाएर मार्ने योजना समेत बनाएका थिए। हत्याको कारण खुलेको छैन। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।