राष्ट्रपति उम्मेदवारले बहुमत नपाए फागुन २६ फेरि मतदान हुने
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत नपाएमा फागुन २६ गते फेरि मतदानको तयारी गरिएको छ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदै छ।
त्यसका लागि सोमबार एक कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यालयको उद्घाटन गरेका छन्। आयोगका तर्फबाट मतदाता नामावलीको अन्तिम सूची आज कार्यालयलाई उपलब्ध हुने र कार्यालयले स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने थपलियाले बताए।
पछिल्लो राष्ट्रिय जनगणनाको प्रतिवेदन प्राप्त नभएकाले विद्यमान कानून अनुसार २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानी यस निर्वाचनमा मतभार कायम गरिएको उनले बताए।
प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचनको मतदानका दिन साँझ ७ गतेभित्र मतपरिणाम प्रकाशन गर्ने गरी तयारी भएको बताए। कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा भोलिपल्ट फागुन २६ गते नै निर्वाचन गराइने थपलियाले बताए। मतदान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै हुनेछ।
राष्ट्रपति निर्वाचनका लागि कुल ५२ हजार ७८६ मतभार रहेको छ। राष्ट्रपतिमा निर्वाचित हुन कुल मतभारको बहुमत अर्थात् २६ हजार ३९४ मतभार प्राप्त गर्नुपर्नेछ।
आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई निर्वाचन अधिकृत तोकेको छ। निर्वाचन अधिकृत पौड्यालले मुलुकको सर्वोच्च पदको निर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा गराउन दिइएको विश्वासलाई कामबाट पुष्टि गर्ने प्रतिबद्धता व्यक्त गरे।
दुवै पदका लागि संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहनेछन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, संघीय संसद्का ३३४ र प्रदेश सभाका ५५० गरी कुल ८८४ मतदाता रहनेछन्। प्रतिनिधि सभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त छन्।
संघीय संसद्का प्रति सदस्य ४८ मतभारका दरले २६ हजार ४०० र प्रदेश सभा सदस्यको प्रति सदस्य ७९ मतभारका दरले २६ हजार ३८६ गरी कुल ५२ हजार ७८६ मतभार कायम हुनेछ।
स्वीकृत निर्वाचन कार्यक्रम अनुसार, राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। साथै, फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ।
उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने लगायत कार्यक्रम तय गरिएको छ।
वर्तमान राष्ट्रपतिको पदावधि फागुन २८ गते र उपराष्ट्रपतिको पदावधि आगामी चैत ३ गते समाप्त हुँदै छ। संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक फरक लिङ्ग र समुदायबाट प्रतिनिधित्व हुनुपर्नेछ। (रासस)