आदिल आलमको बयान- कम्मरको समस्याले नो बल र वाइड बल भएको हो
स्पट फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल आलमले कम्मरको समस्याका कारण ‘नो बल’ र ‘वाइड बल’ भएको बयान दिएका छन्।
नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ अभियोगमा पाँच जना विरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। स्पट फिक्सिङको आरोप लागेका सात जना विरुद्ध भने थप प्रमाण भेटिए मुद्दा दर्ता गरिने जनाइएको छ।
जिल्ला सरकारी वकीलको कार्यालय मार्फत जिल्ला अदालतमा दायर गरिएको फिरादपत्रमा मोहम्मद आदिल आलम, महबुब आलम, नितेश गुप्ता (नितेश साह), नवीन कँडेल र रवि माझीलाई विपक्षी बनाइएको छ। उनीहरू स्पट फिक्सिङमा संलग्न रहेको दाबी गरिएको छ।
त्यस्तै, भारतीय नागरिकहरू समीर शेख र वीरेन्द्र साहको पनि संलग्नता देखिएको छ। यससँगै विकास ध्यानी, जतिन अहलुवालिया, अभिषेक सक्लानी, राहुल शर्मा र एन्ड्रे क्याक क्यार्थीको पनि संलग्नता देखिएको जनाइएको छ। तर, सातै जनाको यकीन नाम, थर र वतन नखुलेकाले विपक्षी बनाइएको छैन। उनीहरू विरुद्ध थप प्रमाण भेटिए वा नेपालमा पक्राउ परेमा मुद्दा दायर गरिने फिरादपत्रमा उल्लेख छ।
स्पट फिक्सिङको अभियोगमा मुद्दा दायर गरिएका पाँच जनामध्ये आदिल आलमले कम्मरको समस्याका कारण ‘नो बल’ र ‘वाइड बल’ भएको जिकिर गरेका छन्। आदिलले भनेका छन्, “मलाई कम्मरको बायाँ भागमा समस्या आएकै कारण मिति २०७९ पुस १२ मा सम्पन्न काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौं ओभर र २०७९ पुस १४ मा सम्पन्न भएको जनकपुर रोयल्स र फारवेस्ट युनाइटेडबीचको खेलको छैटौं ओभरमा दुखाइको कारण एक नो बल र एक वाइड बल भएको हो।”
कम्मरमा समस्या आएपछि आफूले प्रशिक्षकलाई जानकारी गराएको उनको बयानमा उल्लेख छ। उनले भनेका छन्, “हाम्रो टीममा तीव्र गतिको बलर नभएको कारण मलाई नै बलिङ गर्न कोचले निर्देशन दिएका कारण मैले बलिङ गरेको थिएँ।”
आफूलाई ‘नो बल’ र ‘वाइड बल’ फाल्न प्रस्ताव आउने बित्तिकै नेपाल क्रिकेट संघ (क्यान)का म्यानेजर विनोद दास र एन्टिकरप्सन म्यानेजर वीर सिंहलाई जानकारी गराएको आदिलले बयानमा बताएका छन्।