पूर्व मन्त्री मथुरा श्रेष्ठको निधन
पूर्व स्वास्थ्य मन्त्री प्रा.डा. मथुराप्रसाद श्रेष्ठको निधन भएको छ।
लामो समयदेखि दम र छाती रोगबाट पीडित श्रेष्ठको सोमबार बिहान काठमाडौंको माइतीघरस्थित न्यूरो अस्पतालमा ८८ वर्षको उमेरमा निधन भएको उनका छोरा डा. जया श्रेष्ठले जानकारी दिए। मानव अधिकार क्षेत्रका अगुवा श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए।
विसं २०४६ मा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्री भएका थिए। उनका ६ छोरा र एक छोरी छन्। उनको मंगलबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिए।