चितवन उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
चितवन-२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ।
आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो। सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ।
नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ।
गत मंसीर ४ गते भएको निर्वाचनमा चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ। आगामी चैत २० गतेका लागि मनोनयनको कार्यतालिका सार्वजनिक भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ।
यस्तै, चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।