बालाजु घटनामा ४० जनामाथि अनुसन्धान शुरू
काठमाडौंको बालाजुस्थित नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ।
यातायात मजदूरका नाममा प्रहरीका दुई वटा भ्यानमा आगो लगाउने, ल्होत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। आन्दोलनकारीले ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एअरफोन लगायत सामग्री लुटपाट गरेका थिए।
उनीहरूले प्रहरी वृत्त बालाजुको बा २ झ १४४ नम्बरको स्कार्पियो र बा १ झ ७२२४ नम्बरको गाडी समेत जलाएका थिए। त्यस्तै, बालाजु र माछापोखरी चोकको ट्राफिक आइल्यान्डमा क्षति पुर्याएको प्रहरीको आरोप छ। आन्दोलनका क्रममा बालाजु चोकको अस्थायी प्रहरी पोस्टमा समेत आगो लगाइएको थियो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको बताए। “प्रहरीको भ्यान आगजानी गर्ने र मल तोडफोड गरी चोरी गर्ने अन्य केही व्यक्तिको पहिचान भइरहेको छ, उनीहरूलाई पनि चाँडै नियन्त्रणमा लिन्छौं,” रिजालले भने।
नेपाल यातायात मजदूर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदूर संगठनको नेतृत्वमा भएको आन्दोलनले उग्र बन्दा तोडफोड तथा आगजनी भएको थियो। घटनामा पक्राउ परेका अधिकांश व्यक्ति चालक, सहचालक, विद्यार्थी र विभिन्न होटल तथा रेस्टुराँका कामदार छन्।
लुटपाटमा संलग्नलाई मुलुकी अपराधसंहिता, २०७४ परिच्छेद २० चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्नाका साथै आगजानी तथा तोडफोड गर्नेलाई मुलुकी अपराधसंहिताको परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूरमा अनुसन्धान भइरहेको प्रवक्ता रिजालको भनाइ छ। (रासस)