मैनालीले ल्याए ‘अभिव्यञ्जना यात्राप्रति’
लेखक गोपी मैनालीको दोस्रो समालोचना संग्रह अभिव्यञ्जना यात्राप्रति प्रकाशित भएको छ।
यसमा नेपाली स्रष्टाका ३० भन्दा बढीका कृतिको समालोचना गरिएको छ। “जुन सर्जकका अभिव्यञ्जनाले मलाई प्रभाव पार्यो, तिनै सर्जकमाथि समालोचना केन्द्रित रहेको छ,” मैनालीले भने।
उनले नेपाली आधुनिक कविता प्रवृत्ति, नेपाली साहित्यिक आन्दोलन र समाज सुधारको सन्देशदेखि महाकवि देवकोटा, बीपी कोइराला, गुरुप्रसाद मैनाली, माधवप्रसाद घिमिरे, हरिभक्त कटुवालसम्मको सिर्जनाको समालोचना गरेका छन्। त्यस्तै, पारिजात, रमेश विकल, सरुभक्तमाथि पनि उनको समालोचकीय दृष्टिकोण प्रस्तुत छ।
विधागत दृष्टिले कविता, कथा, निबन्ध, नियात्रा तथा उपन्यासको विवेचना मैनालीको समालोचना संग्रहमा अटाएका छन्। “२०४० देखि २०७९ सालसम्म लेखिएका समालोचना संग्रहमा समावेश भएकाले समयक्रम र दृष्टिकोणको प्रभावबाट लेखाइ निरपेक्ष छैन,” मैनालीको टिप्पणी छ, “अभिव्यञ्जनाको आफ्नो उद्देश्य आफैं हो, उसको कुनै अलग स्वतन्त्र उद्देश्य हुँदैन भन्ने अभिव्यञ्जनावादी दृष्टिकोण रहे पनि सर्जकले अभिव्यञ्जनासाथ अरू थुप्रै कुरा पनि दिएको हुन्छ। जसलाई कला, मूल्य, प्रभाव, सामाजिक उपादेयताका आधारमा गहन रूपमा हेर्ने प्रवृत्तिले सिर्जनामाथि पुनःसिर्जना हुन पुग्छ।”
सुरभि साहित्य प्रतिष्ठानले प्रकाशित गरेको २७२ पृष्ठको समालोचना संग्रहमा ३२ वटा समालोचना संगृहीत छन्।
पूर्व सचिव मैनालीका अवसाद अभिनयी निबन्धसङ्ग्रह, आँखाभरि रमिता, मनभरि वेदना नियात्रासङ्ग्रह, युगकवि सिद्धिचरणः कृति र प्रवृत्ति विश्लेषण समालोचना, अपेक्षा र अनुभूति र घाउ आफैंलाई दुख्छ निबन्धसङ्ग्रह प्रकाशित छन्।