हिउँदे खडेरीले उत्पादन घटायो, डढेलोको जोखिम बढ्यो
कृषिदेखि जलविद्युत् उत्पादनसम्मलाई गहिरो असर पारेको खडेरीका कारण डढेलोको जोखिम बढेको छ।
यो वर्षको हिउँद एक झरै पानी नपरी सकिन लाग्यो। पश्चिम नेपालका केही जिल्ला बाहेक अन्यत्र माटो भिज्ने गरी हिउँदभर पानी परेन।
जल तथा मौसम विज्ञान विभागका अनुसार, हिउँदका महीनामा औसतमा ६०.१ मिलिमिटर पानी पर्नुपर्ने हो। तर, हिउँद सकिन करीब एक साता बाँकी रहँदा औसतमा जम्मा ७.९ मिलिमिटर मात्रै पानी परेको छ। तथ्याङ्कले यो वर्षको हिउँद सर्वाधिक सुक्खामध्ये एक भएको देखाउँछ।
विभागले मध्य मंसीरदेखि मध्य फागुनसम्म (१ डिसेम्बरदेखि फेब्रुअरी अन्तिमसम्म)का तीन महीनालाई हिउँद मानेको छ। देशभरि २० वटा प्रतिनिधि मौसम केन्द्रको बितेका ३० वर्षको औसत निकाल्दा हिउँदका यी तीन महीनामा सरदर ६०.१ मिलिमिटर पानी परेको छ। तर, यो वर्ष अहिलेसम्म सरदर वर्षाको एक चौथाइ पनि पानी परेको छैन।
राजधानी काठमाडौं सहित देशका कैयौं भागमा त पानी छिट्याएकै पनि छैन। हिमाली क्षेत्रमा पनि फाट्टफुट्ट बाहेक हिमपात भएको छैन।
अहिलेकै सुक्खास्थिति १६ फागुनसम्म लम्बियो भने यो वर्षको हिउँद पछिल्ला दशकहरूकै खडेरीयुक्त वर्षमध्ये एक हुनेछ। २०६२ सालको हिउँदमा सरदर वर्षा ७.१ मिलिमिटर मात्रै थियो। २०७४ को हिउँदमा पनि सरदर १६.७ मिलिमिटर मात्रै वर्षा भएको थियो। २०७३ र २०७२ सालमा पनि सरदरभन्दा झन्डै दुई तिहाइ न्यून वर्षा भएको थियो। सन् २००७ यताका हिउँदमा ६ वर्ष मात्रै सरदरभन्दा बढी पानी परेको छ, अरू वर्ष सुक्खा नै भएका छन्।
जल तथा मौसम विज्ञान विभागले यो वर्षको हिउँदमा थोरै पानी पर्ने आकलन गरिसकेको थियो। विभागले मुलुकका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढी हुने अनुमान गरेको थियो। हिउँदे वर्षा प्रशान्त महासागरमा विकसित हुने मौसमी गतिविधिसँग सम्बन्धित हुन्छ। प्रशान्त महासागरबाट उठ्ने जलवाष्प बोकेको हावा पश्चिमतिरबाट सर्दै नेपाल छिर्न पाए वर्षा गराउँछ, यो अन्यत्रै बरालिए पानी पर्दैन।
प्रशान्त महासागरमा विकसित भएको प्रणाली लालिनाका कारण यो वर्ष हिउँदे वर्षा प्रभावित भएको हो। यो प्रणाली विकसित भएको वर्ष हिउँदमा पानी कम पर्ने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल बताउँछन्।
लालिना प्रणाली विकसित भएका वेला प्रशान्त महासागरमा पानीको तापक्रम सरदरभन्दा कम हुने र जसकारण हावाको बहावमा परिवर्तन भएर पश्चिमी वायुलाई सक्रिय हुन रोक्छ। यो प्रणाली सक्रिय हुँदा नेपालमा पश्चिमबाट प्रवेश गर्ने वायुको प्रभाव कमजोर भएर वर्षा कम हुन्छ।
सहप्राध्यापक पोखरेल माघको दोस्रो सातापछि पश्चिमी वायु क्रमशः नेपाल प्रवेश गरेर देशभरि हिउँदे वर्षा गराउने अनुमान गरिए पनि त्यसो नभएको बताउँछन्। माघमा देशको पश्चिमी क्षेत्रमा मात्रै सामान्य वर्षा भयो। “हिउँदे वर्षाको मौसमी भविष्यवाणी प्रायः मिल्नुपर्ने हो। तर, यो वर्ष साँच्चै जटिल भयो,” पोखरेल भन्छन्, “नेपाल प्रवेश गर्ने अनुमान गरिएको पश्चिमी वायुको बाटो बीचमै फेरबदल हुन पुग्यो।”
नेपालमा वार्षिक पर्ने पानीको पाँचमध्ये चार भाग पानी मनसुन (जून–सेप्टेम्बर)को समयमा पर्छ। बाँकी पानी हिउँद वा मनसुनअघि र पछिका महीनाहरूमा पर्छ। विज्ञहरू जलवायु परिवर्तनको प्रभावस्वरूप धेरै सुक्खा हुने वा धेरै पानी पर्ने जस्ता मौसमी परिस्थिति निम्तने जोखिम औंल्याउँदै आएका छन्। हिउँदको शुरूआतदेखि नै हुनुपर्ने वर्षा अन्तिमतिर मात्रै हुने वा खडेरी र अधिक वर्षाको विषमता बढेको उनीहरूको भनाइ छ।
जलविद्युत्देखि कृषिसम्म असर
हिउँदे वर्षा नहुँदा त्यसले वातावरण मात्रै होइन, कृषिदेखि जलविद्युत्सम्म असर पारेको छ। हिउँदमा पानी कम पर्दा राजधानी काठमाडौं सहित देशभरिको वायु प्रदूषणको तह माथि उक्लिन्छ। हिउँदे वर्षा भयो भने त्यसले धुलाम्मे वायुको प्रदूषण पखालिदिन्छ, जसले गर्दा वायुमण्डल सफा हुन्छ।
हिउँदमा पानी नपरेको सबैभन्दा ठूलो असर कृषि उत्पादनमा पर्ने अनुमान गरिएको छ। कृषि विभागका प्रवक्ता जानुका पण्डित हिउँदे वर्षा नहुँदा गहुँ, तोरी, मुसुरो, तरकारी बालीको उत्पादनमा असर पर्ने बताउँछिन्।
देशमा सिंचाइ हुने क्षेत्रफल कम रहेकाले अधिकांश किसान आकाशे पानीमा भर पर्नुपर्ने बाध्यतामा छन्। नेपालमा करीब दुई लाख हेक्टरमा तोरी, सात लाख ११ हजार हेक्टरमा गहुँ बाली लगाइन्छ। आर्थिक वर्ष २०७७/७८ मा करीब २१ लाख २७ हजार लाख मेट्रिक टन गहुँ फलेको थियो।
हिउँदे वर्षा नहुँदा गहुँ बाहेक जौ, फलफूल, मुसुरो तथा अन्य तरकारी बालीमा पनि असर पर्छ। हिमाली क्षेत्रमा त हिउँ परेन भने स्याउको उत्पादन नै घट्छ। रोगकीराको प्रकोप पनि बढ्छ। जमीनमा चिस्यान नहुँदा उच्च पहाडको मकै उत्पादनमा समेत असर गर्छ।
हिउँदभरि वर्षा नहुँदा सर्वाधिक मार भने जलविद्युत् आयोजनालाई परेको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार, गत वर्षको तुलनामा यो वर्ष जलविद्युत् उत्पादन करीब ७२ प्रतिशतले घटेको छ। “अधिकांश आयोजनाहरू खोलामा पानीको बहाव (रन अफ द रिभर) प्रकृतिका छन्। खोलामा पानीको बहाव घटेका कारण उत्पादन स्वाटसुट्टै घटेको छ,” भट्टराई भन्छन्।
नेपालमा विद्युत्गृहहरूको उत्पादन क्षमता करीब दुई हजार ३०० मेगावाट नाघेको छ। तर, अहिले आयोजनाहरूको करीब ७०० मेगावाट हाराहारी मात्रै विद्युत् उत्पादन गर्ने सामर्थ्य भएको भट्टराई बताउँछन्। खोलामा पानी सुकेका कारण साना जलविद्युत् आयोजनाको उत्पादन घटेको हो। जसले गर्दा प्राधिकरणलाई विद्युत् माग र आपूर्तिबीच सन्तुलन मिलाउन हम्मे परेको छ।
यो हिउँदमा बिहान–बेलुकाको समयमा विद्युत् माग एक हजार ७०० मेगावाटसम्म पुगेको छ। तर, माग अनुसार आपूर्ति नभएपछि प्राधिकरणले ५०० मेगावाटभन्दा धेरै विद्युत् भारतबाट आयात गरिरहेको छ। त्यति गर्दा पनि आपूर्ति हुन नसकेपछि उद्योगहरूलाई विद्युत् कटौती (लोडसेडिङ) गर्दै आएको छ। “सरदर दैनिक ११ हजार मेगावाट आवर विद्युत् भारतबाट ल्याइरहेका छौं, तर पनि आपूर्ति पर्याप्त भएको छैन,” भट्टराई भन्छन्।
हिउँदमा पानी नपरेर खोलामा पानीको बहाव घटेको त छँदै छ, हिमाली क्षेत्रमा हिउँ पनि कम परेकाले गर्मी महीनाको बहाव पनि घट्ने जोखिम छ। हिमालमा पर्याप्त हिउँ पर्दा गर्मी शुरू भएपछि पग्लिएर बहाव बढ्छ। तर, हिउँ नै कम परेकाले गर्मी शुरू भए पनि बहाव धेरै नबढ्ने उनको भनाइ छ। “त्यसैले आगामी वर्षायाम नहुन्जेल विद्युत्को माग र आपूर्तिको सन्तुलन मिलाउन कठिन छ,” भट्टराई भन्छन्।
हिउँदे वर्षा नभएपछि यो वर्ष गर्मी चढ्न शुरू गरिसकेको छ। यो वर्षको हिउँदमा अधिकतम र न्यूनतम दुवै तापक्रम गत वर्षभन्दा बढी रहेको विभागले जनाएको छ। उदाहरणका लागि, गत वर्ष फागुन ५ मा देशभर न्यूनतम तापक्रम जुम्लामा माइनस ३.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम सुनसरीमा २८.३ डिग्री सेल्सियस थियो। तर, यो वर्ष फागुन ४ मा न्यूनतम तापक्रम सबैभन्दा कम जोमसोममा माइनस ३ डिग्री सेल्सियस र अधिकतम तापक्रम नवलपुरमा ३० डिग्री सेल्सियससम्म पुगिसकेको छ।
यसले गत वर्षभन्दा न्यूनतम र अधिकतम दुवै तापक्रम बढेको देखाउँछ। न्यूनतम तापक्रम धेरै तल नझर्दा अत्यधिक जाडोको अनुभव भएन। सहप्राध्यापक पोखरेल भन्छन्, “गत वर्षभन्दा तापक्रम बढिसकेको छ। शिवरात्रिपछि तापक्रम अझ ह्वात्तै बढेर जाने अनुमान छ।”
तापक्रम वृद्धिको सोझो प्रभाव डढेलोमा पर्छ। पोखरेल डढेलोको मुख्य कारण हिउँदमा कम वर्षा हुनु रहेको बताउँछन्। उनको भर्खरै प्रकाशित एक अनुसन्धानले हिउँदमा पानी कम परेको वर्ष डढेलोको परिमाण बढाएको देखाएको छ।
विपद् जोखिम न्यूनीकरण पोर्टलका अनुसार, पछिल्ला सात दिनमा सात स्थानमा डढेलो लागिसकेको छ। “यो वर्ष पानी कम परेको र तापक्रम बढी भएकाले डढेलोको जोखिम ह्वात्तै बढेको छ। चैत-वैशाखमा हुन सक्ने डढेलोको जोखिम फागुनमै देखिन सक्छ,” पाखरेल भन्छन्।