मुन्धुमी महिला स्वतन्त्रता
पुरुषसत्ताले आज पनि महिलाको शरीर र यौनिकतालाई अधीनमा राख्दै वस्तूकरण गरिरहेको देख्दै/भोग्दै आउँदा आदिवासी समुदायको परम्परागत दर्शन मुन्धुममा रहेको लैङ्गिक उदारताले विस्मित तुल्याउँछ।
याक्थुङ (लिम्बू) जातिको मूल ग्रन्थ तथा सम्पूर्ण जीवनदर्शन हो, मुन्धुम। महत्त्वपूर्ण ज्ञान समेटिएकाले यसलाई संस्कृति र संस्कारको मार्गनिर्देशक पनि मानिन्छ। लिम्बू समुदाय जन्मनुअघिदेखि मृत्युपर्यन्त विविध विधिविधान र अवसरमा मुन्धुम गाउँछ। मुन्धुम मिलाए कुनै पनि संस्कार राम्ररी सम्पन्न हुन्छ भन्ने मान्यताले यसको महत्त्व दर्शाउँछ।
मुन्धुम अध्येता डीबी आङ्बुङका अनुसार, सभ्यता र समाजको विकासक्रममा भएका अविस्मरणीय घटना, विशेष सिकाइ र अनुभवको सँगालोलाई पुर्खाले मौखिक रूपमा पुस्तान्तरण गर्दै ल्याएका थिए, त्यसैलाई मुन्धुम भनिन्छ। “आदिवासी समुदायले जीवन र जगत्लाई कसरी हेथ्र्यो र कसरी बुझ्थ्यो भन्ने कुरा मुन्धुममा देख्न पाइन्छ,” उनी भन्छन्।
मुन्धुमले समग्रतामा पृथ्वी, प्रकृति, पशुपक्षी र समाजको ज्ञान समेटेको छ। तीमध्ये मलाई मुन्धममा अन्तर्निहित लैङ्गिक दृष्टिकोण र जीवन-जगत्प्रतिको बुझाइले आकृष्ट गरेको छ।
मुन्धुममा मानव सृष्टिको पनि प्रसङ्ग छ। त्यहाँ वर्णित सर्वशक्तिमान् सृष्टिकर्ता तागेरा निङ्वाफुमाङ महिला भएकाले यसमा प्रसवको प्रक्रिया जीवन्त रूपमा देखाइएको छ। तागेरा निङ्वाफुमाङले विभिन्न पटकको प्रयासबाट संसारको सृष्टि गरेपछि पोरोक्मी याम्फामी देवहरू बनाउँछिन्। ती पुरुष देवताले मान्छे विना सृष्टि सुहाउँदो नभएको भन्दै मान्छे बनाउन थाल्छन्।
सुन, चाँदी, तामा जस्ता धातुले बनाएको मान्छेमा प्राण नभरिएपछि उनीहरू तागेरा निङ्वाफुमाङलाई पुकार्छन्। उनले माटो, झ्याउ र लेउबाट मान्छे बनाउन सल्लाह दिन्छिन्। त्यसरी बनाएको मान्छेले सास त फेर्छ, तर बोल्न नसकेपछि देवताहरूले त्यसलाई बिगारेर फ्याँकेको प्रसङ्ग मुन्धुममा भेटिन्छ।
त्यसपछि मुजिङ्ना खेयेङ्नाको जन्म हुन्छ। पुरुष देवताहरूले उनलाई बनाएको प्रसङ्ग नभेटिने हुनाले उनी आफैं उत्पत्ति भएको कथानकको आशय देखिन्छ। मुजिङ्ना खेयेङ्ना आफ्नै सुरमा खेल्दै रूख चढेको वेला बतासले उनलाई गर्भवती बनाउँछ। उनमा गर्भावस्थाका लक्षण देखा पर्छन्। उनी यो के भएको भनेर पोरोक्मी याम्फामी देवहरूलाई सोध्छिन्। उनीहरू यसबारे आफूहरूलाई केही थाहा नभएको बताउँदै भन्छन्ः
तिमी त
मानिसको जुनी हौ, मान्छेको स्वरूप हौ
बैंसालु भयौ कि, यौवना भयौ कि?
पुरुषको प्यासी भयौ कि, तन्देरीको प्यासी भयौ कि?
देवहरूले उनलाई तागेरा निङ्वाफुमाङलाई सोध्न सुझाव दिन्छन्। त्यसपछि मुजिङ्ना खेयेङ्ना र तागेरा निङ्वाफुमाङबीच यस्तो संवाद हुन्छः
हे तागेरामा, हे निङ्वाफुमा
म त - पुरुष पनि विना तन्देरी पनि बेगर
जीवनसाथी पनि विना, सारथि पनि बेगर
शीतलताको प्यासी हुन्छु, गुलियोको चाहना राख्छु नि
रातो माटो चाहन्छु, सेतो माटोको भोको हुन्छु नि
अन्नहरू जुधेर मलाई अवाक्कै हुन्छ नि
गर्भ पनि हल्लिन्छ, भ्रूण पनि हल्लिन्छ नि
मलाई के भएको, यो कस्तो भएको होला नि?
भनी जिज्ञासा राख्दा, सोधनी राख्दा,
हे मुजिङ्नामा, हे मुयङ्नामा
हे सिङ्सारमा, हे थेइङ्नामा !
म पनि कुमारी छोरी हुँ, यौवना नारी हुँ
यस्तो केही हुनु छैन है, भोग्नु छैन है।
तागेरा निङ्वाफुमाङले मुजिङ्ना खेयेङ्नालाई उनी सृष्टि चलाउन आएकी महिला भएको बुझाउँदै संसारमै फर्किन भन्छिन्।
संसारमा हावी पुरुषसत्ताका सृष्टिकथाहरूभन्दा यो धेरै फरक छ। चाहे हिन्दू ‘मनु’ हुन् वा इसाई ‘आदम’, सृष्टिको पहिलो मानवलाई पुरुषकै रूपमा स्थापित गरिएको पाइन्छ। तर, मुन्धुमको सृष्टिचर्चामा पहिलो मानव महिला छिन्। महिलाको प्रजननशक्तिलाई पापका रूपमा व्याख्या गरिएको हामीले सुन्दै आएका छौं, चाहे त्यो महीनावारीलाई इन्द्रको ब्रह्महत्याको पाप मान्ने हिन्दू धर्म होस् वा महिलाले यौनिकताको ज्ञान पाएपछि आदिमानव जोडीलाई देवताले स्वर्गबाट निकाल्ने इसाई धर्म। त्यसको विपरीत यहाँ एउटी अविवाहिता गर्भवती भएको र उनकी देवीले त्यसको प्रशंसा गरेको देखिन्छ।
महिलाको शरीर र विशेषगरी गर्भ पुरुषकै अधीनमा हुनुपर्छ भन्ने आम बुझाइभन्दा विपरीत छ यो सृष्टिकथा। यहाँ मुजिङ्ना खेयेङ्नाको जीवनसाथीको खोजी गरिएको छैन, बरु तागेरा निङ्वाफुमाङले उनलाई त्यो गर्भावस्था कसरी पार लगाउने, बच्चा कसरी जन्माउने, कसरी हुर्काउने र कसरी सृष्टि चलाउने, भन्ने ज्ञान दिन्छिन्।
सन्तान जन्मनै लाग्दा, सुत्केरी हुँदा
सरसामान जोडेर हाचेप्मा अनुष्ठान गर्नु है
बिमारले भेट्छ है, सुत्केरी व्यथाले समात्छ है
ओख्लीको फेदलाई अँगालो नमार्नु है
जाँतोमाथि घोप्टो नपर्नु है
दैलोको फेदमा समातेर नबस्नु है
मूल खम्बालाई पक्डेर नबस्नु है
लेकाली वेतको नाम्लोमा, वेतको नाम्लोमा
हातले समाई झुण्डिनु, शरीरलाई झुण्ड्याई अड्याउनू
गोडाले टेकेर अलक्कै उँचो गरेर बस्नु
खुट्टाको बूढी औंलाले अडेसिएर बस्नु
तिघ्राहरूले फारेर बस्नु
जायजन्म हुन्छ है, सुत्केरी हुन्छौ है।
त्यसपछि तागेरा निङ्वाफुमाङले मुजिङ्ना खेयेङ्नालाई खानपान सहित विभिन्न सांसारिक पक्षबारे ज्ञान दिन्छिन्।
मेरो समाजले किशोरी छोरी उत्ताउली हुन्छन् भनेर बालकैमा विवाह गरिदिनुभन्दा ‘तिमी यौवना भयौ कि? तिम्रो यौनिकताको समाधान आफैं निकाल्छौ कि?’ भनिदिंदा कस्तो हुन्थ्यो होला? ‘म गर्भवती भएँ’ भन्दा मेरो समाजका पुरुषले ‘गोठमा बस्न जाऊ, कसैलाई छोएमा पाप लाग्छ’ भन्नुको सट्टा ‘हामीलाई सृष्टिबारे थाहा छैन, अग्रज महिलासँग सोध’ भनिदिंदा कस्तो हुन्थ्यो होला?
मेरो देवताले ‘दूधदही नखाऊ’ भन्नुको सट्टा ‘फलानो अन्न खाऊ, फलानो कुरा पिऊ, जीउमा तागत आउँछ’ भनिदिए कस्तो हुन्थ्यो होला? ‘ममा त तन्देरी वा जीवनसाथी बेगरै गर्भावस्थाका लक्षण देखा परे’ भन्दा ती सबैले ‘तँ कलङ्क होस्’ भन्नुको सट्टा ‘तँ सृष्टि चलाउने सृष्टिकर्ता होस्’ भनिदिंदा कस्तो हुन्थ्यो होला? महिलाका लागि त्यो समाज कति सजिलो हुन्थ्यो।
सृष्टिका अवयव नै नबुझ्ने र त्यसलाई अमूर्त शब्दमा व्याख्या गर्ने पुरुष देवताभन्दा यी सब भोगेकी देवीसँग मेरो सम्बन्ध कति निकट हुन्थ्यो होला? तर, मेरो देवताले त मलाई आफ्नो शरीरलाई पुरुषलाई ब्रह्मचर्यबाट विचलित गराउने, पापी, वर्जित, भयानक वस्तुका रूपमा बुझाएको छ।
आजको आधुनिक प्रविधिको समयमा पनि इन्टरनेट र सामाजिक सञ्जालहरूमा महिलाको ‘निप्पल सेन्सर’ गर्ने यो पूँजीवादी पुरुषसत्ताले महिलाको यौनिकताको वस्तूकरण गरी नै रहेको छ। सभ्यताको नाममा गुम्सिएको महिलाको यौनिकतालाई आज हामी यौनशिक्षा जस्ता आधुनिक मानिएका तरीकाले सार्वजनिक बहसमा ल्याउन खोज्दै छौं, तर त्यो त हाम्रा कतिपय आदिवासी समुदायले लामो समयदेखि गरिआएको अभ्यास रहेछ।
लिम्बू समाजमा पछिल्लो समय भने मुजिङ्ना खेयेङ्ना पात्र विवादित बनेको डीबी आङ्बुङ बताउँछन्। “मुन्धुममा मुजिङ्ना खेयेङ्नाका श्रीमान्को उल्लेख छैन जसमाथि अहिले प्रश्न उठ्ने गरेको छ,” आङ्बुङ भन्छन्, “कतिपयको भनाइमा चाहिं मुजिङ्ना खेयेङ्नाभन्दा अगाडिका कथा मिथक हुन्। उनी याक्थुङ समुदायकी आदिमाता हुन्, त्यसकारण उनका श्रीमान् को हुन् भन्ने कुरा खुलेको छैन र महत्त्वपूर्ण पनि छैन।”
लिम्बू संस्कृतिकी अध्येता सिर्जना सुब्बा पनि मुजिङ्ना खेयेङ्नाको कथा विवाह संस्था स्थापित हुनुभन्दा अगाडिको भएकाले उनका श्रीमान्को महत्त्व नभएको बताउँछिन्। “त्यसैले यो कथाले मानव समाजको विकासक्रम पनि देखाउँछ,” उनी भन्छिन्।
विवाह संस्थाको स्थापना हुनुअघि अधिकांश मानव समाज मातृसत्तात्मक थियो भन्ने तथ्य मानवशास्त्रीहरूले उजागर गरिसकेका छन्। र, मातृसत्तात्मक समाजले महिलाको शरीर र प्रजनन शक्तिलाई केन्द्रमा राख्थ्यो, त्यसलाई सामान्य प्राकृतिक प्रक्रिया मान्दै सिर्जना र जीवनलाई कसरी अघि बढाउने भनेर महिलालाई सिकाउँथ्यो भन्ने उदाहरण मुन्धुममा पाइन्छन्। विश्वभर झन झन हावी हुँदै गएको पूँजीवादी पुरुषसत्तालाई चुनौती दिने ज्ञान र पुरुषसत्ता बाहेक जीवन जिउने र संसारलाई हेर्ने अरू पनि तरीका हुन सक्छन् भन्ने प्रमाण यी शब्दले दिएका छन्।
त्यस बाहेक मुन्धुममा जीवजन्तु, पशुपक्षी, धर्ती, वातावरण, कृषि, सामाजिक सम्बन्धहरूबारे ज्ञान, प्रकृतिमा मानवको स्थान र जीवन-जगत् हेर्ने लिम्बू समुदायको दृष्टिकोण पनि पाइन्छन्। तर, यो दृष्टिकोण र सामाजिक संरचनाको अभ्यास भने आज जोखिममा पर्दै गएको देखिन्छ।
मुन्धुम अध्येता डीबी आङ्बुङको सम्पादन र नेपाली अनुवादमा लिम्बू समुदायका सम्पूर्ण मुन्धुम सङ्कलित २००० पृष्ठको याक्थुङ साम्जिक मुन्धुम हालै प्रकाशन भएको छ। मौखिक परम्परामा रहेको मुन्धुमलाई पहिलो पल्ट यति बृहत् रूपमा लिपिबद्ध गरिएको हो। पुस्तकमा एक दर्जनभन्दा बढी सङ्कलकको योगदान छ।
सङ्कलकमध्येका दलबहादुर येङ्देन विगतमा यी मुन्धुम विभिन्न सामाजिक समारोहमा हप्तौं लगाएर गाइने गरेकोमा अहिले गीत पूरै जान्ने मानिस थोरै मात्र रहेको बताउँछन्। त्यसमाथि यो कुरा अरूलाई सुनायो भने ज्ञान हराउँछ भन्ने मान्यता रहेकाले यी मुन्धुम सङ्कलन गर्नै गाह्रो भएको सङ्कलकहरू बताउँछन्। “त्यही मान्यता रहिरहे भएको ज्ञान पनि हराउँछ भन्ने लागेर हामीले मौखिक ज्ञानको लिखित अभिलेखीकरण गरेका हौं,” अर्का सङ्कलक पूर्णप्रसाद तबेबुङ भन्छन्।
हुन त यसअघि पनि ब्रायन हज्सन जस्ता विदेशी र इमानसिंह चेम्जोङ र बैरागी काइँला जस्ता अध्येताले मुन्धुमहरूको सङ्कलन गरेर पुस्तक निकालेका छन्। तर, ती पुस्तकमा मुन्धुमका अंश मात्रै भेटिन्छन्। यो पुस्तकमा भने सबै मुन्धुम पहिलो पटक एकै ठाउँमा सङ्कलन गरिएको र क्षेत्रीय विविधतालाई पनि समेटिएको सम्पादक आङ्बुङ बताउँछन्।
(भट्टराई स्वतन्त्र पत्रकार तथा लोकसाहित्य अनुसन्धाता हुन्। नयाँ स्तम्भ ‘अनुश्रुति’ मार्फत उनले नेपालका आदिवासी समुदायका भाषा र ती भाषासँगै जोखिममा परेका साहित्य, संस्कृति र ज्ञानबारे शृङ्खलाबद्ध चर्चा गर्नेछिन्। हिमालको २०७९ फागुन अंकबाट।) -सम्पादक