नीलडाम
सालीबारे एउटै मात्रै विशेष र अनौठो कुरा यही थियो कि ऊ मासु खान्नथी। शुरूदेखि नै उसको परिवारमा घर्षणको कारण बनेको थियो।
दुई वर्षअघिको गर्मी याममा उसको घरमा सालीले नाडी काटेकी थिई। अलिक ठूलो ठाउँ खोज्दै उनीहरू भर्खरै नयाँ घर सरेका थिए। पत्नीका सबै नातेदार दिउँसो खाना खाने गरी पाहुना आएका थिए। साली शाकाहारी बनेको बारे उसले सुनेको थियो, खूब मासु खान मन पराउने त्यो परिवारले उसको नयाँ अवतारलाई स्विकार्न सकेको थिएन। ससुरालाई त झन् फिटिक्कै मन परेको थिएन।
सालीलाई परिवारले किन त्यसरी गाली गरेको थियो भन्ने उसले नबुझेको हैन, तर भियतनाम युद्ध लडेको उसको ससुरो बूढोले त्यसरी अटेरी छोरीको गाला चड्काउनु अनि जबर्जस्ती उसको मुखमा मासुको चोक्टा कोच्नु चाहिं अर्कै कुरा थियो। त्यस दिनबारे जतिपटक सोचे पनि वास्तवमा भएको घटनाक्रम साँच्चै भएकै हो भनेर आफूलाई पत्यार दिलाउन मुश्किलै हुन्थ्यो। बरु कुनै अनौठो नाटकको दृश्य झैं लाग्थ्यो।
अरूभन्दा जीवन्त र भयानक सम्झना त्यो चीत्कारको थियो, जुन आफ्नो मुखतिर आइरहेको मासुको चोक्टा देखेर सालीबाट विस्फोट भएको थियो। मुखबाट मासु थुकेर फालेपछि फलफूल काट्ने चक्कु थुतेर उसले पालैपालो आफ्नो परिवारका सबैको अनुहारमा हेरेकी थिई, धरापमा परेको शिकारले झैं आँखा फारेकी थिई।
भलभल्ती रगत बग्न थालेपछि उसले सिरकको खोलबाट पट्टी च्यातेर सालीको नाडीमा बाँधेको थियो, उसको शरीरलाई उठाएको थियो। शरीर यति हलुङ्गो कि ऊ आत्माको छायासरी मात्रै थिई। कार पार्किङतिर दौडँदै गर्दा आफ्नो रफ्तार र आँट देखेर आफैं छक्क परेको थियो। उसमा यो खूबी पनि छ भन्ने उसले पहिले सोचेकै थिएन।
सालीको विचेत आकृतिले आकस्मिक उपचार पाउँदै गरेको हेरिरहँदा उसले आफ्नै शरीरभित्र केही चिज टुटे झैं आवाज सुनेको थियो। उसले त्यस क्षणमा अनुभव गरेको भावना के थियो भन्ने अझैसम्म पनि निश्चयका साथ व्यक्त गर्न सकेको थिएन। उसकै सामु कसैले आफ्नो शरीरमाथि आक्रमण गरेकी थिई, मासुको लोथ्रालाई झैं टुक्राउन खोजेकी थिई। सालीको रगतले उसको शर्ट निथु्रक्कै भएको थियो। उसको पसिनामा घुल्दै गाढा अँध्यारो टाटा बनेको थियो।
साली बाँच्छे कि भन्ने आशा गरेको तर त्यसरी बाँच्नुको अर्थ के होला भन्ने पनि शङ्का गरेको अहिले सम्झ्यिो। सालीले आफ्नो ज्यान लिन खोजेको क्षणबाट सम्पूर्ण वास्तविकता नै फेरिएका थिए। उसलाई जबर्जस्ती मासु खुवाउन खोज्ने उसका आमाबुबा, टुलुटुलु हेरिबस्ने दिदी र भाइ। उनीहरू हरेक व्यक्ति एक्कासि शत्रु नै नभए पनि अब टाढिएर बिरानो भएका थिए। साली होशमा फर्किंदैमा परिस्थिति सुल्टिने थिएन।
अहिले उसले आकस्मिक प्रयास मात्रै गरेकी भए पनि फेरि अर्को पटक मर्ने प्रयास नगर्ली भन्ने निश्चित थिएन। र, उसले दोस्रो पटक प्रयास गरे अलिक होशियार भएर प्रयास गर्थी। अर्थात्, त्यो दिनमा झैं उसलाई रोक्ने त्यहाँ कोही नहुन पनि सक्थ्यो। एक्कासि आफ्नो सोचको निष्कर्षबारे ऊ सचेत भयो। साली त्यस दिन फेरि होशमा नआए सबैका लागि सजिलो हुने थियो। ऊ उठी भने अन्योलको परिस्थिति हुन्थ्यो, त्रासद हुन्थ्यो, बरु आँखा चिम्लिएर निदाएकै वेला झ्यालबाट फ्याँकिदिए सजिलो हुन्थ्यो।
सालीमाथिको खतरा टरेपछि साढुभाइले दिएको पैसाले उसले पसलमा गएर नयाँ शर्ट फेरेको थियो। रगतको दुर्गन्ध बोकेको मैलो शर्टलाई फ्याँक्नुको साटो पोको पारेर ट्याक्सीमा घर लगेको थियो। बाटोभरि उसलाई पछिल्लो भिडिओकृति मनमा आइरह्यो। त्यो कृतिलाई आफूले अत्यन्तै कष्टदायी अनुभवका रूपमा सम्झिएको पाउँदा अचम्म पनि मान्यो।
त्यो कृति उसले घृणा गर्ने तथा झूटो मान्ने विम्बहरूको सेरोफेरोमा रहेर रचिएको थियो, सङ्गीत र ग्राफिक सबटाइटलको मोन्टाजका रूपमा प्रभाववादी शैलीमा सम्पादन गरिएको थियो- विज्ञापनहरू, समाचार तथा टीभीमा देखाइने नाटकका दृश्य, नेताहरूका अनुहार, भत्किएका पुल तथा डिपार्टमेन्ट स्टोरहरू, बेघर डुलुवाहरू र सन्चो नहुने रोगले ग्रस्त बालबच्चाका आँखामा आँसु।
एक्कासि वमन होला झैं भएको थियो। ती विम्बहरूले पीडा दिएका थिए। उसले तिनलाई घृणा गरेको थियो। त्यो कृतिमा सामेल एक-एक विम्ब; जससँग जुझ्दै उसले कैयौं रात बिताएको थियो, जसले ऊभित्र उमालेका संवेदनासँग साक्षात्कार गर्ने संघर्ष गरेको थियो। अहिले आएर त्यही कृति हिंसाको एक नयाँ स्वरूप भए झैं लाग्दै थियो। ठीक त्यही क्षणमा उसका विचारले कुनै सीमा नाघेका थिए। हुत्तिइरहेको ट्याक्सीको ढोका खोलेर बाहिरको रोडमा लड्ने इच्छा तीव्र भएको थियो।
ती विम्बबारे वा तिनले दर्शाउने यथार्थबारे सोचिरहन उसका लागि असह्य भएको थियो। ती विम्बसँग बाँच्न सहजै रहँदा शायद तीप्रति उसको घृणा अविकसित नै थियो वा तिनले उसलाई पर्याप्त मात्रामा बिथोलेका थिएनन्। तर, त्यो उधुम गर्मीको दिनमा ट्याक्सीभित्र पिल्सिएर सालीको रगतको नाकै पोल्ने गन्धसँगै बगिरहँदा ती विम्ब र त्यो यथार्थले एक्कासि उसमाथि आक्रमण गरेका थिए।
पित्तको तीतो घाँटीसम्मै हिलिक्क उर्लेको थियो र सास छातीभित्रै निसासिएको थियो। फेरि अर्को कृति सिर्जना गर्न सक्ने बन्नुअघि एक युग नै बित्ला कि भन्ने लागेको थियो। थाकेको थियो र जीवनदेखि विरक्त लागेको थियो। त्यसले बिटुल्याएका चिजसँग जुझ्ने सामर्थ्य हराएको थियो।
पछिल्लो दश वर्ष जतिमा उसले गरेको काम बिस्तारै ऊबाट विमुख हुँदै थियो। अब ती कृति उसका रहेनन्। कुनै ताका चिनेको वा चिनेको छु भन्ने भ्रम पालेको कुनै अपरिचित व्यक्तिको बनेका थिए, कुनै अनिश्चित विगतमा।
*** *** ***
फोनको अर्कापट्टि उसकी साली निःशब्द थिई, तर ऊ त्यहाँ छे भन्ने थाहा थियो। कसैले सुस्तरी सास फेरे झैं आवाज टेलिफोन लाइनको क्यारक्यारसँगै मिसिएर आइरहेको थियो।
“हेलो!” बोली फुटाएर बोल्न मुश्किल भएको थियो उसलाई, “सालीज्यू, म हो के! जी वूको आमाले...!” यो पाखण्ड, यो धोखाधडीका लागि आफैंसँग घिन लागेर आयो, तर पनि त्यो भावनालाई परास्त गर्दै फोनमा बोलिरह्यो, “तिम्री दिदीले चिन्ता गर्दै छिन्, बुझिनौ?”
प्रत्युत्तर अझै पनि आएन। रिसिभरमा खुइøय काढ्यो। साली उतापट्टि सधैं झैं खाली खुट्टा उभिइरहेकी छे भन्ने उसलाई थाहा थियो। मानसिक अस्पतालमा केही महीनाको बसाइ सकिएपछि साली उसकै घरमा बस्न आइपुगेकी थिई। उसकी पत्नी र माइतपट्टिका सबै जना उसको साढुभाइलाई फकाउन गएका थिए, सालीलाई फिर्ता घर लैजाऊ भन्दै।
भाडाको सानो अपार्टमेन्टमा सर्नुअघि उसकै घरमा सालीले बिताएको एक महीनाको समयमा उसको उपस्थितिले उनीहरूलाई एक रत्ती पनि अप्ठेरो पारेको थिएन। किन पनि भने त्यस वेलासम्म उसले आफ्नी सालीको जिउको नीलडामबारे थाहा पाएको थिएन। त्यसैले उसलाई अबोधगम्य तर फगत दयाकी एक पात्रका रूपमा मात्रै हेरेको थियो।
साली उसै पनि धेरै बोल्दिनथी। प्रायः समय बरन्डामा हेमन्त ऋतुको कोमल घाम तापेर बिताउँथी। गमलाबाट झरेका सुक्खा पात टिपेर हातमा मल्दै मिहिन धुलो बनाउँथी वा हत्केला फिँजाएर भुइँमा बनाएका छाया हेरेर मग्न भइबस्थी। उसकी पत्नी कुनै काममा व्यस्त भएको वेला परे जी वूको स्याहारमा सघाउँथी, छोरालाई बाथरूम लगिदिन्थी, नुहाइदिन्थी। र, उसका नाङ्गा पैतालाले चिसा टाइल चुमिरहेका हुन्थे।
यस्ती मान्छेले कुनै वेला आत्महत्या गर्न खोजेकी थिई वा अपरिचित मानिसहरूको भीडबीच छाती उदाङ्गै पारेर सौम्य भाव सहित बसेकी थिई भन्ने पत्याउन मुश्किल हुन्थ्यो। त्यो व्यवहार आत्महत्या प्रयासपछिको मतिभ्रमको उपज मात्रै थियो रे! अझैसम्म पत्याउन मुश्किल थियो कि रक्ताम्मे सालीलाई पिठ्युँमा बोकेर ऊ अस्पतालतिर दौडेको थियो। त्यो अनुभवले उसमाथि गम्भीर असर पारेको थियो, मानौं अर्कै कुनै स्वास्नीमान्छेसँगको एउटा घटना वा अर्कै कुनै कालखण्डको स्मृति।
सालीबारे एउटै मात्रै विशेष र अनौठो कुरा यही थियो कि ऊ मासु खान्नथी। शुरूदेखि नै उसको परिवारमा घर्षणको कारण बनेको थियो। तर, यो प्रारम्भिक परिवर्तनपछि उसको व्यवहार दिनानुदिन यतिसम्म अनौठो हुँदै गएको थियो कि आखिर ऊ नाङ्गै छाती यताउता डुल्नेसम्म पुगेकी थिई। उसको लोग्नेले ऊ शाकाहारी हुनुलाई अब ऊ कहिल्यै पनि निको हुन्न भन्ने कुराको प्रमाण मानिसकेको थियो।
“पहिले सधैं आज्ञाकारी थिई, झट्ट हेर्दा त त्यस्तै थिई क्यारे! उसै पनि अलिक खुस्केकै आइमाई, त्यसमाथि हरदिन औषधि खानुपर्ने भएपछि! अरू के हुन्थ्यो, झनै खुस्कने नै भई नि!”
*** *** ***
ऊ झसङ्ग भएको थियो। स्वास्नीलाई त्यसरी मिल्काउनुलाई उसको साढुभाइले अत्यन्तै स्वाभाविक माने झैं देखिन्थ्यो। मानौं, स्वास्नी अब बिग्रेको हातेघडी वा अन्य कुनै घरेलु सामान बनेकी होस्।
“फेरि मलाई ठूलै भिलेन चाहिं नबनाउनू है दाइ! यहाँनेर असली पीडित त म पो हुँ, जसले पनि बुझेको छ नि!”
उसकी पत्नीले झैं परिस्थितिको यथार्थलाई नकार्न नसकेरै ऊ यस मामिलामा तटस्थ बस्यो। उसकी पत्नीले भने बहिनीज्वाइँलाई पारपाचुकेको औपचारिक प्रक्रिया शुरू नगर्न फकाइरही, अझै केही बेर कुर्नुस् भन्दै गिडगिडाई। तर, चियोङले ढिपी छोडेन।
अहिले चियोङको अनुहारलाई मस्तिष्कबाट पर धकेल्ने प्रयास गर्यो। त्यो साँघुरो निधार, चोसे चिउँडो र हठी हाउभाउ, जुन उसलाई सधैं अप्रिय लागेको थियो। एक पटक फेरि योङ्ह्येको नाम बोलाउने कोशिश गर्यो।
“जवाफ त देऊ साली! जे भने पनि हुन्छ तर एक वचन बोल न!” उसले फोन राख्नु बाहेक उपाय छैन भन्ने सोच्दै गर्दा ऊ बोली।
“पानी उम्लिँदै छ!” आवाजमा कुनै वजन थिएन, चराको प्वाँख झैं। न त्यसमा बिरामी मान्छेको स्वरमा अपेक्षा गर्न सकिने प्रकारको उदासी थियो, न कुनै अन्यमनस्कता। चहकिलो वा चङ्गा पनि थिएन। त्यो सबैतिरबाट हराएको व्यक्तिको सुस्त आवाज थियो, अस्तित्वका भिन्न अवस्थाबीचको सीमाञ्चलमा भौंतारिन पुगेको व्यक्ति।
“स्टोभ बन्द गर्नु छ।”
“सालीज्यू! म!” ऊ हतारिएर बोल्न थाल्यो। सालीले फोनकल काटिदेली कि भनेर आत्तियो, “म अहिल्यै त्यहाँ आए हुन्छ? आज बाहिर त कतै जाँदै छैनौ नि?”
छोटो मौनतापछि आएको कटक्क आवाजले फोनकल अन्त्य गरिएको सङ्केत दियो। पसिनाले लतपतिएको हातले फोनको रिसिभर फिर्ता राख्यो।
*** *** ***
सालीको जीउमा रहेको नीलडामबारे आफ्नी पत्नीबाट सुनेपछि मात्रै त उसले सालीलाई हेर्ने दृष्टिकोण बदलिएको थियो। त्यसअघिसम्म सालीसँगको व्यवहारमा उसको कुनै स्वार्थ लुकेको थिएन। सालीले आफ्नो परिवारसँग बिताएको समयको हाउभाउ र व्यवहार सम्झिने बित्तिकै उसको शरीरभरि ओतप्रोत हुने यौनेच्छा त्यो समय उसले साँच्चै भोगेको अनुभूति हैन, बरु अहिले ती अनुभवलाई मनमा बारम्बार खेलाउनुका नतीजा थिए।
बरन्डामा बसेर आफ्नो हातको छायासँग खेल्दा सालीको अनुहारमा छाउने अन्यमनस्कता, उसको छोरालाई नुहाउँदै गर्दा सालीको खुकुलो ट्र्याकसुटबाट चियाइरहेका सेता गोलीगाँठा, टीभीअघि असरल्ल पसारिएको उसको शरीरको बान्की, अर्धनग्न पिँडौला, अस्तव्यस्त केश सम्झिँदा उसको जीउ तातो भए झैं हुन्थ्यो। र, यी सबै स्मृतिमाथि मुद्रित थियो त्यो नीलडाम। त्यो दाग जुन नवजात शिशुका पिठ्युँमा प्रायः देखिन्थ्यो, तर वयस्कता आउनुभन्दा धेरै अघि नै विलीन भइसक्थ्यो।
अहिले आएर सालीले मासु खान छोड्नु अनि सागसब्जी र अन्नपात मात्रै खानु पनि त्यो फूल जस्तै नीलडामको आकृतिसँग मेल खाए झैं लाग्यो। यतिसम्म कि जेलिएका ती दुई तथ्यलाई एक-अर्काबाट केलाउन सम्भव रहेन। सालीको धमनीबाट पोखिएको रगतले उसको कमिजलाई लछप्पै भिजाएर रातो सिमीको झोल कटकटिएसरी धमिलो गाढा टाटा बन्नुको तथ्य अहिले उसको भवितव्यको विस्मयकर र अभेद्य पूर्वाभास झैं लाग्यो।
एउटा महिला विश्वविद्यालय नजिकै शान्त गल्लीमा सालीको कोठा थियो। अग्लो बिल्डिङ अगाडि पत्नीले कर गरेकीले ल्याएका दुई झोला फलफूल बोकेर उभिइरह्यो; सुन्तला, जेजु टापुको नासपाती र स्याउ, बेमौसमी स्ट्रबेरी। हातपाखुराका गाँठा परेका मासु दुखे, तर अक्क न बक्क भएर ऊ त्यहीं उभिइरह्यो। त्यसरी उभिइरहँदा सालीको अपार्टमेन्टसम्म उक्लिन पर्दा, सालीलाई प्रत्यक्ष भेट्न पर्दा आफू डराइरहेको छु भन्ने पनि बुझियो।
केही बेरपछि फलफूलका झोला भुइँमा राखेर मोबाइल फोन खोल्यो र सालीको नम्बर डायल गर्यो। दश पटक घण्टी गइसके पनि सालीले फोन नउठाएपछि फलफूलका झोला उठाएर भर्याङ चढ्न थाल्यो। तेस्रो तल्ला पुगेपछि पर कुनाको अपार्टमेन्टमा गएर साङ्गीतिक सङ्केत सेमिक्वाभरको चित्राङ्कित घण्टी थिच्यो। सोचेकै झैं भयो, कुनै उत्तर आएन। ढोकाको ह्यान्डल घुमाउन खोज्यो। अचम्म! ढोका खुल्यो। शिरको क्याप मिलायो र एक्कासि आफ्नो कपाल पसिनाले निथ्रुक्कै भिजाएको थाहा पायो, एकछिन हुलिया स्याहार्यो, लामो सास फेरेपछि ढोकालाई धकेल्यो।
(बूकर पुरस्कार (२०१६) विजेता दक्षिण कोरियाली लेखक हान् काङ लिखित उपन्यास द भेजिटेरियनको नेपाली अनुवाद भेजिटेरियनको अंश। प्रवीण अधिकारीद्वारा अनूदित उपन्यास बुकहिल पब्लिकेसनले चाँडै सार्वजनिक गर्दै छ। हिमालको २०७९ फागुन अंकबाट।)