दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालको जित
आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले तीन विकेटको जित हासिल गरेको छ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले सात विकटको क्षतिमा ४७ ओभरमा पूरा गरेको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ८५ रन बनाए। ऐरीले ११६ बलमा आठ चौका र एक छक्का प्रहार गरे।
त्यस्तै, कुशल मल्लले ८१ रन बनाए। उनले ६७ बलमा नौ चौका र चार छक्का प्रहार गरे। नेपालका लागि सोमपाल कामीले २४, गुल्सन झाले १७ र कुशल भुर्तेलले १६ रन बनाए।
स्कटल्यान्डका लागि क्रिस सोल र मार्क वाटले तीन-तीन तथा मिचेल लिस्कले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको स्कटल्यान्डले नौ विकेटको क्षतिमा २७४ रन बनाएको थियो। स्कटल्यान्डका लागि मिचेल लिस्कले १०७ रन बनाए। उनले ८५ बलमा नौ छक्का र तीन चौका प्रहार गरेका थिए।
त्यस्तै, स्कटल्यान्डका लागि ज्याक जर्भिसले २६, क्रिस्टोफर म्याकब्रिज र ब्रान्डम क्याकलमले २२-२२, मार्क वाटले २०, रिचार्ड बेरिङटन र म्याथ्यु क्रसले १९-१९ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले तीन, कुशल मल्लले दुई, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।
त्रिदेशीय शृङ्खला अन्तर्गत नामिबियासँगको पहिलो खेल नेपालले जितको थियो। दोस्रो खेलमा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको थियो। आज भएको तेस्रो खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ भने चौथो खेलमा शनिबार बिहान ९ बजे नेपाल र नामिबिया भिड्नेछन्।