‘महाभारतले सुखमा नमात्तिन र दुःखमा नआत्तिन सिकाउँछ’
‘किताबले मानिसलाई बाँच्ने सीप दिन्छ, त्यो सीपले बौद्धिकता विकास र चेतनाको रूपान्तरण गर्न सक्छ। त्यसलाई मानिसले कसरी ग्रहण गर्छ भन्ने कुरामा भर पर्छ।’
पछिल्लो पाँच दशकमा नेपालमा भएका राजनीतिक घटनाक्रमलाई समेटेर ईश्वर दाहालले ल्याएका छन् पुस्तक मध्याह्न, झुल्के घाम र गोधुली। यसमा राजनीतिक घटनासँगै आर्थिक शोषण, ग्रामीण समाजको दुर्दान्त र प्रेमलाई वर्गीय दृष्टिकोणले हेर्ने समाजको चरित्रलाई उजागर गरिएको छ।
यसअघि पनि उनका महाकाव्य र कथा संग्रह प्रकाशित भइसकेका छन्। नयाँ उपन्यास मध्याह्न, झुल्के घाम र गोधुलीसँगै लेखनमा केन्द्रित भएर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा लेखक दाहालसँग सागर बुढाथोकीले गरेको कुराकानी:
किताबको नामबाट नै शुरू गरौं। मध्याह्न, झुल्के घाम र गोधुली उपन्यासको कथासँग कसरी जोडिन्छ, यो नाम नै रोज्नुको कारण के हो?
यो उपन्यास लेखेपछि केही साथीहरूलाई पढ्न दिए। उनीहरूले विभिन्न नाम सुझाएका थिए। छलफल गर्दै जाँदा प्रकाशक मणि शर्माले उपन्यासका तीन खण्डको उपकथाको शीर्षकलाई तानेर यो नाम जुराए।
किताबको शीर्षकको शुरूमा मध्याह्न आएको छ, त्यसपछि झुल्के घाम र अन्तिममा गोधुली। सामान्यतया झुल्के घाम, मध्याह्न र गोधुली हुनुपर्ने हो। उपन्यासको कथावाचनको शैली बीचबाट शुरू भएर अतीतमा पुग्छ। त्यसपछि मात्र कथाको अन्त्य गरिएको छ। त्यसैले पनि नाम यस्तो रहन गयो।
अर्को ढङ्गले हेर्दा यो किताबले एउटा मान्छेले भोगेको बाल्यकाल, किशोरावस्था र युवावस्थाको कथा भन्छ।
त्यस्तै, नेपालको राजनीतिक समयक्रमबाट हेर्दा पञ्चायती व्यवस्था, माओवादी सशस्त्र द्वन्द्व र २०६२-६३ सालो जनआन्दोलनपछिको नेपाली समाज र राजनीतिक परिवर्तनको कथा भनेको छ। यसरी हेर्दा एउटा व्यक्तिको जीवनका तीन खण्ड र नेपाली राजनीतिक घटनाक्रमका तीन खण्डको कथा भनेकाले मध्याह्न, झुल्के घाम र गोधुली नाम जुराइएको हो।
यो उपन्यासको कथा पत्रकार पात्रको वरिपरि घुमेको छ। तपाईं पनि पत्रकार, आफ्नै भोगाइ उतार्नुभएको हो?
मलाई संसारमा दुई वटा पेशा गज्जब लाग्छ। एउटा अभिनय र अर्को पत्रकारिता। तपाईं आफ्नो सञ्चार माध्यममा कुनै एउटा निश्चित बिटमा काम गर्नुहुन्छ, तर सडकमा हिंड्दा पनि चिनजानका मानिसले ‘अब नेपालको राजनीति कता जान्छ’ भनेर सोधिदिन्छन्। आम मान्छेले अरूभन्दा पत्रकार बढी जानकार हुन्छ भन्ने सोच्छ। अथवा, उसको कर्मले नै उसलाई जानकार बनाएको हुन्छ भनेर विश्वास गर्छ। यसो भन्नुको मतलब आफ्नो बिटमा काम गर्दागर्दै पनि तमाम विषयमा थोर-बहुत जानकारी राख्नुपर्छ।
मैले जोड्न खोजेको के हो भने पत्रकारितामा आइसकेपछि संसारका धेरै विषयवस्तुमा थोरै भए पनि जानकारी राख्नुपर्छ। अभिनय गर्ने मान्छेले पनि विभिन्न मान्छेको जीवन थोर-बहुत बाँच्नैपर्छ। मलाई संवेग, बुझाइ, भावना, कर्म र घटनाक्रम बुझ्न सजिलो बनाएको पत्रकारिताले हो। पत्रकारिताले विभिन्न घटनामा दृष्टिकोण निर्माण गर्न सघाएको छ।
यो उपन्यासका कतिपय घटनाक्रम मेरा भोगाइ हुन्, कतिपय देखाइ त कतिपय पत्रकारिता कर्मले निर्धारण गरेका अनुभूति हुन्। तसर्थ, यो सबै मेरो कथा पनि होइन, यसमा मेरो कथा हुँदै नभएको पनि होइन। खासमा भन्दा पत्रकारिता कर्मको अनुभव र भोगाइले यो उपन्यास लेख्न सजिलो बनाएको पक्कै हो।
पत्रकार पात्र मार्फत २० वर्षअघिको पत्रकारिता अभ्यासलाई देखाउनुभएको छ। त्यो वेलाको पत्रकारिता उपन्यासमा देखाए जस्तै थियो त?
म २०५७ सालमा काठमाडौं छिरेको हुँ। गाउँको एक जना छिमेकी दाइ आईएमा रत्न राज्यलक्ष्मी क्याम्पस (आरआरबाट) पत्रकारिता गरेर गाउँमा पढाउनुहुन्थ्यो। उहाँको कुरा सुनेर आरआरमा भर्ना भएँ। संयोगवश त्यो वेला मैले बुधबार साप्ताहिकमा काम पाएँ।
त्यही क्रममा पत्रिकामा काम गर्ने साथीभाइसँग कुराकानी हुने नै भयो। सबैको कुरा सुन्दा त्यो वेला पत्रकारिता पेशा हो भन्न सकिने अवस्था बनिसकेको थिएन। तथापि, कान्तिपुर, हिमाल लगायतका सञ्चारगृहले व्यावसायिक पत्रकारिताको जग हालिसकेका थिए। अन्य मिडियाका पत्रकारले तलब पाउनु त परै जाओस्, आफूले लेखेको छापिंदा खुशी हुनुपर्ने अवस्था थियो। मैले टीभीमा काम शुरू गर्दा पनि यही अवस्था भोगें। आफू र वरिपरिका धेरैका कथा समान भएकाले त्यो वेलाका केही भोगाइ उपन्यासमा उतारेको हुँ।
यो पुस्तकका पात्रहरूले यति धेरै हन्डर खाएका छन् कि पाठकलाई साह्रै पीडा महसूस हुन्छ। एउटै किताबमा यति धेरै दुखिया पात्र किन भेला गर्नुभयो?
२०४६ सालको परिवर्तनपछि स्वतन्त्रता महसूस गर्यौं। पढ्न, लेख्न र बोल्न पाउने भयौं। तर, २०५१ सालपछि देशमा फेरि सशस्त्र द्वन्द्व शुरू भयो। त्यसपछि सुखको कथा भन्न सक्ने अवस्था रहेन। केही पात्र निजात्मक, पारिवारिक र वैयक्तिक हुँदाहुँदै पनि माओवादी द्वन्द्वसँग जोडिन्छन्। मेरो किशोरावस्थाको समग्र कालखण्डमा समाज र देशलाई छोएर सुखको कथा भन्न सक्ने अवस्था अत्यन्त कम थियो।
अर्को, उपन्यासमा दुखिया पात्र भेला हुनुको कारण मेरो मनोविज्ञान पनि हो। मलाई संघर्ष, वेदना र जीवनका अनुभूति मन पर्ने भएकाले पनि यस्तो भएको हुन सक्छ।
समग्रमा मेरो पुस्ताको कथा भन्नु थियो। मैले बाँचेको समाज र घटनाक्रम देखाउन खोज्दा धेरै दुखिया पात्रहरू भेला भए। किनकि, म बाँचेको समाजको पर्यावरण नै दुखिया थियो।
त्यो समयको कथा भन्न किन राजनीतिक घटनाक्रमलाई विषयवस्तुका रूपमा छान्नुभयो?
पत्रकारितामा क्रियाशील भएकाले सशस्त्र द्वन्द्व, दरबार हत्याकाण्ड, २०६२-६३ सालको जनआन्दोलन, मधेश आन्दोलन र भारतको नाकाबन्दी जस्ता घटनामा ‘अपडेट’ हुन र दृष्टिकोण निर्माण गर्न सजिलो भयो। तर, पत्रकार भएकाले मात्रै यो विषयवस्तु छानेको हैन। माओवादी द्वन्द्वसँग जोडिएका केही सीमान्त मानिसका कथा साँच्चै दुर्दान्त छन्। उनीहरूलाई द्वन्द्वले बर्बाद गरेको छ। यस्ता कथा भन्नुपर्ने भएकाले नै माओवादी द्वन्द्व जोडें।
मधेश आन्दोलनको पनि भुक्तभोगी हौं। त्यसले त नाकाबन्दीसम्म निम्त्यायो। मधेश आन्दोलनले जे उपलब्धि प्राप्त गर्यो, गजब हो। तर, मधेश आन्दोलनले किनारामा पारेका मानिस पनि यही समाजमा छन्। मलाई आफू बाँचेको समयको कथा भन्नुपरेकाले यी विषयवस्तु रोजेको हुँ।
यो किताब लेख्न कति समय लाग्यो? लेख्नुअघि केकस्तो गृहकार्य गर्नुभयो?
किताब लेख्न मोटामोटी चार वर्ष लाग्यो। म टेलिभिजनमा काम गर्दा २०६४-६५ सालतिर देशको माहोल फेरिंदै थियो। राजतन्त्र हटेर गणतन्त्र आएको थियो। व्यवस्थापिका संसद्मा माओवादीको उपस्थिति थियो। सशस्त्र विद्रोहबाट आएका माओवादी सांसदसँग अन्तर्वार्ता गर्थें। त्यो वेला क्रान्तिकारी भनेको माओवादी नै थिए। तर, एक जना उत्पीडितको न्यायका लागि बनाएको रिपोर्ट नबजाउनू भनेर माओवादी नेताले धम्क्याए। त्यसले चकित बनायो, किनकि राज्यले सीमान्त मानिसलाई अन्याय गर्यो भनेरै ती नेता भूमिगत भएका थिए।
यस्तै, पत्रकारिता गर्दा महसूस गरेका विषयलाई डायरीमा टिप्ने गर्थें। त्यो डायरीले पनि उपन्यास लेखनमा धेरै सहयोग गर्यो।
लेख्न शुरू गर्नुअघि अध्ययन र विभिन्न घटनाक्रम समावेश भएका लिखत सङ्कलन गर्नु महत्त्वपूर्ण हुन्छ। दरबार हत्याकाण्ड हुँदा सबै पत्रपत्रिका सङ्कलन गरेको थिएँ। त्यसले पनि उपन्यास लेखनमा सहयोग पुग्यो।
ऐतिहासिक घटनालाई सूत्रबद्ध गर्न, प्लट निर्माण गर्न र आफ्नो अनुभूतिलाई पठनीय बनाउन लेखकले पटक पटक काम गर्नुपर्छ। त्यस्तै, कतिपय ऐतिहासिक घटनाको तथ्य जाँच गर्नुपर्छ। उपन्यासमा मदन भण्डारीको जीप दुर्घटनाको प्रसङ्ग छ। त्यो घटना उल्लेख गर्न दुर्घटना भएको जीपको नम्बर खोज्नुपरेको थियो।
शुरूआतमा पाण्डुलिपिमा एक लाख ५० हजार शब्दभन्दा बढी थिए। तिनलाई एक लाख १० हजार शब्दमा झारें। फेरि काम गर्दा एक लाख २० हजार शब्द भए। किताब लेखनको मुख्य काम भनेको पुनर्लेखन र तथ्य जाँच हो। जस्तो कि २०४५ सालको परिवेशमा पात्रले एउटा चिया खाएर २० रुपैयाँ तिर्यो भनियो भने त विश्वसनीय हुँदैन।
समीक्षकहरू लेखकमा आफ्नो सिर्जनालाई लिएर पटक पटक काम गर्ने धैर्य भएन भन्छन्। यो किताब पढ्दा पनि सम्पादनमा केही कमी जस्तो भान हुन्छ। किन लेखकलाई किताब छपाउन हतार हुन्छ?
लेखकलाई किताब छपाउन हतार हुँदैन त म भन्दिनँ। कथा अन्य माध्यमबाट पनि भन्न सकिन्छ। तर, अधिकांशलाई किताबै लेखौं अथवा साहित्यकार भनेर चिनिऊँ भन्ने मनमा हुन्छ। यो मनोविज्ञानबाट म पनि टाढा छु भन्दिनँ। २०७३ सालमा लेखिसकेको थिएँ भने २०७९ सालमा बजारमा आयो।
नेपाली पुस्तक सम्पादनको क्षेत्रमा राम्रो काम गरेका सम्पादकलाई सम्पादनको जिम्मा दिएको थिएँ। कुनै प्रसङ्गमा सम्पादकलाई धेरै नकाट्नु भने हुँला, तथापि त्यति धेरै बन्धन लगाएको थिइनँ। म काफ्फाको लेखनबाट प्रभावित छु। त्यसकारण कथाको अन्त्यमा निष्कर्ष नदिईकन पाठकलाई छाडिदिएको छु।
अहिले केही पाठकले किताब लामो भएको प्रतिक्रिया दिएका छन्। त्यसले मलाई यो किताबलाई अलिक खिरिलो बनाउन सकिन्थ्यो भन्ने लागेको छ। तर, हतारमा छापेको होइन।
प्रसङ्ग बदलौं। कस्ता किसिमका किताब पढ्नुहुन्छ?
मेरो पठन धार्मिक पुस्तकबाट शुरू भएको हो। किशोरावस्थामा यौन सम्बन्धी लेखिएका साहित्य पनि पढें। पछि प्रकाश कोविदका केही उपन्यास पनि पढें। अलि पछि राजनीति सम्बन्धी किताबमा चाख बस्यो। त्यसभन्दा पछि विज्ञान सम्बन्धी पुस्तकमा रुचि बढ्दै गयो। अहिले आध्यात्मिक पुस्तकमा रुचि बढेको छ। पहिले जुनसुकै किताब पढिन्थ्यो, अहिले छानेर मात्र पढ्छु।
किताबले बाँच्न सहयोग गर्छ। महाभारत मजाले पढ्यो भने सुखमा नमात्तिन र दु:खमा नआत्तिन सिकाउँछ। महाभारतमा सर्वश्व सकिएका धृतराष्ट्र पनि छन् र सबै जितेर राजा बनेर पनि केही होइन भन्दै राज्य छाडेर हिडेका पाण्डव पनि छन्। त्यसभित्रका घटनाक्रमले जीवनमा बाँच्न सिकाउँछन्।
पुस्तक किन पढ्नुपर्छ जस्तो लाग्छ?
पुस्तक पढेर कोही मानिस रूपान्तरण हुन सक्छ भने कोही पण्डित जस्तै हुन्छ। पण्डितले किताबमा भएको सारा उदाहरण दिन्छ, तर जीवनमा लागू गर्दैन। पुस्तकले संसारलाई हेर्ने दृष्टिकोण पनि दिन्छ। आफूले बाँचेको भोगाइ र अनुभूतिलाई जोडेर हेर्न चाहिं सिक्नुपर्छ। किताब पढेर मात्रै पनि जीवन चल्दैन।
किताबमा लेखकको दृष्टिकोण, अनुभव, अनुसन्धान या विचार हुन्छ, त्यो सबैमा मिल्दैन। किनकि, हरेक मानिसको मनोविज्ञान फरक हुन्छ। त्यसैले अध्ययनलाई आफ्नो परिवेश र भोगाइसँग जोड्नुपर्छ। किताबले मानिसलाई बाँच्ने सीप दिन्छ, त्यो सीपले बौद्धिकता विकास र चेतनाको रूपान्तरण गर्न सक्छ। त्यसलाई मानिसले कसरी ग्रहण गर्छ भन्ने कुरामा भर पर्छ।
कुनै त्यस्ता किताब छन्, जसले फरक दृष्टिकोण निर्माण गर्न सहयोग गरेका छन्?
धेरै किताब छन्, जसले मलाई फरक दृष्टिकोण निर्माण गर्न सघाएका छन्। लक्ष्मी निबन्ध संग्रह जीवनमा पढेको सुन्दर किताब हो। कल्पनाशीलता र स्थानीयताको बेजोड नमूना यो किताबमा पाइन्छ। त्यसमा रहेको ‘के नेपाल सानो छ’ भन्ने निबन्ध संसार चियाउने आँखीझ्याल जस्तो लाग्छ। त्यो किताबमा भएका नाम र घटनाक्रम मात्रै मानिसले पछ्यायो भने धेरै ज्ञान आर्जन गर्न सक्छ। लक्ष्मी निबन्ध संग्रहले कल्पनाशीलता र भाषा बढाउन मद्दत गर्यो।
लोलिता उपन्यासलाई मान्छेले अश्लील भन्छन्, तर यो उपन्यास पढ्दा मान्छेको मनोविज्ञान यतिसम्म हुन्छ भन्ने किसिमको दृष्टिकोण निर्माण गरिदियो। रजनीशका कैयौं पुस्तकले मैले जे हेर्छु र जे बुझ्छु त्यो सत्य हुँदैन र संसार देखिनेभन्दा नदेखिने चिजले चलिरहेछ भन्ने किसिमको दृष्टिकोण दियो। द थर्ड वेभले प्रजातन्त्रमा जीवन बुझ्ने दृष्टिकोण दियो।
पाठकका रूपमा भन्नुपर्दा नेपाली साहित्यमा कस्तो किताब लेखियोस् भन्ने लाग्छ?
ऐतिहासिक विषयवस्तुमा किताब आइदियोस् भन्ने लाग्छ। अहिले अल्पसङ्ख्यक तथा सीमान्तीकृत समुदायका कथा लेखिन थालेका छन्, ती कथामा ऐतिहासक र सांस्कृतिक सुगन्ध आओस्। नेपालमा भएका विविध जातजातिका आफ्नै परम्परा र संस्कृति छन्, आफ्नै कथा छन्। यिनै विषयवस्तु समेटिएका पुस्कक आए भने दस्तावेज निर्माण हुन्छ।
अहिले आइरहेका पुस्तक विषयवस्तु, लेखन शिल्प र कलाको दृष्टिले हेर्दा कस्ता लाग्छन्?
हरेक वर्तमान असन्तोषी हुन्छ, स्वाभाविक हो। तर, अहिले व्यावसायिक प्रकाशनगृह आएका छन्। सम्पादन नगरी छाप्नु हुन्न भन्ने चेत बढेको छ। अब मोफसलमा बसेर पनि लेख्न सक्ने अवस्था बनिसकेको छ। विषयवस्तु छनोटमा पनि विविधता छ। पहिले कुनै शक्तिशाली वर्ग तथा काठमाडौंका ठाउँविशेषका कथा लेखिन्थे भने अहिले मधेशका देहात बस्तीदेखि लिएर थारू बस्तीका कथा आउन थालेका छन्। त्यसकारण अहिलेको लेखनसँग सन्तुष्ट छु।
अन्त्यमा, आगामी लेखनको योजना के छ?
उपन्यास लेख्ने अवधारणा बनाएर एउटा ‘प्लट’ बनाएको छु। त्यस्तै छुवाछूत प्रथाले नेपालका केही समुदायका मानिसमा केकस्तो असर गरेको छ भन्ने विषयमा आख्यान नै लेख्ने सोचेको छु।