नेपाल तोरी सर्वाधिक फलाउने मुलुक हो?
विश्वका विशाल मुलुकहरूले भन्दा नेपालले बढी तोरी उत्पादन गर्छ भन्ने दाबीको विश्लेषण गर्दा अर्कै तथ्य देखा पर्छ।
वेलाबखत सामाजिक सञ्जाल र सञ्चार माध्यममा चर्चा हुने गर्छ- नेपाल संसारमै सबैभन्दा धेरै तोरी उत्पादन गर्ने मुलुक हो। कृषि तथा खाद्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय संस्था (एफएओ)को तथ्याङ्कले नै देखाएपछि यस्तो दाबी नपत्याउन पनि भएन।
यो दाबी पत्याउनेहरूले नेपालको जैविक विविधताको सम्पन्नता र कृषिको विशाल सम्भावनाप्रति गर्व गरेको पनि देखिन्छ। कुल क्षेत्रफलको एक चौथाइभन्दा थोरैमा मात्रै खेतीपाती हुने नेपालमा फल्ने तोरीको परिमाणले विशाल मुलुकहरूको उत्पादनलाई जितेको दाबी केलाउँदा भने अर्कै सत्य उजागर हुन्छ।
‘कृषि तथा पशुपन्छी विकास मन्त्रालय’ को तथ्याङ्कीय विवरणले आर्थिक वर्ष २०७७/७८ मा नेपालमा दुई लाख २० हजार २५० मेट्रिक टन तोरी फलेको देखाउँछ। घट्दो कृषियोग्य भूमिसँगै मध्य पहाडमा खेतबारी बाँझै रहने क्रम बढिरहेका वेला नेपालमा संसारभरमै सबैभन्दा धेरै तोरी उत्पादन हुने तथ्याङ्क आफैंमा सन्देहपूर्ण छ।
त्यसमाथि हरेक वर्ष विदेशबाट अर्बौं मूल्यको तोरीको दाना वा तेल आयात हुने गरेको तथ्य त झनै बिर्सन मिल्दैन। यथार्थमा नेपालले भन्दा कैयौं गुणा बढी तोरी संसारका अरू मुलुकले उत्पादन गर्छन्। सर्वाधिक तोरी फलाउने १० देशको सूचीमा समेत नेपालको नाम आउँदैन।
कृषि तथा खाद्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय संस्था (एफएओ)को तथ्याङ्क अनुसार, सन् २०२० मा संसारमा सर्वाधिक तोरी उत्पादन गर्ने मुलुक क्यानाडाले एक करोड ९४ लाख मेट्रिक टन तोरी फलाएको थियो। यो नेपालले गरेको उत्पादनको तुलनामा करीब ९० गुणा धेरै हो।
कृषि तथा खाद्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय संस्थाका अनुसार, सोही वर्ष चीनले एक करोड ४० लाख टन, भारतले ९१ लाख २३ हजार टन, जर्मनीले ३५ लाख ७० हजार टन, फ्रान्सले ३२ लाख ९७ हजार टन तोरी फलाएका थिए। यी मुलुकपछि सर्वाधिक तोरी फलाउने देशमा पोल्यान्ड, रूस, युक्रेन, अस्ट्रेलिया, अमेरिकाको नाम आउँछ। दक्षिणएशियामै भारत बाहेक पाकिस्तान र बाङ्लादेशले पनि नेपालले भन्दा धेरै तोरी फलाउने तथ्याङ्क छ।
त्यसो भए, नेपालले तोरी धेरै फलाएको प्रचार कसरी हुनपुग्यो त?
यस्तो भ्रम फैलिनु पछाडिको मूल कारण त्रुटिपूर्ण तथ्याङ्क वर्गीकरण हो। हामीले धेरै उत्पादन गर्ने तोरीलाई अंग्रेजीमा रेपसिड भनिन्छ। हामीले भने मस्टर्ड भनेर चिनाएका छौं। खासमा मस्टर्ड तोरी नभई रायो हो।
यसरी गलत शब्द प्रयोग गर्दा हामीले उत्पादन गर्ने गरेको तोरीको परिमाणको तुलना अन्य देशले उत्पादन गर्ने रायोको परिमाणसँग गर्ने गरिएको छ। खास तोरी रेपसिडको उत्पादनमा माथि उल्लेख गरे जस्तै नेपाल विश्वका ठूला उत्पादक १० देशमध्ये पनि पर्दैन।
यो तथ्यलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राखेको तथ्याङ्क र एफएओको तथ्याङ्कको तुलनाले स्पष्ट पार्छ। नेपाली तथ्याङ्क अनुसार सन् २०२०/२१ मा तोरीको उत्पादन दुई लाख २० हजार मेट्रिक टन थियो। एफएओको तथ्याङ्क अनुसार, मस्टर्डको उत्पादनमा नेपाल सबैभन्दा अगाडि छ जसको परिमाण त्यही दुई लाख २० हजार मेट्रिक टन हो। अर्थात् यहाँको तोरी त्यहाँ मस्टर्ड हुन पुगेको छ।
तथ्याङ्कको सही वर्गीकरण नहुँदा यस्तो भ्रम सिर्जना भएको नेपाल कृषि अनुसन्धान परिषद्को तेलबाली अनुसन्धान कार्यक्रम, नवलपुरका संयोजक डा. सुवास सुवेदी बताउँछन्।
मन्त्रालयका तथ्याङ्क तथा विश्लेषण शाखाका प्रमु्ख रामकृष्ण रेग्मी पनि मस्टर्ड भनेर तोरीको परिमाण राख्दा भ्रम सिर्जना भएकोमा सहमत छन्। “हामीले मस्टर्ड भनेर राखेको तथ्याङ्क रायोको होइन, तोरीको नै हो, पहिलेदेखि नै यस्तो हुँदै आएको छ,” उनी भन्छन्। कृषि विभागको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ बाली विकास अधिकृत मुकुन्द भुसाल बोलीचालीमा तोरीलाई ‘मस्टर्ड’ भन्ने गरिएका कारण अन्योल भएको बताउँछन्। उनी भन्छन्, “तोरीलाई रेपसिड भनेको भए अन्योल हुँदैनथ्यो होला।”
आयातको भर
संसारमै सर्वाधिक उत्पादन हुने भएको भए नेपालमा तोरी र यसको तेल आयात नहुनुपर्ने हो। तर, नेपालीको भान्सामा परिकार पकाउन प्रयोग हुने धेरैजसो तोरीको तेल विदेशबाट झिकाइन्छ। विदेशबाटै आयात गरिएको तोरीका दाना पेलेर मिलहरूले सर्वसाधारणका भान्सामा तेल पुर्याउँछन्। आधुनिक मिल मात्रै होइन, तोरीको तेलका लागि ख्यातनाम खोकनाका मिलहरूले समेत आयातीत तोरीकै दाना पेलेर तेल निकाल्छन्।
भन्सार विभागका अनुसार, चालू आव २०७९/८० को पहिलो ६ महीना (पुससम्म)मा नेपालले ४५ हजार ६७४ मेट्रिक टन तोरी विदेशबाट आयात गरेको छ। तोरी (दाना), पिना र तेल सबै जोड्दा ६ महीनामा मात्रै नेपालले रु.पाँच अर्ब ५१ करोड मूल्यको आयात गरेको छ। गत आर्थिक वर्षमा यस्तो आयात रकम रु.१७ अर्ब हाराहारीमा थियो। धेरैजसो अस्ट्रेलिया, युक्रेन, भारतबाट नेपालले तोरी आयात गर्छ।
विदेशबाट आयात हुने तोरीलाई आधिकारिक भन्सार अभिलेखमा रेपसिड वा क्यानोला नाम दिइएको हुन्छ। क्यानोला नाम रहनु पछाडिको पृष्ठभूमि पनि रोचक छ। सन् १९७० को दशकमा क्यानाडाका दुई वैज्ञानिक केथ डाउनी र बाल्डर आर स्टेफान्सोनले तोरीको आनुवंशिक उपचार गरी तोरीमा हुने एरुसिक अम्ल र ग्लुकोसिनोलेट्सल घटाउने विधि पत्ता लगाएका थिए।
तोरीको तेललाई पश्चिमी जिब्रो र स्वास्थ्यसँग तालमेल मिलाउन यसो गरिएको थियो। तोरीको जीन सम्पादन गरेर वैज्ञानिकहरूले अम्ल न्यून भएको बीउ उत्पादन थालेपछि यस्तो तोरी संसारभरि फैलियो। अम्ल कम गरिएको तोरीलाई क्यानाडामा क्यानोला भनेर नामकरण गरियो। क्यानाडा र तेल (आयल) दुई शब्दको मिश्रणबाट उक्त नाम बनाइएको थियो।
एरुसिक एसिड कम भएकैले विदेशबाट आयात हुने तोरीको स्वाद देशभित्रै उत्पादन हुने जस्तो तिख्खर, पिरो तथा राग सहितको हुँदैन। आनुवंशिक परिवर्तन मार्फत नयाँ खालको तोरी तयार भएको आधा शताब्दीभित्रै विश्वका धेरै मुलुकमा यसको खेती हुने गर्छ। “धेरैजसो मुलुकमा अम्ल कम भएको तोरी नै उत्पादन हुन्छ, तर युक्रेनमा भने अम्ल यथावत् रहेको तोरी खेती धेरै छ,” सुवेदी भन्छन्।
त्यसो त तोरी आफैंमा यूरोप वा अमेरिकाको रैथाने भने होइन। बन्दाकोभी, सलगम, तोरी, रायो, सर्स्यूं एकै मूल (जिनश) ब्रास्सिका अन्तर्गतका मानिन्छन्। करीब चार हजार वर्ष पहिले भारतीय उपमहाद्वीपमा तेल उत्पादन हुने तोरी वा यसको समूहका बालीको खेती भएको अनुमान गरिएको छ। चीन र जापानमा दुई हजार वर्ष पहिले तोरीको तेल प्रयोग गरिएको मानिन्छ।
यद्यपि, यूरोपमा भने निकै ढिला १३औं शताब्दीमा मात्रै प्रयोग गरिएको आधिकारिक प्रमाण भेटिएको छ। यसले तोरी पश्चिमा देशमा ढिला पुगेको सङ्केत गर्छ। यूरोपमा बत्ती बाल्न र औद्योगिक क्रान्तिसम्म स्टीम इन्जिनको लुब्रिकेन्टका रूपमा यसको प्रयोग गरिएको थियो।
पुग्दो उत्पादन कहिले?
नेपालमा तेलका लागि तोरी सहित रायो, सर्स्यूं, तिल, झुसेतिल, आलस, सूर्यमुखी जस्ता तेलहन बालीको खेती त हुन्छ तर सानो परिमाणमा। पश्चिम तराई र भित्री मधेशका जिल्लाहरू तोरी खेतीका लागि चिनिएका छन्। खासगरी, चितवनले यस्तो परिचय पाएको छ। तर, अहिले सबैभन्दा धेरै तोरी फलाउने जिल्ला भने चितवन होइन।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, दाङले सबैभन्दा धेरै तोरी फलाउँछ। आव २०७७/७८ मा दाङले २४ हजार ४९६ मेट्रिक टन तोरी उत्पादन गरेको थियो भने चितवनले १४ हजार २१८ मेट्रिक टन मात्रै। यी बाहेक कैलाली, सुनसरी, मोरङ, सर्लाही, बर्दिया, बाँके जस्ता जिल्लामा धेरै तोरी उत्पादन हुन्छ।
अढाई दशक अगाडिसम्म चितवनमा १८ हजार हेक्टरसम्ममा तोरी खेती हुने गरेको थियो। तर, कृषि जमीन टुक्र्याएर घडेरी बनाउने क्रम तीव्र हुँदा, खेतीपातीमा किसानको ध्यान कम हुँदा र मिचाहा झारको प्रकोपका कारण तोरी खेती खुम्चिन पुगेको छ। खासगरी, पछिल्लो दुई दशकमा तोरीको सट्टा गहुँ लगाउने र कृषिकर्ममा उदासीनता जस्ता कारणले तोरी खेतीबाट किसानको ध्यान हटेको वैज्ञानिक डा. सुवेदी बताउँछन्।
कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुन ओरोब्यांक नामक परजीवी झारले पनि तोरी खेती गर्ने किसानलाई थकाएको बताउँछन्। यद्यपि, तोरीको तेलको मूल्य र मागमा वृद्धिसँगै पछिल्ला वर्षहरूमा तोरी खेतीतर्फ किसान फेरि फर्किन थालेको सङ्केत देखिएको छ।
गत वर्ष चितवनमा १३ हजार २०० हेक्टरमा तोरी खेती लगाइएकोमा यो वर्ष बढेर करीब १६ हजार हेक्टर पुग्ने अनुमान गरिएको पुन बताउँछन्। “उत्पादन पनि बढेको अनुमान गरेका छौं, गत वर्ष प्रति हेक्टर एक टन तोरी फलेकोमा यो वर्ष बढेर १.१ टन फलेको हाम्रो प्रारम्भिक अनुमान छ,” उनी भन्छन्।
उष्णदेखि चिसो स्थानमा समेत खेती गर्न मिल्ने भएकाले पूर्वदेखि पश्चिमसम्मकै मध्य पहाड तोरी बालीका लागि अनुकूल भए पनि उत्पादन भने नेपालीका भान्सालाई पुग्ने गरी हुन सकेको छैन। कृषि अनुसन्धान परिषद्को तेलबाली अनुसन्धान कार्यक्रम, नवलपुरका संयोजक डा. सुवेदी नेपाललाई आन्तरिक खपतका लागि वार्षिक चार लाख ५० हजार मेट्रिक टन हाराहारीमा तोरी आवश्यक पर्ने अनुमान गर्छन्। तर, यसको आधाभन्दा कम मात्रै उत्पादन भइरहेको छ। “देशलाई पुग्ने तोरीको तेल उत्पादनका लागि कि उत्पादकत्व दोब्बर पार्नुपर्यो कि उत्पादन क्षेत्र बढाउनुपर्यो,” उनी भन्छन्।
अहिले तोरीको उत्पादकत्व प्रति हेक्टर औसत एक हजार १०० केजी जति छ। यो विश्वको तोरी उत्पादकत्वको औसत तथ्याङ्कभन्दा निकै थोरै हो। विश्वव्यापी रूपमा तोरीको औसत उत्पादन प्रति हेक्टर दुई हजार किलो छ। यद्यपि, नेपालमै पनि परीक्षण खेतीले एक हेक्टरमा एक हजार ८०० केजीसम्म तोरी फल्न सक्ने देखाएको सुवेदी बताउँछन्।
तोरीको उत्पादकत्व बढाउन चुनौतीपूर्ण हुने भए पनि तोरी खेती हुने क्षेत्रफल बढाउन भने कठिन छैन। बीउ छरेको २०-२५ दिनमै फूल फुल्न थाल्ने र साढे दुई महीनादेखि बढीमा तीन महीनाभित्रै तयार हुने यो बाली किसानको मेहनतका दृष्टिले सबैभन्दा सजिलो बाली मानिन्छ। यसलाई पानी पनि उतिसारो चाहिंदैन।
अहिले करीब दुई लाख हेक्टर क्षेत्रफलमा तोरी खेती हुने भए पनि यसलाई विस्तार गर्न सकिने सुवेदी बताउँछन्। “तोरीबाली फस्टाउन जिंक, बोरोन, सल्फर जस्ता सूक्ष्म पोषक खाद्यतत्त्व भएको माटो राम्रो हुन्छ। कुखराको मल, प्राङ्गारिक मलमा यस्ता तत्त्व हुने भएकाले किसानले रासायनिक मलको मात्रा घटाएर पनि तोरी बालीको उत्पादकत्व बढाउन सक्छन्,” उनी भन्छन्।
तेल पेल्न दाना मात्रै महत्त्वपूर्ण होइन, तोरीको साग पनि स्वादिलो हुन्छ। मौरीपालनका लागि त तोरीको फूल वरदान सरह भइहाल्यो। पिना पशुपन्छीका लागि पोषक खुराक हो। धान काटेपछि हिउँदमा खाली हुने खेतमा लगाउन मिल्ने भएकाले यसले अरू मुख्य बालीलाई असर पनि गर्दैन। तैपनि, तोरी खेतीले चाहिने जति प्रचार पाएको छैन।
तोरी खेतीमा किसानलाई आकर्षित गर्न उन्नत बीउ उत्पादनको काम गरिरहेको कृषि अनुसन्धान परिषद्ले विकास, उन्नति, प्रगति, लुम्ले १, मोरङ-२, प्रीति र नवलपुर ४ गरी सात प्रकारका तोरीका बीउ उत्पादन गरी किसानलाई सिफारिश गरेको छ। छोटो समयमै तयार हुने र कम मेहनेत पर्ने तोरी बाली किसानकै उपेक्षामा पर्दै आए पनि तेलको विश्वव्यापी मूल्यवृद्धि र स्वास्थ्य सचेतताका कारण यो खेतीले पुनर्जीवन पाउनेमा वैज्ञानिक सुवेदी आशावादी छन्। “छरिदिए मात्रै पनि तोरी धेरथोर उत्पादन हुन्छ, यस्तो सजिलो बालीमा किसानको मन पक्कै फर्किएला,” उनी भन्छन्।